Comments Add Comment

साहित्यमा सेलिब्रेटी ठीक कि बेठीक ?

झट्ट हेर्दा नेपाली साहित्यको आयाम पहिलेभन्दा फराकिलो भएजस्तो देखिन्छ । आजभोलि पाठक पनि बढेजस्तो, पुस्तकको बिक्री पनि बढेजस्तो, साहित्यिक कार्यक्रम पनि बढेजस्तो र प्रकाशक पनि बढेजस्तो देखिन्छ । साहित्यिक कार्यक्रमहरुमा सेलिब्रिटी कलाकारहरु ओइरिन्छन् । उनीहरु पुस्तक पढ्ने ‘हवि’ भएको बताइरहेका हुन्छन ।

केही यस्ता गतिविधि पनि देखिन्छन्, जसले साहित्यिक आयाम फराकिलो भएको संकेत गर्छ । साहित्यिक कृतिमा फिल्म र नाटक धमाधम बन्नु, साहित्यिक टुर हुनु, ४–५ दिन लामो साहित्यिक मेला चल्नु, पुस्तकबारे बहस चल्नु, मिडियाका सबै माध्यममा महंगो विज्ञापन देखिनु, प्रचार सामग्री स्वरूप भिडियो बन्नु, कतिपयले छिटोछिटो पुस्तक निकाल्नु आदि ।

सबैभन्दा रोचक कुरो त साहित्यले पनि सेलिब्रेटी लेखक जन्माउन सक्छ भन्ने उदाहरण दिन थालेको देखिन्छ । अब लेखक कविका साहित्यभन्दा उनीहरुका तस्वीरहरु बिक्न थालेका छन् । सायद यही कारण हुन सक्छ, पत्रपत्रिकामा लेखकको अन्तरवार्ता भन्दा उनीहरुका तस्वीर ठूला छापिन थालेका छन् ।

केही लेखकलाई प्रकाशन संस्थाले सेलिब्रेटी बनाएको छ । केही लेखकलाई पाठकले सेलिब्रेटी बनाएका छन् । केही लेखकलाई चाहिँ पत्रिकाहरुले धेरै स्थान दिएर सेलिब्रेटी बनाएका छन् । यी तीनवटा फरक छुट्याउनु आवश्यक छ

यस्तो समय थियो, जतिबेला लेखक नै प्रकाशक र वितरक आफैं हुनुपर्थ्यो । कतिपय अवस्थामा त उपनाम राखेर समीक्षक पनि आफैं । अहिले साहित्य त्यो स्थितिभन्दा अलि अगाडि आइपुगेको छ । अगाडि त आयो, तर यस्तो लाग्छ, साहित्य बाटो नदेखेर अल्मलिइरहेको छ ।

एकाधलाई छाड्ने हो भने प्रयोगको हिसाबले नेपाली साहित्य अझै विश्वेश्वरप्रसाद कोइराला, पारिजात, भूपि शेरचन, देवकोटा र रिमालकै वरिपरि घुमिरहेको देखिन्छ । अझ केही त प्रकाश कोविद मार्काका साहित्य लोकप्रिय छन् । यो मेरो अध्ययनको सीमितता पनि हुन सक्छ ।

लाग्छ, नेपाली साहित्य यतिखेर कुहिरोमा हराएको कागझैँ भइरहेको छ । कागले दिशा पहिल्याउन सकिरहेको छैन । कागले आफ्नो गन्तव्य पनि चिनेको छैन । नेपाली साहित्य प्रयोगवादी बन्न सकिरहेको छैन । पुरानै ढर्राबाट ग्रस्त हुन अभिसप्त छ । यद्यपि, दिनहुँ विमोचन हुने पुस्तकका लेखकहरुले आफुले कसैले नगरेको काम गरेको दावी गर्छन् ।

लेखकमै पठनको कमी

लगभग साहित्यको सबै विधामा युवाको उपस्थिति छ । यो साहित्यको लागि खुसीको सुचक हो । तर, पुस्तक पढ्दा विषय बस्तुलाई राम्रोसँग पक्रन नसकेको प्रष्ट देखिन्छ । धेरैजसो युवा महत्वाकांक्षा र रहरले मात्र साहित्यमा छिरेका हुन् भन्ने कुरा उनीहरुका साहित्य पढ्दा सजिलै बुझिन्छ । लेख्ने विषयवस्तुमाथि अनुसन्धान र अनुभव फिटिक्कै छैन भन्ने कुरा एकपल्ट सरर पुस्तक पढ्दा थाहा हुन्छ ।

राम्रो लेखक बन्न राम्रो किताबहरु धेरै पढ्नुपर्ने साहित्यको पहिलो नियम हो । केही समयअघि करिब १० बर्षको साधनामा किताब निकालेको, पुस्तकको कभरदेखि नै हिट भएको भनिएको पुस्तकले बढी आलोचना खेपेको थियो । अरुको नपढेपछि कसरी लेखिन्छ त राम्रो भन्ने जवाफ पाठकहरुले ती लेखकलाई दिएका थिए ।

नयाँ कथा र प्लटको नाममा खालि एकसरो धागो मात्र नयाँ हुने तर त्यसको बुनाइ नयाँ नहुने । युवाको अर्को समस्या हो– एकपछि अर्को नयाँ विधामा हात हाल्ने । नौलो प्रयोगको नाममा निकै हल्लीखल्ली गर्ने । तर, दोश्रो पुस्तकमा विधा नै अर्को छानिदिने चलनले लेखकलाई कतै स्थापित गराउँदैन ।

युवा कवि निर्भिकजंग रायमाझी विदेशबाट केही पैसा कमाएर यहाँ आएर १/२ महिना रिसोर्टमा बसेर धमाधम लेखेर पनि लेखक भएका उदाहरण दिन्छन् । उनका अनुसार, डायस्पोराले नेपाली साहित्यलाई बृहत बनाउनुपर्नेमा विकृत बनाइरहेको छ ।

त्यस्तै, बुटवलमा पठन संस्कृति बढाउन विभिन्न कार्यक्रमहरु गरिरहेकी सरिता श्रीस भन्छिन्, ‘साहित्य सधैंको प्रतिपक्षी हो, तर अहिलेको साहित्य सत्ताको हनुमानगिरीमा भुलेको छ ।’

विम्वको प्रयोग

साहित्यमा विम्वको प्रयोग असाध्यै संवेदनशील विषय हो । तर, अहिले बिम्ब भद्दा रुपमा बहेको देखिन्छ । अझै पनि फूल थुम्को, दुई थुंगा फूल, छातीको पहाड, चन्द्रमा जस्तो मुहार, हिमालजस्ता दाँत, सागर जस्ता केश, नीलो आकाशजस्ता आखाँ, हिउँजस्ती गोरी, आदि विम्व प्रयोग भैरहेका छन् ।

साहित्यकार  गिरी श्रीस मगरको बुझाइमा २१ औं शताब्दीमा १८ औं शताब्दीले भोगेको समाजको इच्छा, आँशु, सपना, उत्पीडन र पीडा प्रतिविम्वित गर्ने क्षमता पुराना विम्वहरुले गुमाइसकेका छन् । विम्वहरुको पट्यारलाग्दो पुनरावृत्ति छाडेर मान्छेको मन छुने विम्वहरुको खोजी र प्रयोग समकालीन साहित्यको चुनौति हो ।

साहित्यमा सेलिब्रेटी ठीक कि बेठीक ?

एकथरि भन्छन्, ‘लेखनले समाजमा विचार निर्माण गर्छ । विचार निर्माण गर्नेहरुलाई मानिसले माया गर्नु स्वभाविक हो र पुँजीवादमा लेखक सेलिब्रेटी हुनु सामान्य हो ।’ अर्कोथरि विचारमा ‘चलचित्रका नायक–नायिका जस्तो लेखकलाई सेलिब्रेटी बनाउनु उनीहरुको लेखकीय धार समाप्त पार्नु हो ।’

यसमा सबैलाई आफ्नो तर्क गर्न छुट छ र हुनुपर्छ । तर, लेखक जति सेलिब्रेटी भयो, उति साहित्यले समाजमा स्थान पाउँदै जान्छ, समाजमा लेखकको विचार फैलँदै जान्छ । बरु, कुन विचार बोकेका लेखकलाई सेलिब्रेटीको रुपमा स्थान दिने र कुन लेखकलाई सामान्य लेखक बनाउने भन्नेमा सञ्चारमाध्यमले विचार गर्नुपर्छ ।

अहिलेका युवाले कुनै लेखकसँग सेल्फी लिए, उनका पुस्तक धेरै बिक्री भए भनेर स्थान दिनुभन्दा त्यस्ता लेखकहरुलाई ध्यान दिनुपर्छ, जो सेलिब्रेटी होइन, तर उसका विचारले मानिसलाई तरंगित बनाउँछ ।

केही लेखकलाई प्रकाशन संस्थाले सेलिब्रेटी बनाएको छ । केही लेखकलाई पाठकले सेलिब्रेटी बनाएका छन् । केही लेखकलाई चाहिँ पत्रिकाहरुले धेरै स्थान दिएर सेलिब्रेटी बनाएका छन्, जबकि उनीहरुका पुस्तक विक्री हुँदैनन् । यी तीनवटा फरक छुट्याउनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment