Comments Add Comment

भयौलीकुण्डलाई पर्यटकीय केन्द्र बनाइँदै

१४ पुस, सिन्धुपाल्चोक । वरिपरी हिमालको मनोरम दृष्य, घना जंगल, जताततै चौरीको बथान, अनि चिसो मौसममा पनि बिहानै लाग्ने तातो घामको स्र्पशले कसको मन नलोभ्याउँला । बाह्रविसे नगरपालिका वडा नम्बर-५ गातीमा रहेको भयौलीकुण्डमा पुग्दा धेरैको मन लोभिन्छ ।

निर्माणधीन मध्यभोटेकोशी जलविद्युत आयोजनाको पावरहाउस जम्बु नजिकैबाट केहीबेरमा यहाँ पुग्न सकिन्छ । नगरपालिकाको एउटा विकट क्षेत्र भए पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले नगरपालिकाले भौतिक पूर्वाधार निर्माण लगायतका काम पनि गरिरहेको छ ।

जिल्लाको उच्च क्षेत्रमा रहेका ताल र कुण्डहरु मध्ये भयौलीकुण्ढ पनि एक हो । १० रोपनी क्षेत्रफलमा निर्माण हँुदै गरेको आनी गुम्बा यहाँको अर्काे आर्कषक हो ।

तर, प्रचार प्रसारको अभावले ओझेलमा परेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए । नगरपालिकाले  खाली जग्गामा स्याउ खेतीका लागि माटो परीक्षण र सर्वेक्षण थालेको छ ।

‘केही वर्षमा अध्ययन गर्न आउनेहरुका लागि एउटा पाठाशाल नै हुने गरी काम गरिरहेका छौं’ बाह्रबिसेका मेयर शेर्पाले भने, ‘शैक्षिक, धार्मिक, कृषि र पर्यटकहरुका लागि यहाँबाट एउटा महत्वपूर्ण ज्ञान मिल्नेछ ।’

भयौलीकुण्डको संरक्षण सुरु

धार्मिक र पर्यटकीय हिसाबले प्रख्यात भयौलीकुण्डको संरक्षण गर्न सुरु गरिएको छ । यहाँ हरेक वर्ष जनैपूणिर्मामा लाग्ने मेलमा दर्शन गर्नका सयौं भक्तजन आउने गर्दछन् । हिन्दु धर्मलम्बीहरुका लागि मात्रै होइन, यस क्षेत्रमा रहेका गुम्बा र आनीहरुको गुम्बा पनि रहेकाले बौद्ध धर्मलम्बीहरुका लागि पनि यो स्थान प्रख्यात रहेको स्थानीयले बताए ।

तर, २०७२ को भुकम्पबाट भयौलीकुण्डमा पनि असर परेपछि अहिले संरक्षण प्रयास सुरु भएको हो । प्राकृतिक स्वरप नबिग्राने तर केही आधुनिकता पनि झल्कने गरी भयौलीकुण्ड संरक्षणका लागि लागि रहेका छौं,’ मेयर शेर्पाले भने ।


प्राकृतिक कुण्डको पानी भूकम्पले अन्यत्र गएपछि ढुङगा बिच्छ्यार वरिपरी रेलिङ हाल्न थालिएको छ । ढुङगा विच्छ्याएपछि माथिबाट हेर्दा प्राकृतिक जस्तौ हरियो देखिने नगरपालिकाका इन्जिनियर सुरेन्द्र नेपालले जानकारी दिए । भक्तजनहरु मात्रै होइन जंगलका जिव जनवारहरु समेत पोखरीमा नपरुनु भनेर अग्ला रेलिङ हालिने नेपालले बताए ।

कुण्ड अवलोकन र अन्य धार्मिक पर्वहरुमा आउने तिर्थालुहरुका लागि बस्नका लागि सहज होस भनेर कुण्ड आसपासमा बस्ने, खाने स्थान साथै शौचालय लगायत अन्य पूर्वाधारहरु पनि यहाँ निर्माण सुरु गरिएको बाह्रविसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फइन्द्र पौडेलले जानकारी दिए ।

उच्च स्थानमा विशाल खेल मैदान

भयौलीकुण्डको प्रचार प्रसार गर्नै उद्देश्यले कुण्ड नजिकै विशाल खेल मैदान निर्माण कार्य भइरहेको छ ।

१ सय ५० मिटर बढी लम्बाई र ९० मिटर बढी चौढाइको खेल मैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी दिएको छ । जिल्लाको मात्रै नभएर यो सम्भवना नेपालकै उच्च स्थानमा रहेका खेल मैदानहरु मध्ये भयौलीकुण्डमा निर्माण भइरहेको खेल मैदान पनि पर्नै बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले दाबी गरे ।

फुटबल, भलिबल लगायतका खेल सञ्चालन गरेर प्रचार-प्रसार गरिने मेयर शेर्पाले बताए । पर्यटकलाई लक्षित गरेर होम स्टे, पार्किङ लगायतका संरचनाहरु निर्माणका लागि पनि नगरपालिकाले सुरु गरेको छ ।

चौरी र याक संरक्षण क्षेत्र

भयौलीकुण्ड आसपासमा बसोबास गर्ने स्थानीयले चौरी र याक पाल्ने गरेका छन्, यसका संरक्षणका लागि नगरपालिकाले विशेष योजना बनाएको छ । यहाँको पर्यटकीय स्थलको अवलोकणका लागि आउने आन्तरिक एवम बाह्य पर्यटकहरुका लागि चौरी र याक हेर्ने र चौरीको दुधबाट पाइने परिकारहरु पनि बिक्री वितरणका लागि व्यवस्थीत बनाएर गर्ने योजना नगरपालिकाको रहेको मेयर शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment