Comments Add Comment

आजका पत्रपत्रिकाः काठेपुल तर्न १५ रुपैयाँ, पीएम सल्लाहकारको दबावमा हुवावेलाई ठेक्का

१५ पुस, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले मेयर जेलबाट छुट्दा सार्वजनिक बिदा दिइएकोदेखि  काठेपुल तर्न १५ रुपैयाँ तिर्नुपर्नेसम्मका खबरलाई प्राथमिकताका साथ छापेका छन् । त्यस्तै, सशस्त्र प्रहरीको गाडी दुरुपयोग र उपनिर्वाचनमा भइरहेको बिलम्बबारे पनि आजका पत्रिकाहरुले चासो राखेका छन् ।  केही दिनदेखि चर्चामा रहेको बिजुलीबसबारेका सामग्री पनि आज प्रकाशित छन् ।

नयाँ पत्रिका दैनिकले आज पृथक विषयलाई मुख्य समाचारको रुप दिएर छापेको छ । ‘काठेपुल तर्न जनतालाई १५ रुपैयाँको टिकट’ शीर्षक दिएर नयाँ पत्रिकाले काठेपुल तर्दासमेत शुल्क तिर्नुपर्ने गाउँपालिकाको अनौठो नियमबारे समाचार लेखेको छ । नयाँ पत्रिकाका अनुसार, कैलालीको कैलारी गाउँपालिकाले पुललाई यसरी आम्दानीको स्रोत बनाएको हो । यहाँका स्थानीय जनताले प्रत्येकपटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ

नयाँ पत्रिका लेख्छ– पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ ।

सशस्त्रका एआईजीसँग आठ र अनुसन्धानका प्रमुखले पाँच गाडी प्रयोग गर्ने गरेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । समाचार अनुसार सशस्त्र प्रहरीका एआईजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएका छन् । उनका श्रीमती र छोरीले समेत सरकारी गाडी नै प्रयोग गर्ने गरेको नयाँ पत्रिकाको समाचारमा लेखिएको छ ।

जेलबाट छुटेका रौतहट कटहरिया नगरपालिकाका मेयर हेलिकोप्टर चढेर उत्रिएको तस्वीर छापेको कान्तिपुरले भारतबाट उड्न नेपालीलाई झमेला भएको लेखेको छ । समाचार अनुसार, भारतबाट तेस्रो मुलुक उड्ने नेपालीहरुलाई विमानस्थलबाटै फर्काउने क्रम बढेको छ । जसको मारमा अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीसमेत पर्ने गरेका छन् ।

कान्तिपुर लेख्छ– भारतका विमानस्थलबाट तेस्रो देश उड्दा काठमाडौंबाट भन्दा निकै सस्तो पर्छ । तर एनओसीको झन्झटकै कारण अन्तिम समयमा थुप्रै नेपाली उड्नबाट वञ्चित भएका छन् ।

त्यस्तै चिनियाँ भनिएका बिजुली बस भारतीय भएको खुलासा पनि आजको कान्तिपुरले गरेको छ। समाचार अनुसार, पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिको अध्ययनका क्रममा बसका पाटपुर्जा भारतमा बनेको पाइएको छ ।

‘गाउँभरिका घर हरिया’ शीर्षक दिएर कान्तिपुरले एंकर समाचार लेखेको छ । समाचार अनुसार, रुकुम पूर्वको भूमे गाउँपालिकाका घरमा हरियो रङ पोतिएको छ । ग्रिन भूमे, क्लिन भूमे नीति अनुरुप गाउँका घरहरुमा हरियो रङ पोतिएको हो । समाचार अनुसार गाउँका ३ हजार ८ सय ३५ घरमध्ये २५ प्रतिशत घर हरिया बनिसकेका छन् ।

अन्नपूर्णले स्थानीय तहको बढ्दो स्वेच्छाचारितामाथि समाचार लेखेको छ ।  सवारी साधन तथा इन्धन दुरुपयोग र मेयर जेलबाट छुट्दा दिइएको सार्वजनिक बिदालाई उसले समाचारको विषयवस्तु बनाएको छ ।

नेकपामा प्रचण्ड हाबी भएको विश्लेषण पनि अन्नपूर्णमा पढ्न सकिन्छ ।  प्रचण्डले सन्तुलित मन्तव्य दिएर सबैको मन जित्दा ओली रक्षात्मक देखिएको ठम्याइ अन्नपूर्णको छ ।

राजधानीले उपनिर्वाचनप्रति सरकार उदासीन बनेको, चिसोसँगै राजधानीका अस्पतालमा बिरामी बढेकोलगायत खबरलाई प्राथमिकतापूर्वक पहिलो पृष्ठमा छापेको छ ।

नागरिकमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकालको समीक्षा छापिएको छ । नागरिकका अनुसार, उनको कार्यकालमा केही विवादास्पद फैसला भएका छन् ।

प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र अवैतनिक सूचना प्रविधि सल्लाहकारको दबावमा हुवावेलाई ठेक्का दिइएको दाबी पनि नागरिकले गरेको छ । समाचार अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुमको भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का बिनाप्रतिस्पर्धा हुवावेलाई दिइएको छ ।

स्रोतको हवाला दिँदै नागरिक लेखेको छ– हुवावेको बिचौलिया कम्पनी चाइना कम सर्भिसेस (सीसीएस) ले ५ करोड ४२ लाखमा भिडिओ कन्फेरेन्सिङ सिस्टम निर्माण ठेक्का पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment