Comments Add Comment

पोखराले यसरी थाल्यो न्यू इयर सेलिब्रेसन (फोटो फिचर)

१४ पुस, पोखरा । यसै पनि पर्यटकको स्वागतमा जागिरहन्छ, पोखरा । अंग्रेजी नयाँ वर्ष होस् या नेपाली नयाँ वर्ष होस् पोखराले सामूहिक उत्सव मनाउँछ । केही न केही उत्सव भइरहने पोखरामा अर्को महाउत्सव सुरु भएको छ ।

फेवाताल किनारमा अंग्रेजी नयाँ वर्ष उत्सवका रुपमा सेलिब्रेसन हुँदैछ । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ नाम दिएर पोखराले नयाँ वर्षको भव्य स्वागत गरेको हो । २० वर्षअघिसम्म यही बेला सुनसान हुने पोखरा अहिले हजारौं पाहुनाको भीडले गुल्जार छ । रेस्टुरेण्ट एन्ड बार एसोसियसन रेवान पोखराले गर्दै आएको सडक महोत्सव अहिले देश–विदेशका पर्यटकको रमाउने उत्कृष्ट गन्तव्य बनेको हो ।

महोत्सवको उद्घाटन सेवा किनार पार्कमा भए पनि डिहिको पाटनदेखि शहिदचोकसम्म साढे तीन किलोमिटर क्षेत्र उत्सवमय हुनेछ । सडकमै राखिएका छन् – खाना, खाजाका परिकारदेखि विभिन्न सांगीतिक कार्यक्रमसम्म । विदेशका विभिन्न स्वादका खाना लेकसाइडका सडकमै पर्यटकले चाख्न पाउने छन् ।

नयाँ वर्ष मनाउन पोखरा जाऔं भन्ने सन्देश दिँदै आएको सडम महोत्सव शुक्रबारदेखि सुरु भएको छ र पर्यटक पोखरा आउन थालिसकेका छन् । पहिलो दिन देशका विभिन्न जातजातीका झाँकी महोत्सवस्थल पुगे । बाजागाजासहित विभिन्न भेषभूषामा आफ्नो मौलिक संस्कृति झल्काउँदै झाँकीसहित ठूलो संख्यामा र्‍याली महोत्सवस्थल पुगेर नयाँ वर्षको स्वागत गरे ।

२० लाख पर्यटक ल्याउन गाह्रो छैन: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सडक महोत्सवको उद्घाटन गरेका छन् ।  पोखरा सातै प्रदेशको पर्यटकीय राजधानी भएको महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले उद्घोष गरे ।  मुख्यमन्त्री गुरुङले पर्यटकीय राजधानी घोषणा नै गर्ने प्रतिवद्धतासँगै पोखरालाई २४ घन्टा खोल्नुपर्ने धारणा पनि दोहोर्‍याएका छन् । पर्यटकीय राजधानी पोखरा प्रकृतिको बरदानसमेत रहेको उनको भनाइ थियो । यहाँको पर्यटनलाई समृद्धिसँग जोडेर प्रदेश सरकारले योजना बुनिरहेको मुख्यमन्त्री गुरुङले सुनाए ।

मुख्यमन्त्री गुरुङले पोखरा आसपासका डाँडाकाँडा होटल, रेस्टुरेन्टले भरिनुपर्ने बताए । पुम्दी, काहुँडाँडामा नयाँ पर्यटकीय प्रडक्टका रुपमा पूर्वाधार निर्माण भइरहेको भन्द्र मुख्यमन्त्री गुरुङले पर्यटकीय गन्तव्य एकपछि अर्को बनिरहेको सुनाए ।

गण्डकी प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सुनाउँदै यस्तै पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ र आकर्षण थपेर त्यो लक्ष्य पूरा हुने गुरुङको भनाइ छ । ‘अहिले नै १० लाख पर्यटक आउँछन्, अब हामीलाई २० लाख पुर्‍याउन कुनै ठूलो कुरा छैन,’ गुरुङले भने ।

पोखरामा सबै खाले हुने अन्तर्राष्ट्रिय स्टेडियम बनाउन चिनियाँ कम्पनीसँग कुरा भइरहेको बताए । अन्तर्राष्ट्रिय कन्फ्रेन्स हल निर्माणका लागि पनि एउटा अन्तर्राष्ट्रिय कम्पनी इच्छुक देखिएको गुरुङले सुनाए । गण्डकी प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर पूर्वाधार निर्माण गरिरहेकोमा गुरुङले जोड दिए ।

महोत्सवले पोखरालाई नै ब्रान्डिङ गर्ने काम गरेको बताउँछन्, रेवान पोखराका अध्यक्ष बुधराज भुजेल ‘भीमसेन’ । हस्तकलाका सामाग्री, पर्यटकीय गन्तव्यका प्रचार, वृतचित्र, बाल उद्यान र विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम महोत्सवका आकर्षण रहेको निवर्तमान अध्यक्ष सूर्यबहादुर भुजेलले बताए ।

रेबान पोखराका सचिव गणेशबहादुर थापाले सडक महोत्सव नेपालकै ठूलो इभेन्ट भएको बताउँछन् । यो महोत्सवले पोखरामात्रै होइन नेपालकै अर्थतन्त्रमा टेवा पुर्‍याउने थापाको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment