Comments Add Comment

वामदेवले ओलीलाई छाड्दा क–कसको होला कित्ताकाट ?

१३ पुस, काठमाडौं । वामदेव गौतमले फरक मत लेख्ने धम्की नदिएको भए सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव विहीबार राति नै स्थायी कमिटीबाट पारित हुने सम्भावना थियो ।

विहीबारको बैठकमा गौतमले उठेर आपत्ति जनाएलगत्तै घनश्याम भुसाल लगायतका नेताहरु पनि उनलाई साथ दिन उठे । त्यसपछि बैठक शुक्रवार विहानसम्मलाई स्थगित भयो ।

करीब ५ वर्षदेखि केपी ओलीलाई साथ दिएका गौतम अहिले नेकपामा ओलीका सबैभन्दा चर्को बिरोधी बनेर प्रस्तुत भइरहँदा उनलाई साथ दिने नेता भने फेरिएका छन् । नवौं महाविधेशनबाट वामदेवसँग अलग भएका घनश्याम भुसालहरुले गौतमलाई साथ दिए पनि गौतमका सदावहार सहयोगी नेताहरु भने उनको विपक्षमा उभिएका छन् ।

नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा वामदेव गौतम निकट भनेर चिनिएका किरण गुरुङ र रघुवीर महासेठ हुन् । ०५४ सालमा एमाले विभाजनदेखि प्रायः गौतमलाई साथ दिँदै आएका यी दुई नेता यसपटक वामदेवसँग रहेनन् । स्थायी कमिटीमा वामदेवले पेश गरेको फरक मतलाई उनीहरुले ‘आरोप र कुण्ठाको पुलिन्दा’ भनेर बिरोध जनाए ।

स्थायी कमिटीमा ओलीको बिरोध गर्दा माधव नेपाल पक्षका केही नेताहरुले उनको समर्थन गरे बाहेक अब वामदेव पक्ष भन्दा उनी एक्लै गणना हुने अवस्था आएको छ । किरण गुरुङ र रविन्द्र अधिकारीले स्थायी कमिटीमा कित्ता प्रष्ट पारेसँगै केन्द्रीय कमिटी र जनसंगठनमा वामदेव निकट रहेका नेताहरु ओली कित्तामा खुल्न थालेका छन् ।

वामदेवसँग लाग्दा राजनीतिक भविश्य अनिश्चित भएको भन्दै पूर्वमाले कालदेखि उनीसँग जोडिएका नेता कार्यकर्ता र सांसदहरुले अब वामदेव जता गए उतै नजाने प्रतिक्रिया दिएका छन् । वामदेव निकट मानिने केन्द्रीय सदस्य महेश्वर पाठकले वामदेव जहाँ गयो, त्यहीँ नजाने बताए । यद्यपि अहिले नै पार्टीमा कित्ताकाटको बेला पनि आइनसकेको उनको भनाइ छ ।

वामदेवनिकट मानिएका पर्यटनमन्त्री रविन्द्र अधिकारीले आफ्नो साथ केपी ओलीलाई रहेको बताइसकेका छन् । त्यस्तै केन्द्रीय सदस्य समेत रहेकी भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले पनि वामदेवको साथ छाडेकी छन् । उनी पछिल्लो समय राष्ट्रपति विद्या भण्डारीको नजिक पुगेको चर्चा नेकपामा छ ।

अनेरास्ववियुको अध्यक्ष समेत रहेकी सांसद नविना लामा वामदेव निकट मानिन्थिन् । तर, पछिल्लो समय उनले पनि वामदेवलाई समर्थन गरिनन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कमजोर पार्ने ढंगले वामदेवका गतिबिधि भएको भन्दै नविना लामा ओलीको पक्षमा उभिएकी छिन् । त्यसैगरी पूर्वमाले गुटबाट वामदेवसँगै एमालेमा आएका धनकुटाका सांसद राजेन्द्र राई र बाजुराका सांसद लालबहादुर थापा पनि ओलीको पक्षमा उभिएका छन् ।

वामदेव गौतमले ०५४ सालमा एमाले फुटाएर माले बनाउँदा उनका मुख्य सारथीमध्येका सीपी मैनाली एकीकरणपछि एमालेमा फर्किएनन् । राधाकृष्ण मैनाली बिभिन्न घाट चाहार्दै एमाले फर्किए पनि अहिले नेकपामा समेटिएनन् । अशोक राई संघीय समाजवादी फोरमको नेता भइसकेका छन् भने देवी ओझालगायतका नेताले राजनीतिनै छाडिसकेका छन् ।

त्योबेला उनका बलियो भरोसा बनेका युवा नेताहरु घनश्याम भुसाल,योगेश भट्टराई,शेरवहादवुर तामाङ, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धर ठाकुर गैरे, रामकुमारी झाँक्रीहरु नवौं महाधिवेशनदेखि नै वामदेवबाट अलग भएका थिए । वामदेवलाई निरन्तर साथ दिइरहेका यमलाल कँडेलले पनि उनलाई छाडिसकेका छन् । गणेश ठगुन्ना लगायत केही नेता अहिले कित्ता प्रष्ट पार्ने बेला भइनसकेको भन्दै चुपचाप लागेका छन् ।

वामदेवलाई जे जस्तो अवस्थामा पनि साथ दिनेमा बलराम बास्कोटा, हरि पराजुली, केशवालाल श्रेष्ठहरु देखिएका छन् । तर, पार्टीभित्र र जनतामा उनीहरु स्थापित छैनन् । वामदेवले आफूहरुसँग कुनै सल्लाह नगरी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि अनेक आरोप लगाएकाले समर्थन गर्न नसकिएको स्थायी कमिटी सदस्य गुरुङले बताउँछन् । अर्का युवा नेता रविन्द्र अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो साथ समर्थन ओलीलाई रहेको बताइसकेका छन् ।

गुरुङ र अधिकारी लगायतका नेताहरुले पार्टीभित्रको जोडघटाउमा आफूलाई वामदेवसँग जोडेर गणना नगर्न आग्रह गरेका छन् । वामदेवको कोटाबाट पर्यटन राज्यमन्त्री बनेका धनवहादुर बुढाले समेत उनीसँग नरहेको बताएका छन् ।

वामदेवलाई ०५४ देखि नै साथ दिएका नेकपाका ५ नम्बर प्रदेश सहइन्चार्ज तथा संघीय सांसद दलवहादुर रानाले वामदेव गौतमको फरक मत ओलीसँग कित्ताकाट गर्न हो कि, सामान्य असन्तुष्टिमात्र हो भन्ने प्रष्ट भइनसकेको बताए । यद्यपि आफू नवौं महाधिवेशनदेखि ओलीको साथमा रहेको र वामदेवले छाड्दैमा छाड्नुपर्छ भन्ने पक्षमा नरहेको उनले बताए ।

वामदेवको कित्ताकाट यस्तो बेलामा भएको छ कि नेकपामा पोलिटव्यूरो गठनको चर्चा चलिरहेको छ । विगतमा वामदेवको कोटाबाट केन्द्रीय कमिटी, स्थायी कमिटी र मन्त्रिपरिषददेखि राष्ट्रियसभामा समेत ओलीले भाग छुट्याउने गरेका थिए । वामदेव निकट बलराम बास्कोटालाई राष्ट्रियसभा सदस्य बनाउन माधव नेपालनिकट स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई उम्मेदवारी फिर्ता लिन लगाइएको थियो ।

नेकपाको करीव १५० सदस्यीय पोलिटव्यूरो गठन हुँदा पूर्व एमालेबाट ८०÷८५जना रहनेछन् । यसअघिको तत्कालिन एमालेका ६६ जना पोलिटव्यूरो सदस्यमध्ये सानु श्रेष्ठ र अग्नि खरेल बाहेक सबै यथावत छन् । पोलिटव्यूरो गठन हुँदा अब तत्कालिन एमालेभित्रको भागबण्डामा वामदेवको कोटा के होला ? उनको कित्ताकाटसँगै यो प्रश्न पनि उब्जिएको छ ।

वामदेवः एकातिर गुमाए, अर्कोतिर क्षतिपूर्ति

एकातिर वामदेवले ओलीलाई छाड्दा उनले आफ्ना केही प्रभावशाली र सदावहार साथ दिने नेताहरु गुमाउनुपर्नेछ भने अर्कोतिर स्थायी कमिटीमा उनको प्रस्तुतिले नयाँ समर्थक पाउने सम्भावना पनि देखिएको छ । विहीबार साँझ वामदेवले उठेर अध्यक्षहरुले कमजोरी स्वीकार गर्नुपर्छ भन्दा उनलाई साथ दिन करीव एक दर्जन नेता उठेका थिए ।

गौतमले नेकपाभित्र ओलीप्रति फरक मत राख्ने नेताहरुको नेतृत्व गर्न खोजेको चर्चा पनि चलेको छ । माधव नेपालले ओलीसँग कस्तो खालको सम्बन्ध कायम गर्न खोजेका हुन् भन्ने प्रष्ट नभइरहँदा त्यो ग्याप वामदेवले भर्न खोजेको टिप्पणी नेकपा नेताहरुले गरेका छन् । त्यसो त वामदेवलाई प्रचण्ड र झलनाथ खनालको पनि ब्याकअप रहेको अनुमान गर्न सकिन्छ ।

माधव नेपाल अहिले सबैभन्दा अन्यौलमा देखिन्छन् । ओली विरुद्ध मसक्कै आँटेर स्थायी कमिटी र केन्द्रीय कमिटीमा आफ्नो शक्ति देखाउन पनि उनले सकिरहेका छैनन् । किनकि आगामी महाधिवेशनमा आफ्नो प्रतिस्पर्धा ओलीसँग होइन प्रचण्डसँग हुने उनको अनुमान छ ।

त्यसैले हिजो ओलीविरुद्ध माधव नेपाललाई साथ दिएका युवा नेताहरुको नेतृत्व वामदेवले गरे भने आश्चर्य हुनेछैन ।
यो पनि पढ्नुहोस मलाई वामदेव निकट नभन्नोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment