Comments Add Comment

आजका पत्रपत्रिकाः कर्मचारीको उमेर हद ६० वर्ष बनाउने तयारी, २ वर्षपछि मात्रै लागू हुने

१४ पुस, काठमाडौं ।आज शनिबार । संघीय राजधानी काठमाडौंबाट  प्रकाशित  राष्ट्रिय दैनिक पत्रिकाहरुले आज अलि फरक विषय समातेका छन् । कुनैले हुम्लाको अवस्थाबारे खोजीनीति गरेका छन् भने केहीमा उद्यममा चम्किएका महिलासँगै माटोविनै फलाइएको तरकारी खेतीबारेको रिपोर्ट छ ।

‘हिउँ नपरे दुःख बढ्छ’ शीर्षक दिएर कान्तिपुरले आज हुम्लाको अवस्थाबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार, हुम्लाबासी जति धेरै हिउँ पर्यो उति धेरै खुसी हुन्छन् ।

‘हुम्लामा पाँच वर्षअघि जस्तो हिउँ अचेल परेको छैन । शुक्रबार पातलो पर्यो, बिलायो’, कान्तिपुरको समाचारमा लेखिएको छ, ‘पछिल्लो समय हिउँ परे पनि फासफुस मात्र हुन्छ, जमिन भिजाउँदैन । सिँचाइ छैन । दर्के झरी पर्न छाडेको छ । पुसमा जति बाक्लो हिउँ पर्यो बाली उति राम्रो हुन्छ । त्यसैले हुम्लाबासीमा हिउँ नपरेर दुःख बढ्छ ।’

गायिका विष्णु माझीको बाबु तथा घर–परिवारबारे एक सामग्री छापेको कान्तिपुरले सर्वोच्चका निर्णय अस्वभाविक भएको लेखेको छ । पछिल्लो एक–डेढ महिनामा आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण र केही रणनीतिक मुद्दामा न्यायाधीशहरु छानी–छानी इजलास गठन गर्ने र पेसी तोक्ने काम भइरहेको समाचारको सार छ ।

अन्नपूर्णले पनि आज राजनीतिभन्दा फरक तरकारी खेतीबारेको फिचरलाई मुख्य समाचारका रुपमा छापेको छ । रुपन्देहीका किसान ईश्वर पौडेलले गरेको तरकारी खेतीबारे अन्नपूर्णमा प्रकाशित सामग्री अनुसार, माटोबिनै पनि तरकारी फलाउन सकिन्छ । उनले विष्णुपुरामा हाइड्रोपोनिक नेपाल कृषि फर्म चलाएका छन् । समाचार अनुसार, उनलाई यो प्रविधिबारे जानकारी दिन भ्याइनभ्याइ छ । ओमनमा यो प्रविधिबारे सिकेका उनी त्यहाँको पाँचतारे होटलको जागिर छाडेर नेपालमा केही वर्षदेखि यो खेती गर्दै आइरहेका छन् ।

सुर्खेतमा बोक्सी आरोमा सानीमाबाटै किशोरीलाई यातना दिएकोदेखि तिवारी हत्याका अभियुक्तले सफाइ पाएकोसम्मका खबरलाई अन्नपूर्णले पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

राजधानी दैनिकमा राजनीति तथा कर्मचारीसँग सम्बन्धित समाचारहरु छापिएका छन् । राजधानीका अनुसार कर्मचारीका मुख्य माग सम्बोधन गर्ने गरी सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिएको छ ।सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई केन्द्रमा आउन सक्ने गरी सबै किसिमका बढुवा प्रणालीमा सहभागी हुन पाउने गरी संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको छ । उमेर हद पनि ६० वर्ष बनाइएको छ । तर विधेयक जारी भएको २ वर्षपछि मात्रै यो लागू हुनेछ । उपसचिव र सहसचिवमा १० प्रतिशत खुला प्रतिष्पर्धाको व्यवस्था पनि मस्यौदामा गरिएको समाचारमा लेखिएको छ ।

नयाँ पत्रिकाले उद्यममा चम्किएका महिलाबारेको एक सामग्री पस्केको छ । भवानी राणादेखि श्वेता खड्कासम्मलाई नयाँ पत्रिकाले सफल उद्यमीका रुपमा प्रस्तुत गरेको छ ।

नयाँ पत्रिकाका अनुसार कतिपय महिला त देशमा नयाँ व्यवसायको ट्रेन्ड सेटर र नयाँ पुस्ताको प्रेरणासमेत बनेका छन् । समाचार सामग्रीअनुसार छोरीलाई विदेशमा पढाएर दक्ष बनाउने र स्वदेश फर्काएर व्यवसाय जिम्मा लगाउने घराना बढ्दै गएका छन् ।

गोरखापत्र दैनिकमा औपचारिक समाचारकै बोलवाला छ । नेकपा स्थायी समिति बैठकले प्रतिवेदन पारित गरेकोदेखि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आइतबार हुन लागेकोलगायतका खबरले गोरखापत्रको पहिलो पृष्ठ भरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment