Comments Add Comment

तनहुँ बेलचौतारामा खुल्ने भयो गण्डकी विश्वविद्यालय

१३ पुस, पोखरा । गण्डकी प्रदेश सरकारले तनहुँ शुक्लागण्डकीको बेलचौतारामा आफ्नै विश्वविद्यालय खोल्ने निधो गरेको छ । बेलचौतारामा गण्डकी विश्वविद्यालय खोल्ने निधो गर्दै भानुभक्त क्याम्पस र सँगै रहेको सार्वजनिक जग्गा हस्तान्तरण गर्न प्रदेशले केन्द्र सरकारसँग माग गरेको हो ।

प्रा.डा. गणेशमान गुरुङको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले भानुभक्त क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्न सकिने सुझावसहितको प्रतिवेदन गत असारमा प्रदेश सरकारलाई बुझाएको थियो । भानुभक्त क्याम्पस, यसको स्वामित्वमा रहेको जग्गा र थप सार्वजनिक जग्गा पनि रहेकाले त्यहाँ विश्वविद्यालय खोल्न उपयुक्त हुने सुझाव समितिको थियो ।

समितिको प्रतिवेदनमाथि छलफल गर्दै मन्त्रिपरिषदले बेलचौतारामा नै विश्वविद्यालय खोल्ने निधो गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कुल ४ सय ७५ रोपनी क्षेत्रफल जग्गा प्रदेशलाई उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

केन्द्र सरकारले जग्गा सहजै जग्गा उपलब्ध गराएर अब बेलचौतारामै प्रदेशस्तरीय विश्वविद्यालय खुल्नेछ । विश्वविद्यालय खोल्न प्रदेश सरकारले कानुनको मस्यौदा तयार पारिरहेको छ भने विश्वविद्यालयको स्वरुप र सञ्चालन ढाँचा अध्ययन गर्न कार्यदलसमेत गठन गरेको छ ।

डा. तीर्थबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय विश्वविद्यालय स्वरुप र सञ्चालन ढाँचा अध्ययन कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्णकान्त अधिकारी, डा. कृष्णराज अधिकारी र डा. लेखनाथ भट्टराई सदस्य छन् ।

समितिले विश्वविद्यालयको स्वरुप, सञ्चालन ढाँचाबारे अध्ययन गरी ४ महिनाभित्र प्रतिवेदन बुझाउने छ । समिति संयोजक थापा मुख्यमन्त्रीको जिल्ला लमजुङकै हुन् । थाइल्यान्डबाट मेडिकल पीएचडी गरेका थापा लामो समयदेखि हेल्थ एजुकेसनको क्षेत्रमा काम गर्दै आएका छन् ।

गण्डकी प्रदेश सरकारले आˆनै विश्वविद्यालय खोलेर दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । प्रदेशस्तरीय विश्वविद्यालय खोल्न विस्तृत सम्भाव्यत्ता अध्ययनका लागि सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । आथिक वर्ष २०७४/०७५ को बाँकी अवधिको नीति तथा कार्यक्रमबाटै यसलाई महत्वका साथ ल्याइएको थियो ।

प्रदेशस्तरीय आयुर्वेदिक अस्पतालको तयारी

प्रदेश सरकारले प्रदेशस्तरीय आयुर्वेदिक अस्पताल सञ्चालन तयारी थालेको छ । पोखरा वडा नम्बर २६ कन्ननी डाँडामा सरकारले प्रदेशस्तरीय आयुर्वेदिक अस्पताल चलाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकले पुरानो लेखनाथ क्षेत्रको कन्नीडाँडामा प्रदेशस्तरीय आयुर्वेदिक अस्पताल चलाउन केन्द्र सरकारसँग जग्गा माग गरेको छ । अस्पतालका निम्ति आवश्यक ३ सय ६ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउन केन्द्र सरकारसँग प्रदेश सरकारले अनुरोध गरेको हो ।

लेखनाथमै अहिले अञ्चलस्तरीय आयुर्वेदिक अस्पताल छ । सोही अस्पताललाई नै स्तरोन्नति गरी प्रदेशस्तरीय अस्पताल बनाउन आवश्यक जग्गा माग गरिएको सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment