Comments Add Comment

आज तमु ल्होसारः टुँडिखेलमा विशेष कार्यक्रम, गण्डकी प्रदेशमा सार्वजनिक विदा

१५ पुस, काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै छ । मध्याह्न १२ बजे टुँडिखेलमा विशेष कार्यक्रम सुरु हुनु अगाडि बसन्तपुर क्षेत्रबाट झाँकीसहित र्‍याली निकालिने समाजले जनाएको छ ।

तमु अर्थात गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा आज सार्वजनिक विदासमेत दिइएको छ ।

तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरालगायतले शुभकामना वक्तव्य दिएका छन् ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । त्यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment