Comments Add Comment

मोरङको राधानगरमा उत्खनन्: पेट्रोल खानी कि रहस्यको सुरुङ ?

१२ पुस, विराटनगर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको भाउन्ने-कानेपोखरी खण्डको जंगलमा ‘पेट्रोल खानी जाने बाटो’ लेखिएको ठूलो बोर्ड देखिन्छ ।

त्यो बाटोबाट करिब ७ किलोमिटिर दक्षिण गएपछि बस्तिबीचमा झाडीले भरिएको ठाउँ फेला पर्छ । त्यहाँको पाँच बिघा क्षेत्रमा घेराबारा गरिएको छ । दुई पटक विस्तृत अन्वेषण भइसके पनि त्यहाँबाट पेट्रोल निस्कने, ननिस्कने कुरा चाही सरकारले बताएको छैन ।

बेलवारी नगरपालिका- ८, राधानगरमा पर्ने त्यो ठाउँ उद्योग मन्त्रालयको संरक्षणमा छ । मन्त्रालयले दुई जना हेरालु पनि खटाएको छ । तेल खानी रहेको भनिएको क्षेत्रमा भग्नावषेश भन्न मिल्ने पाँचवटा गोदाम छन् । इटालीको शेल कम्पनीले ड्रिल गरेको ठाउँलाई भने प्लाष्टर गरेर सुरक्षित राखिएको छ ।

नेपालमा पेट्रोलिय पदार्थ

०४५ सालमा भारतले नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको अन्वेषणमा नेपालको ध्यान तानिएको थियो । त्यसबेला नै हो, शेलले विराटनगर आसपासमा अन्वेषण गरेको । त्यसबेला शेलले राधानगरमा ३५ सय २० मिटर गहिरो ड्रिल गरेको थियो ।

उत्खनन् गरिएको ठाउँ ।

त्यति गहिराइमा पुग्दा पनि पेट्रोल नभेटिएको भन्दै कम्पनीले छाडेको बताइन्छ । भारतको दबाबमा उक्त कम्पनी पछाडि हटेको बताउँनेहरु पनि भेटिन्छन् । राधानगरबाट कच्चा पेट्रोल निकाले आफ्नो पेट्रोलिय भण्डारमा असर पुग्ने हुनाले भारतले सिंहदरबारमै दबाब दिएको उनीहरुको आशंका छ ।

केपी शर्मा ओलीको अघिल्लो प्रधानमन्त्रीत्वकालमा चिनियाँ टोलीले राधानगरलगायत केही स्थानमा अध्ययन गरेको थियो । चिनियाँ टोलीले राधानगरबाट लगेको नमुनाहरुको रिपोर्ट नेपाल पठाईसकेको बताईन्छ, तर सरकारले सार्बजनिक गरेको छैन ।

स्थानीय तह पनि अलमलमा

राधानगरका रविन थापा तेलखानी रहेछ भने सरकारले त्यसलाई तत्काल संचालन गर्नुपर्ने र छैन भने त्यो पनि बताएर घेराबारा गरिएको क्षेत्रको रहष्य हटाउनुपर्ने बताउँछन् ।

बेलवारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदी राधानगरमा पेट्रोल भए, नभएको बारे सरकारले प्रष्ट नपार्दा अलमल र रहस्य जस्तो अबस्था सिर्जना भएको बताउँछन् । उनले भने, ‘पटक-पटक अन्वेषणको काम हुने, तर खानी भएको, नभएको बिषयमा कुनै जानकारी नहुने अबस्थाले अलमलमा पारेका छौ ।’

त्यहाँ पेट्रोलको कुवा भए सरकारले संचालनमा ल्याउनुपर्ने नभए त्यो सार्बजनिक जग्गा उपयोगको लागि नगरपालिकालाई बाटो खुला गरिदिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment