Comments Add Comment

नेकपामा ओलीको प्रस्ताव अस्वीकृत, प्रचण्डको हस्तक्षेप

१२ पुस, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले दिएको जवाफमा नेताहरुले असन्तुष्टि जनाएका छन् । नेताहरुको विरोधकै कारण राजनीतिक प्रस्ताव पास गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव फेल भएको छ ।

बिहीबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि नेताहरुले उठाएको प्रश्नको जवाफ दिए । २ घन्टा १० मिनेट सम्बोधन गरेका उनले नियतबस कुनै गल्ती नगरेको भन्दै आत्मालोचना नगर्ने स्पष्टीकरण दिए ।

अधिकांश समय सरकारको बचाउमा चर्खिएका उनले राजनीतिक प्रतिवेदन पास गर्न प्रस्ताव गरे । ‘विभिन्न कुराहरु आएका छन् तर, राजनीतिक प्रतिवेदन यस्तै हुन्छ, विगतका प्रतिवेदनहरु पनि हेरे हुन्छ भन्दै उहाँले पारित गर्न प्रस्ताव गर्नुभयो’ एक नेताले भने ।

तर, बामदेव गौतमले नेतृत्वले कमजोरी स्वीकार गर्नुपर्ने, नभए आफूले फरक मत राख्ने बताए । लगतै भीम रावल र घनश्याम भुसालले पनि नेतृत्वले कमजोरी स्वीकार गर्नुपर्ने र राजनीतिक प्रतिवेदनमा रहेका अस्पष्टता हटाउनुपर्ने बताए ।

अरु नेताहरुले पनि हात उठाएपछि अर्का अध्यक्ष प्रचण्डले हस्तक्षाेप गर्दै बैठक टुंग्याएका छन् ।

पार्टीमा अहिले फरक मत राख्न नहुने भन्दै भोलि विहान ८ बजे बैठक बसेर थप छलफल गर्ने बताए । ‘अध्यक्ष ओलीसँग प्रचण्डकै फरक मत रहृयो’ स्थायी कमिटीका एक सदस्यले भने, ‘उहाँले कार्यदल बनाएर प्रतिवेदन रिमार्जन गर्ने कुरा गर्नु भएको थियो तर, ओलीले सिधै पास गरौं भनेपछि यो अवस्था आएको हो ।’

राजनीतिक प्रतिवेदन र सांगठनिक एकताबारे सुझाव दिन कार्यदल बनाउने र २/३ दिनमा स्थायी कमिटीको बैठक राखेर अन्तिम रुप दिने प्रचण्डको प्रस्ताव थियो । नेताहरुले यसलाई सकारात्मक मानेका थिए तर, अर्का अध्यक्ष ओलीले एकैपटक प्रस्ताव पास गर्न प्रस्ताव गर्दा दुई अध्यक्षबीच नै फरक मत देखिएको नेताहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment