Comments Add Comment

मनिषालाई रवीन्द्र मिश्रको आग्रह: वैकल्पिक पार्टीबारे सोच्नुस्

१२ पुस,  काठमाडाैं । पोखरामा हालै सम्पन्न साहित्यिक महोत्सवले थुप्रै विधाका चर्चित हस्तिहरुको जमघट र भेटघाटको अवसर जुरायो । उक्त महोत्सवमा साहित्यकार मात्रै थिएनन्, राजनीतिज्ञदेखि कलाकारसम्म थिए ।

यस्तै भेटघाटमध्ये एक थियो विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र अभिनेत्री मनिषा कोइरालाको । उनीहरु पहिलोपटक यसरी आमनेसामने भएका थिए । मिश्रले फेसबुकमा मनिषासँगको फोटो सेयर गर्दै भेटघाटको प्रसंग उल्लेख गरेका छन् । आफूले मनिषालाई वैकल्पिक पार्टीमा भूमिका निर्वाह गर्न आग्रह गरेको उनले जानकारी दिएका छन् छन् ।

‘मनिषा जी, तपाईंमा राजनीतिक रगत छ, वैकल्पिक पार्टी निर्माणमा ठोस भूमिका निर्वाह गर्नुभयो भने त्यसको देशव्यापी असर कस्तो पर्ला एकपटक गम्भीरतापूर्वक विचार गरिदिनोस । मनिषा कोइरालासँग पहिलोपटक राम्ररी भेट हुँदा यति नभनिरहन सकिनँ,’ फेसबुकमा उनले लेखेका छन् ।

यसमा मनिषाले कस्तो जवाफ दिइन् भन्ने चाहिँ उनले बताएका छैनन् । हामीले उनीसँग यस विषयमा प्रश्न गर्दा पनि मिश्रले बताउन चाहेनन् ।

‘यो हाम्रो अनौपचारिक कुराकानी थियो, त्यसैले मनिषाजीको अनुमति बेगर त्यो कुराकानीलाई बाहिर ल्याउन मिल्दैन,’ मिश्रले अनलाइनखबरसँग भने ।

मिश्रले बैकल्पिक पार्टीमा भूमिका निर्वाह गर्ने विषयमा सोच्न गरेको आग्रहले भने उनी मनिषालाई आफ्नो पार्टीमा स्वागत गर्न इच्छुक छन् कि भनेर अड्कल काट्न सकिन्छ । मिश्रको विवेकशील साझाले आफूलाई बैकल्पिक पार्टीको रुपमा उभ्याउन खोजिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment