Comments Add Comment

उपन्यास अंशः लाहुरेनी फूल

‘बत्तिस्नी त छैन रे है !’ सानो गाउँ, हल्ला हुन कतिबेर लाग्थ्यो र ? लागेन ।

असारको महिना, उसै कामको चटारोले सबैलाई लखेटिरहेकै थियो । बिहानको एघार बजेतिर गाउँलेहरु मेलोबाट फर्किसकेका थिए । कोही खाना खाँदै थिए, कोही हतारै गाईबाख्रालाई चरनतिर लखेट्दै थिए । कोहीचाहिँ फेरि मेलोतिरै पस्दै थिए । यस्तो कि जिन्दगी नै हतारोजस्तो, उसै नि गाउँघरमा खानेबेलाबाहेक घरबस्ने फुर्सद कहाँ हुनु र ?

‘बत्तिस्नी त छैन रे है !’

परालमा आगो सल्किएजसरी यो खबर गाउँभरि फैलियो । गोठालो जाँदै गरेकाहरु वस्तुभाउ उतै जङ्गलतिरै धपाएर फर्किए । मेलापात हिँडेकाहरु आधा बाटोबाटै फर्किए र लागे- सिरान घरतिर ।

दर्के झरी भर्खरै थामिएर सिमसिम गरिरहेको थियो । ठूलो स्वरले रोइसकेपछि चित्त दुखाएर सुँक्कसुँक्क गरिरहेको कुनै बालकजस्तो थियो मौसम । झरीको यो सुँक्सुँकाहट तत्कालै रोकिइहाल्ने छाँटकाँट थिएन ! घाम झलमल्लै थियो । माथि आकाशमा दुईर्चार डल्ला बादलहरुबाहेक मौसम सफा र उज्यालै थियो । भर्खरैको दर्केले बाटाहरु भने हिलम्मे र चिप्ला थिए ।

‘घामपानी एकैचोटि भयो भने लोदर हुन्छ, भन्छ । हो रैछ…’

‘हैन, बत्तिस्नी डेमाले त हिज मसँग मजाले बात मार्नुभाको थो । एक्कासी के आइलागो नि यस्तो ?’

‘त्यै त बरा ! जिन्दगीभर बत्तिस्नी काकी सबैको हाइहाइ भइन् । आज भने झारफुकै गर्न नपाई… ‘

‘बत्तिस्नी छुना बितेपछिन् हाम्रो त गाउँको सह नै गयो नि अब ।’

ढुङ्गाको गारोलाई माटोले जोडेर बनाइएको तीनतले घर । सेतो च्यादरको छाना भएको । गाउँभरिकै सबैभन्दा ठूलो । गाउँकै सिरानमा रहेकोले सिरानघर । सिरानघरको आँगनभरि जम्मा भएका गाउँलेहरु एकआपसमा बत्तिस्नी बोजूको निधनमा आ-आफ्नै पाराले दुःख प्रकट गरिरहेका थिए ।

उसै त बर्खामास, भिजेको दाउरा बल्न सकिरहेको थिएन । भनौं, बल्नलाई अटेर गरिरहेको थियो । कोठाभरि भुइँकुहिरोजस्तै धूवाँ रुमल्लिरहेको थियो । अगेनाको दायाँपट्ट िखाटमाथि बसेका महिलाहरु सुँक्कसुँक्क गरिरहेका थिए । धूवाँको रागले आँसुलाई बाहिर निकाल्न अझै बल दिइरहेको थियो ।

अझ उता, कुनापट्ट िभुइँमा गुन्द्री ओछ्याइएको थियो । निधारमा कम्पनीको ढ्याक टाँसिएको थियो । सेतो कपडाले पूरै शरीर ढाकिएको थियो । शीरनेर धुपौरोमा सुकेको तीतेपातीको धूप बलिरहेको थियो । यही शरीर थियो- बत्तिस्नी बज्यैको । मृत  शरीर ।

… … …

अजिरमान राईर् तेह्र वर्ष पूरा गरेर भर्खर चौध टेक्दै थिए । हलक्कै बढेका । अठार वर्षे लक्का जवान देखिन्थे ।

एकदिन

बेंसीको खेतमा अजिरमान साथीहरुसँग गोठालो गर्दै थिए । पारिको गाउँबाट आएका गल्लावालले उनलाई भगाए । उमेर बढाइदिएर पल्टनमा भर्ती गराए । विश्व-युद्ध चलिरहेको बेला थियो । उनकी आमालाई भने छोरो भर्ती भएको पटक्कै चित्त बुझेको थिएन ।

‘त्यो असत्तीलाई भेटें भने यै खुर्पाले काट्छु ।’ घाँस काट्ने खुर्पा नचाउँदै गल्लावालसितको रिस आमा गाउँलेहरुसँग पोख्थिन् ।

अजिरमान लजालु स्वाभावका थिए । पल्टनबाट छुट्टीमा आउँदा भने नलजाउने भइसकेका थिए । लाहुरका केही रमाइला, केही दुःखका किस्साहरु फरासिलो गरी सुनाउँथे ।

‘पल्टनमा मेरो नम्बर बत्तीस हो । सबैले बत्तीस भनेर मात्रै बोलाउँछ । त्यहाँ नामले भन्दा नम्बरले एकअर्कालाई चिनिन्छ ।’

गाउँलेहरुले पनि अजिरमानलाई ‘बत्तीस’ नै भन्न थाले । त्यसपछि उनको नाम कसैले उच्च्ाारण गरेनन् । उनकी श्रीमतीलाई पनि गाउँलेहरुले ‘बत्तिस्नी’ भन्न थाले । सबैले दुवैलाई ‘बत्तीस’ र ‘बत्तिस्नी’ भन्न थाले ।

अजिरमान दोस्रो छुट्टीमा आए । त्यही समय दुःखको बन्यो । अजिरमानकी आमा लिस्नोबाट लडेर थला परिन् । बिराम बीसको उन्नाइस भएन । झारफुक गर्दागर्दै बितिन् ।

बाबा त सानैमा खसेका, यादै थिएन । आमाको मृत्यु-संस्कार सकेर बत्तिस्नीलाई पनि साथै लिएर अजिरमान पल्टन गए ।

तीन वर्षपछि-

अजिरमानको परिवार तीनजना भएर गाउँ फक्र्यो । बत्तीस-बत्तिस्नीले साथमा एक वर्षे छोरो पनि लिएर आए ।

लडाइँमा जानुपर्ने भएकोले बत्तिस्नी र छोरोलाई गाउँमै छोडेर अजिरमान एक्लै पल्टन फर्किए । दोस्रो विश्वयुद्ध चलिरहेकै थियो । अजिरमानले उतै वीरगति प्राप्त गरे । कहिल्यै नफर्किने भए ।

वियोगलाई सम्हाल्दै बत्तिस्नीले छोरो हुर्काइन् । थोरै नै सही, लोग्नेको पेन्सन महिनैपिच्छे आउँथ्यो । छोरो हुर्काउन सहजै भयो ।

छोरो लाठे भयो । अस्ति भर्खरै भर्ती भएर पल्टन गयो । बत्तिस्नीले छोरोलाई भर्ती नजान धेरै भनिन् तर छोरोले मानेन । बरु बाबाको रगत पोखिएको माटो र बाबाले फेरेको अन्तिम सास मिसिएको हावालाई छोएरै छाड्छु पो भन्यो । जिद्दी गर्‍यो । भर्ती भयो र गयो ।

गाउँघर न पर्‍यो, खान-लाउन धौधौ त परिहाल्थ्यो । बत्तिस्नीको भने महिनावारी लोग्नेको पेन्सन आउँथ्यो, उनको घरमा खासै अभाव हुँदैनथ्यो । गाउँमा खर्च गर्ने ठाउँ पनि त हुन्थेन ।

बत्तिस्नी मनकारी थिइन् । गाउँमा सबैको आड-भरोसा र प्यारो घर त्यही सिरान घर थियो ।

पेन्सन थापेर आउँदा बत्तिस्नी एक झोला मिठाइ ल्याउँथिन् । गाउँका सबै केटाकेटीहरुलाई बाँड्थिन् । उनको घरमा केटाकेटीदेखि बूढापाकाहरु सबै झुम्मिन्थे । कहिल्यै बजार नदेखेका केटाकेटीहरुलाई सित्तैको बजार बत्तिस्नीले घरमै ल्याइदिन्थिन् । गाउँलेहरु उनलाई सम्मान गर्थे । उनको खेतीपातीमा पालैपालो सघाउँथे । उनलाई सघाउन सबै गाउँलेहरु उत्साहित हुन्थे । चाहेको बेला पैसाको सरसापट उनैबाट चल्थ्यो । कतिले फर्काउँथे, कतिले फर्काउन सक्दैनथे । बत्तिस्नीले कहिल्यै फिर्ता मागिनन् । उनी गाउँभरिकै सहारा  थिइन् ।

आज उनै बत्तिस्नीले सदाका लागि आँखा चिम्लेकी थिइन् । उनलाई कुनै बिराम लागेको कसैलाई थाहा थिएन । हिजो मात्रै गाउँका मान्छेहरुसँग मज्जैले कुराकानी गरेकी थिइन् । आज अप्रत्यासितको घटनाले गाउँलेहरु मर्माहित भएका थिए । अपसोच मानिरहेका थिए । सबैले आफूलाई टुहुरा महशुस गरिरहेका थिए ।

‘जे हुनु भइहाल्यो । अब हामीले रोइकराइ गरेर बत्तिस्नी काकी फर्किने होइनन् । छोरालाई पर्खिंदा ढिलो हुन्छ । अब काकीलाई जङ्गल लाने तयारी गर्नुपर्छ ।’ चामेपा अलि पाका थिए, उनले भने ।

‘हो हो ।’ अरुले पनि सही थपे ।

‘भुइँदल, तिमी तुरुन्तै मास्टरकहाँ तार लेखिमाग्न जाऊ । उता भाइलाई पल्टनमा पठाइहाल्नुपर्छ ।’ चामेपाले भने ।

‘हस बडाउ ।’ भुइँदल हिंडिहाल्यो ।

तब-

कसैले बाँस काटे । कसैले चाहिने सामानहरु तयार गरे । महिलाहरुले बत्तिस्नीको कपडा र अरु सामानहरु भेला पारे । आरावाल माइलाको घरबाट पटै र बाकलहरु ल्याइयो । काम चलाउको बाकस बनाइयो । हरियो बाँसलाई चोयाले कसेर त्यसमाथि बाकस राखियो । भित्रबाट बत्तिस्नीको मृत शरीर ल्याइयो र बाकसभित्र राखियो ।

‘मेरो धर्म हो । म काँधीकाठ लाउँछु ।’ चामेपाले भने ।

‘बूढामान्छेलाई गाह्रो हुन्छ । हामी सप्पैको आमा हो । म लाउँछु काँधीकाठ ।’ अधबैंसे थिए दलजीत । उनले शिरपट्टबिाट काँधीकाठ लगाइहाले ।

अरुहरुले साथ दिए । एकोहोरो शंख बज्न थाल्यो । रुवाबासीको कोलाहल चल्न थालिहाल्यो । मलामीहरुले बत्तिस्नीको लाश बोकेर जङ्गलतिर लागे ।

… … …

आँगनको डिलभरि गोलो-गोलो पात भएको, नीलो घेराभित्र सेतो र पहेँलो टाटेपाङ्ग्रे, ठ्याक्कै पुतलीजस्तै देखिने फूलहरु ढकमक्कै फुलेका थिए ।

यो फूलको फुल्ने सिजन थियो । गाँवैभरि सबैको फूलबारी र आँगनको डिलमाथि यही फूल फुलिरहेका थिए । तर, आजसम्म यो फूलको नाम कसैलाई थाहा थिएन ।

रुवाबासी कम भएपछि महिलाहरुले फूलतिर मायालु पाराले हेरे । यो फूल उनै बत्तिस्नीले पल्टनबाट आउँदा बीउ ल्याएकी थिइन् । उनैले गाउँभरि बाँडेकी थिइन् ।

‘होङ्कोङको एउटा पार्कमा घुम्दै जाँदा सारै मन परो । एक थुँगा टिपेर ल्याको हुँ ।’ बत्तिस्नी यसै भनेर सुनाउथिन् । उनी थप्थिन्, ‘नाम त त्यहाँको बोर्डमा लेखेको थ्यो । अङ्ग्रेजीमा थ्यो, पढ्न जानेको भा पो ।’

‘यो फूल बत्तिस्नी डेमाले हामी सबैलाई उपहार दिइन् । उनको चिहानवरिपरि रोपेर अब हामीले उपहार दिऊँ ।’ भाव-विहृवल हुँदै सन्तेमा काकीले सबैलाई भनिन् ।

फुल्नै लागेका, लटरम्म कोपिला भएका बोटहरु फूल उखेलेर मलामीहरु गएको बाटोतिरै सन्तेमा काकीहरु गए । उनीहरुले बत्तिस्नीको चिहानवरिपरि यही फूल रोपिदिए ।

अघिसम्म सिमसिम गरिरहेको थियो, एक्कासि दर्के पानी पर्‍यो ।

‘भगवानले चोख्याएको होला । आफ्नो तारा बनाउनलाई ।’ सन्तेमा काकीले भनिन् ।

‘यसरी न/mनू न बज्यै ।’ दिलशोभा फेरि रोइन् ।

भर्खरै रोपेको फूल झरीले बगाउला भनेर सबैले हतारहतार स्याउला काटेर ओत बनाइदिए ।

सिजनैपिच्छे यो फूल बत्तिस्नीको चिहान वरिपरि रोपिदिने सल्लाह गरेर सबैजना रित्तो मन लिएर फर्किए । आजसम्म बेनाम फुलिरहेको थियो । त्यही पल्टने फूल, अब भयो- लाहुरेनी फूल ।

अहिलेको कथा

तीन हप्ताको छुट्टी कति चाँडै बितेछ । अघिल्लो रात यस्तो लाग्यो- म नेपाल आएपछि पहिलो पटक रात परेको हो । तीन हप्ता त एकै दिनमा बितेको हो ।

‘इन्टरनेट’मा झुण्डिरहने म सामाजिक सञ्जाल फेसबुकतिर धेरैजसो ‘अपडेट’ भइरहन्छु । यसपालि भने यस्तरी व्यस्त भएँ कि यो तीन हप्ता फेसबुक हेर्ने, पोस्टहरु अपडेट गर्ने मौका नै मिलेन । त्यसमाथि ‘वाइफाइ’ नभएको ठाउँ, सिमकार्डको डाटाबाट नेट चलाउनु सारै महँगो । नेट चलाउने जाँगरै चलेन ।

घर-परिवार, आफन्त साथीभाइ अनि देश छोडेर भोलि फेरि जाँदै छु भन्ने कुराले मुटु चसक्क भइरहेको थियो । रात निकै छिप्पिँदा पनि आँखामा निंद्राले बास गर्न मानेकै थिएन । मोबाइल हातमा लिएर छुट्टीभरि खिचेका फोटाहरुको ग्यालरी हेरिसकें । ‘डाटा’को पो याद आयो । भोलिबाट त सिमकार्डमा भएको पैसा काम लाग्दैनथ्यो । मैले ‘नेट अन’ गरें । फेसबुक ‘लग आउट’ थियो, पहिले म्यासेन्जर खोलें ।

ओहो Û यो तीन हप्तामा म्यासेजहरु यस्तरी जाम भएर बसेका रहेछन् कि खुल्नासाथ टिङटिङ टुङटुङ गर्दै आकाआकै गर्न थाले । मानौं, खोरमा भोकै थुनेर रोखेका भेडाबाख्राहरु ढोका खुल्नासाथ तछाडमछाड गर्दै निस्किरहेका छन् । छेवैमा श्रीमान्जी मस्त निदाइरहेका थिए । ‘डिस्टर्ब’ होला कि भनेर हतारै मोबाइललाई ‘साइलेन्ट मोड’मा राखें । अब पालैपालो म्यासेजहरु ‘ओपन’ गर्दै हेर्न थालें ।

धेरै साथीहरुले ‘नेपाल आएर पनि नभेटेको’ गुनासो गरेका थिए । कसैले ‘भेट्नुपर्छ’ भनेर फोन नम्बर मागेका थिए । अधिकांश म्यासेजहरुमा भने ‘हाइ । हेलो । आजकल कता हराउनुभयो ? फेसबुकमा केही अपडेट छैन नि ?’ भन्ने सोधाइहरु नै थिए ।

‘तपाईं फर्किनुअघि म तपाईंसँग भेटेर कुरा गर्न चाहान्छु । मेरो म्यासेजलाई इग्नोर गर्नुभयो भने पछुताउनुहुनेछ ।’ -यो म्यासेजले भने मलाई केहीबेर घोरिन बाध्य बनायो । ‘फेक आइडी’ ठानेर इग्नोर गर्न खोज्दाखोज्दै ‘पछुताउनुहुनेछ’ भन्ने कुराले मन अस्थिर बनाइहाल्यो ।

सबै मान्छेहरु जीवनमा केही कुराको पछुतो गर्न नपरोस् भनेर सधैं होसियारीका साथ काम गर्ने कोशिश गरिरहेका हुन्छन् । म एक सामान्य मान्छे, यो कुराबाट कसरी अछुतो रहन सक्थें र ?

‘प्रोफाइल पिक्चर’मा नीलो घेराको बीच सेतो र पहेँलो टाटेपाङ्ग्रे पुतलीजस्तै देखिने फूलको चित्र थियो । अरु पोस्टहरुमा मान्छेको फोटो छ कि भनेर हतारहतार उसको प्रोफाइल खोलें । अहँ ! त्यहाँ कुनै फोटाहरु थिएनन् । प्रस्टै थाहा हुन्थ्यो कि यो ‘आइडी’ भर्खरै बनाइएको हो । हुनसक्छ- मलाई म्यासेज गर्ने प्रयोजनको लागि मात्र ।

म्यासेजको ‘रिप्लाइ’ गरुँ नगरुँको दोधारमा म निकैबेर अल्मलिएँ । उही ‘पछुताउनुहुनेछ’ भन्ने शब्दले दिमागमा ड्याङड्याङ ठोक्न थाल्यो । पछुतो नै हुनुभन्दा कुरा के हो ? एकपटक सोध्दैमा के नै जान्छ र भन्ने सोचेर रिप्लाइ दिएँ- ‘नमस्ते ! तपाईंं को होला ? के म चिन्न सक्छु ?’

‘अनलाइन’मा उसलाई हरियो बत्तीमा देखाएको थिएन तर अनलाइन नै रहेछ । तुरुन्तै जवाफ आयो- ‘लाहुरेनी फूल ।’

(उपन्यास लाहुरेनी फूल आइतबार दिउँसो मण्डला थिएटरबाट सार्वजनिक हुँदैछ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment