Comments Add Comment

चिनियाँ विजुली बसमा १७ बदमासीः कम तौलदेखि भारतको कमसल सिसासम्म

१४ पुस, काठमाडौं । लुम्बिनी विकास कोषका लागि भनेर खरिद भएका ५ वटा विद्युतीय बस परीक्षणका लागि काठमाडौंमा चलाउने भन्दै प्रधानमन्त्री केपी ओली आफैंले साझा यातायातलाई हस्तान्तरण गर्दै उद्घाटन गरे । तर, गुणस्तरहीन रहेको ठहर भएपछि ती बस चीन नै फर्किने पक्का भएको छ ।

तोकिएको मापदण्डअनुसार नभएको भन्दै बस फिर्ता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सलाई निर्देशन दिइसकेको छ । मापदण्डअनुसार चीनमै बनेका बसहरु नआएसम्म रकम भुक्तानी नदिने भन्दै सरकारले आपूर्तिकर्ता कम्पनीलाई गुणस्तरीय बस ल्याउन भनेको छ ।

एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा किनिएका बसमा सरकारले १७ वटा गम्भीर त्रुटी र बदमासी भेट्टाएको छ । सम्झौताअनुसार कम्पनीले चीनमा बनेका स्तरीय बस ल्याउनुपर्ने हो, तर बसमा प्रयोग भएका समाग्री भारतीय कम्पनीका भटिएपछि सरकारले त्यसलाई फिर्ता पठाउने निर्णय गरेको हो ।

२० सिट क्षमताका ५ वटा बसको परीक्षण गर्दा विभिन्न प्राविधिक त्रुटीहरु भेटिएका छन् । २ करोडमा किनिएको बस टेण्डर र सम्झौताको स्पेसिफिकेशन अनुुसार नआएको ठहर सरकारले गरेको छ ।

यी बस परीक्षणका लागि मात्रै उत्पादन भएको ठहर मन्त्रालयले गठन गरेको अध्ययन समितिले गरेको छ । ‘के-६ विद्युतीय बस’ साइमेक्सले नेपाल ल्याएको थियो तर ‘सी-६’ बस ल्याउने उल्लेख थियो ।

त्यही बसको तौल पनि सम्झौताअनुसार नभएको पाइएको छ । ७ हजार ४ सय ६५ केजी हुनुपर्नेमा सो भन्दा कम तौलका बस भित्र्याइएको छ ।

बसको उत्पादन मिति स्पष्ट छैन भने गाडीको बत्ती, सिट बेल्ट, स्वीचबोर्डको गुणस्तर कमजोर देखिएको छ । यस्तै सिटहरुको फेब्रिकेशन कमजोर छ भने अपांगलाई चढाउने लिफ्ट पनि कमजोर गुणस्तरको पाइएको छ ।

गाडीको फिनिसिङ पनि राम्रो नभएको, सिट कभर परीक्षणकै क्रममै उत्रिएको तथा बसमा भारतीय कम्पनीमा बनेका कमजोर खालका सिसाहरू भेटिएको छ ।

बसको सस्पेन्सन (लचकता) पनि कमजोर पाइएको छ भने ढोकाले राम्रोसँग काम गरेको छैन । गाडीको स्पीडोमिटरले पनि तथ्यगत रूपमा सही सूचना नदिएको ठहर मन्त्रालयले गरेको छ ।

हि्वल चियर लिफ्ट तत्कालै मर्मत गर्नुपर्ने अवस्थामा देखिएको छ भने उत्पादकको परीक्षण रिपोर्ट पनि कम्पनीले सरकारलाई उपलब्ध गराएको छैन ।

बसमा आगो निभाउन राखिएका यन्त्र भारतीय कम्पनीका छन् । बसको मर्मतका लागि आवश्यक न्युनतम् मर्मत उपकारण पनि कम्पनीले दिएको छैन । बसको पांग्राका नटहरु खिया लागेको अवस्थामा फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment