Comments Add Comment

नेपाली पर्यटक अमेरिका जाँदा लाग्ने भिसा दस्तुर बढ्यो

१२ पुस, काठमाडौं । नेपालबाट पर्यटक भिसामा अमेरिका जाने नेपालीहरुको भिसा शुल्क आगामी वर्षबाट बढ्ने भएको छ । यसअघि एक सय डलर तिरे पुग्नेमा अब एक सय ६० डलर तिर्नुपर्ने भएको हो ।

सञ्चारमन्त्री गोकुल वास्कोटाले भिसा शुल्क पारस्परिक बनाउने विषयमा अमेरिकासँग सहमति भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘सन् २०१९ जनवरी १ देखि पर्यटक भिसामा ५ वर्षे (१८० दिन प्रतिवर्ष) बहुप्रवेशी भिसा लिँदा अमेरिकी र नेपाली पर्यटक दुबैले अमेरिकी डलर १६० दस्तुर तिर्नुपर्ने छ’ मन्त्री बास्कोटाले भने, ‘हाल अमेरिकी नागरिकले १६० डलर र नेपाली नागरिकले १०० डलर दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले तीन वटा भिसा क्याटगोरी अघिल्लो देउवा सरकारकै पालामा पारस्परिक बनाइएकोले अहिले पर्यटक भिसालाई पनि पारस्परिक बनाउनुपरेको बताए ।

‘अघिल्लो सरकारले तीन वटा वर्ग (प्रेस, अध्ययन र वर्किङ) का भिसा शुल्क समान बनाउने सहमति गरिसकेपछि बाँकी एउटा वर्गको पनि समान बनाउनुपर्ने वाध्यता प¥यो,’ उनले भने । तर, यसबाट नेपाललाई समग्रतामा घाटा भने नपर्ने उनको तर्क छ ।

‘भिसा अवधि बढेको र अमेरिकाबाट नेपाल आउने पर्यटक तुलनात्मक रुपमा धेरै हुने भएकाले हामीलाई घाटा हुँदैन,’ सुबेदीले अनलाइनखबरसँग भने ।
स्टुडेन्ट भिसाको शुल्क घटाउन पहल गरेको दावी

सरकारले अध्ययनका लागि अमेरिका जाने विद्यार्थीले अमेरिकी दुतावासलाई २ सय डलर अतिरिक्त शुल्क बुझाउनुपर्ने प्रावधान हटाउन पहल गरेको छ । यसका लागि परराष्ट्र मन्त्रालयबाट अमेरिकी सरकारसँग प्रारम्भिक कुरा गरिएको सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।

गत पुस ६ गते र पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सो शुल्क हटाउन पहल गर्ने जिम्मेवारी परराष्ट्रलाई दिएको थियो ।

‘अतिरिक्त शुल्क हटाउनेबारे अमेरिकी सरकारलाई आग्रह गरेका छौं । त्यसप्रति अमेरिकी सरकार सकारात्मक भएको छ,’ मन्त्री बास्कोटाले भने ।
यस विषयमा परराष्ट्रका प्रवक्ता भरतराज पौडेलसँग जिज्ञासा राख्दा उनले भने अनभिज्ञता व्यक्त गरे ।

‘हाम्रो तर्फबाट पहल भएको छैन, गृहलाई सोध्नुस,’ प्रवक्ता पौडेलले भने ।

नेपालबाट पर्यटक भिसामा भन्दा अध्ययन भिसामा बढी नेपाली नागरिकहरु अमेरिका जाने गरेको तथ्याङ्क रहेको भन्दै उनले अतिरिक्त शुल्क हटेमा धेरै नेपाली युवा लाभान्वित हुने विश्वास व्यक्त गरे । गैरपयर्टकतर्फ हाल प्रेस, अध्ययन तथा वर्किङ् भिसामा नेपालीहरु अमेरिका जाने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment