Comments Add Comment

क्यान्सर अस्पतालको क्वार्टरमा बेथिति : घरका भित्तामा छहरा र घाँसैघाँस

१२, पुस, चितवन । अग्लो हरियो भित्ता । झट्ट हेर्दा कुनै पहरा जस्तो देखिने । छतमा लहरै राखिएका काला पानीका ट्याङ्कीबाट निरन्तर झरिरहेको पानी । हेर्दा पहराबाट छहरा जस्तो देखिने ।

तिनै पहरामा विभिन्न स्थानमा विभिन्न प्रजातिका घाँसका बुज्कै बुज्काहरु । उम्रिएर हरियाली प्रदान गरिरहेको जस्तो । लाग्छ यो कुनै किसानले निकै मेहनतपूर्व उमारेको जस्तो । सिमेन्टको भित्तामा यतिको घाँस उमारेको दृश्य अति नै दुर्लभ लाग्छ । यस्ता दृश्य चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालका क्वार्टरहरुमा देख्न पाइन्छ ।

अस्पतालभित्रै गएर हेर्न पनि पदैन । भरतपुर मंगलपुर सडकखण्ड र लंकु क्षेत्रबाट पनि दृश्यावलोकन गर्न सकिन्छ । यी क्वार्टरहरु क्यान्सर अस्पतालका कर्मचारीहरुले बर्षौंदेखि निशुल्क उपयोग गरिरहेका छन् । ती कर्मचारीहरुलाई न त त्यो घाँसले बिझाएको छ न छहराले चिसो बनाएको छ ।

कर्मचारीहरुलाई मात्रै किन ? अस्पताल प्रशासनलाई पनि यसले बिझाएको छैन । पछिल्लो समयमा अस्पतालको सेवा सुधार र विस्तार गरिरहेको दावी गर्ने अस्पताल प्रशासनको पनि ध्यान यी पहराका लहरा र छहरा हटाउनेतिर गएको पाइएको छैन । २०५६ सालमा निर्माण भएयता यी क्वार्टरहरुको मर्मत एकपटक पनि भएको छैन ।

सरकारी सम्पतीको उपयोग गर्दा कति हदसम्मको दुरुपयोग गरेर गरिन्छ भन्ने दरिलो उदाहरण यो अस्पताल क्वार्टरका लहरा र छहराले देखाएको छ । त्यहाँ गएर उभिदा एउटा प्रश्न भने पैदा हुन्छ, के यि कर्मचारीहरुको आफ्नो घर हुन्थ्यो भने भित्तामा यो विधिको झार र निरन्तर पानीको छहरा बगिरहेको हुन्थ्यो होला त ?

तर, सरकारी सम्पतीको संरक्षणको दायित्ववोध कसैले पनि गरेको छैन । अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले बिरामीको सेवा सुधारमा अस्पताल प्रशासन केन्द्रित भएको बताए । ‘पहिलो प्राथमिकता बिरामीको उपचार सेवालाई दिएका छौं, अब विस्तारै क्वाटरहरुपनि मर्मतको योजना बनाएका छौं’ कार्यकारी निर्देशक आचार्यले भने ‘यसै बर्षभित्र मर्मतको काम अघि बढाउँछौं ।’

मर्मतका लागि उतिसारो बजेट अस्पतालसँग नभएको कार्यकारी निर्देशक आचार्यले बताए । ‘अब खाइपाइ आएको रकमबाट काट्दा पनि त्यति राम्रो नदेखिएला, कतैबाट स्रोत जुटाएर मर्मत गर्नुपर्ला’ कार्यकारी निर्देशक डा. आचार्यले भने ।

अस्पतालले क्वार्टरमा नबस्नेहरुलाई १५ सयदेखि दुईहजारसम्म क्वार्टर भत्ता दिने गरेको छ । अस्पतालमा दुई सय क्वार्टर छन् । कर्मचारी ६ सयभन्दा बढी छन् । चितवन जिल्लाभित्र वासिन्दालाई क्वार्टर नदिने प्रावधान भए पनि प्राविधिक कर्मचारीहरुको आवश्यकता अनुसार क्वार्टर दिने गरिएको कार्यकारी निर्देशक डा. आचार्यले बताए ।

भरतपुरमै घर भएकाहरु पनि घर भाडामा लगाएर क्वार्टरमा समेत कतिपय बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment