Comments Add Comment

मन्त्रीज्यू, बक्स अफिसबाट कति ‘कलेक्सन’ भयो ?

१५ पुस, काठमाडौं । आर्थिक वर्ष ०७४/०७५ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण पढ्दै गर्दा धेरै चलचित्रकर्मीको कान बक्स अफिसको विषयमा सरकारले के बोल्छ भन्ने कुरामा केन्द्रित थियो । सरकारले बक्स अफिस लागू गर्ने उल्लेख गरेपछि विशेषगरी चलचित्र निर्माताहरु खुशी भएका थिए । सरकारले देशैभरका फिल्म हलमा बक्स अफिस जडान गर्ने उल्लेख गर्‍यो ।

अहिले काठमाण्डौका हलहरुमा ‘बक्स अफिस’ लागु भइसकेको छ । अर्को महिनादेखि काठमाडौं बाहिरका हलमा पनि ‘बक्स अफिस’ लागु गर्ने सरकारको तयारी छ ।

तर, काठमाडौंमा साउन १ गतेबाट लागु भएको बक्स अफिस अहिले चलचित्र निर्माताका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ बनेजस्तो हुन थालेको छ । नयाँ सिस्टम लागु हुने तर त्यसको बलियो अनुगमन नहुँदा नेपाली चलचित्र क्षेत्र र सरकारसमेतले बक्स अफिसबाट सोचेको प्रतिफल पाउन सकेको देखिँदैन ।

के हो बक्स अफिस ?

गत साउन १ गतेबाट चलचित्र हलहरुमा सरकारले लागू गरेको बक्स अफिस टिकेटिङ प्रणाली इ–टिकेटिङसँगै डाटा सेन्टर सर्भिस पनि हो । नेपालका चलचित्र हलहरुमा बक्स अफिसको प्रचलन भर्खरैबाट सुरु भए पनि हलिउड बलिउडमा लामो समयदेखि यो प्रणाली लागू भइरहेको छ ।

ई–टिकेटिङ मार्फत टिकट विक्री गर्दै आएका सम्पूर्ण हलको व्यापारको रिपोर्ट अब एउटा बक्स (सर्भर) मा केन्द्रित हुन्छ । यसबाट हरेक हलमा बिक्री हुने टिकटको संख्या निर्माताहरुले अनलाइनमार्फत सोही समयमा थाहा पाउन सक्छन् ।

अर्को भाषामा भन्नुपर्दा बक्स अफिस भनेको टिकट काट्ने काउन्टर हो । कुनै पनि दर्शकले हलमा पुगेर जब कुनै चलचित्रका लागि टिकट काट्छ, त्यही स्थानलाई बक्स अफिस भनिन्छ । तर, यसमा केही प्राविधिक पक्ष पनि जोडिएका हुन्छन् । हलमा २ प्रकारले टिकट बिक्री हुन्छ । एउटा म्यानुअल र अर्को डिजिटल । बक्स अफिस सर्भरका लागि ईटिकेटिङ अनिवार्य चाहिन्छ ।

यो प्रणाली अनुसार आफ्नो फिल्मको व्यापार हेर्न निर्माताले बक्स अफिस लग इन गर्नुपर्नेछ । यसमा प्रवेश गरेपछि आफूलाई प्राप्त युजर नेम र पासवोर्ड हालेर आफ्नो चलचित्रको व्यापार हेर्न सकिन्छ । बक्स अफिस लागू भएपछि अब विगतमा जसरी चुरोटको बट्टामा व्यापारको विवरण लेखेर हलवालाले निर्मातालाई बुझाउने परिपाटी अन्त्य हुने र चलचित्रको व्यापार पारदर्शी हुने विश्वास सरकारले लिएको थियो ।
यो पनि पढ्नुहोस बक्स अफिसको फाइदा : सिनेमा हलमा ढाँट्ने दिन गए

बक्स अफिसमार्फत पाइने व्यापारको आँकडा निर्माता, प्रदर्शक, हल सञ्चालक र राज्यले हेर्न सक्छन् । निर्माताले चाहेको खण्डमा अन्य व्यक्तिलाई अधिकार दिन सक्नेछन् । यसका लागि निर्माताले चलचित्र सेन्सर भएको प्रमाणपत्र, आफ्नो चलचित्रको रिलिज डेट, बितरकको नाम सहितको विवरण चलचित्र विकास बोर्डलाई बुझाउनुपर्नेछ । यस आधारमा सरकारले कर उठाउन पाउँछ ।

निर्माताले हिसाब नै पाएनन्

चलचित्र निर्माता संघले गत बुधबार आफ्नो कार्यप्रगति सुनाउन आयोजना गरेको कार्यक्रममा चलचित्रका निर्माताहरुले बक्स अफिसको बिषयमा खुलेरै बोले । चलचित्र ‘चङ्गाचेट’का निर्माता माधव वाग्लेले भने–‘मैले कुनै पनि दिनको बक्स अफिस हिसाब मेरो मोबाइलमा पाइनँ । मलाई वितरकले जती हिसाब दिए, त्यती नै पाएको छु । मलाई बक्स अफिसको कलेक्शन आएन ।’

माधव वाग्लेले यसो भनिरहँदा चलचित्र ‘छक्का पन्जा ३’का निर्माता दिपकराज गिरीले पनि बक्स अफिसबाट आफूलाई दैनिक हिसाबको डाटा नआएको बताएका छन् । काठमाण्डौका हलमा बक्स अफिस लागू भएको ६ महिना भैसक्दा पनि निर्माताले अहिलेसम्म सही रिपोर्ट त परकै कुरा, रिपोर्टको अपडेट समेत पाएका छैनन् ।

निर्मातासँग रिपोर्ट माग्दै विकास बोर्ड

रोचक कुरा त के छ भने काठमाण्डौका हलमा बक्स अफिस लागू गरेको चलचित्र विकास बोर्डले निर्मातासँगै उनीहरुको चलचित्रको ‘कलेक्सन’ उपलब्ध गराउन पत्राचार गरिरहेको छ । निर्माता वाग्लेले भने– ‘हो, विकास बोर्डले ‘चंगाचेट’को काठमाण्डौको ‘कलेक्शन’ कति हो, उपलब्ध गराइदिनुहोस् भनेर मलाई पत्र काटेको छ । बक्स अफिस लागू गर्ने निकाय बोर्डले हामीलाई हिसाब उपलब्ध गराउने हो कि, उल्टै हामीसँग नै हिसाबको डाटा माग्ने हो ।’

बोर्डले चलचित्र ‘प्रसाद’का निर्मातालाई पनि ‘कलेक्सन’ उपलब्ध गराइदिन भन्दै पत्र काटेको वुझिएको छ । अहिले सबै निर्मातासँग बोर्डले यस्तै पत्र काटेर हिसाब मागिरहेको छ । तर, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले भने बक्स अफिस डाटामा कलेक्सन भएको हिसाब र निर्माताले पाएको हिसाब नमिलेको भन्ने कुरा आएपछि क्रस चेकका लागि कलेक्शन उपलब्ध गराइदिन पत्र काटेको बताए । उनले भने–‘बक्स अफिस हाम्रा लागि नयाँ कुरा हो । यसैले सबै कुरा मिलाउन समय लाग्छ । हामी अहिले तदारुकताका साथ यो काममा लागिरहेका छौ ।’

काठमाडौं बाहिर कहिले ?

चलचित्र विकास बोर्डले काठमाण्डौमा साउन १ गतेबाट बक्स अफिस लागू गरेतापनि काठमाण्डौ बाहिर भने माघ १ गतेबाट सर्भर जडान गरेर काम सुरु गरिसक्ने बताएको थियो । तर, अहिले बोर्ड यो काममा सुस्ताएको छ । माघ १ गते आउन केही दिन मात्र बाँकी रहँदा काठमाण्डौ बाहिरको प्रगति विवरण शुन्य छ ।

वुझिएअनुसार, चलचित्र विकास बोर्डमा २ सदस्य केही महिनादेखि रिक्त भएकाले काम गर्न नसकिएको हो । बोर्ड सदस्य महर्जनले भने–‘हामीले काठमाण्डौका हलमा सफ्टवेयर मात्र उपलब्ध गराएका थियौं । अब, सरकारले काठमाण्डौ बाहिरका हलमा हार्डवेयर पनि उपलब्ध गराउने भएको छ । यसैका लागि टेन्डर आह्वान गरिएको छ । चैत्र १ गतेबाट काठमाण्डौ बाहिरका सबै हलमा बक्स अफिस लाग्छ । यसका लागि अहिले म काठमाण्डौ बाहिरका हलमा कुदिरहेको छु ।’

उनले बोर्डमा सदस्यहरु रिक्त भएकाले पनि बक्स अफिसको काम केही सुस्ताएको स्विकार गरे । बोर्डमा चलचित्रकर्मीद्धय नरेन्द्र महर्जन र दयाराम दाहाल नियुक्त भएर आएसँगै अब यो कामले गती लिएको छ । महर्जन काठमाण्डौ बाहिरका हलमा बक्स अफिस सर्भर जडान गर्न लागेका छन् भने दाहाल बक्स अफिस लागू भैसकेका काठमाण्डौका हलमा अनुगमन गरिरहेका छन् ।

निर्माताले समयमै पैसा पाएनन्

केही महिना अगाडि चलचित्र निर्माता संघ र चलचित्र संघविच एउटा सहमती भएको थियो । सहमती अनुसार, सिंगल हलबाट चलचित्र उत्रिएको २ साता भित्रमा निर्माताले आफ्नो शेयर पाइसक्ने, मल्टिप्लेक्स हलमा चलचित्र रिलिज भएको हरेक साताको २ दिनपछि निर्माताले शेयर पाइसक्ने उल्लेख छ ।

तर, यो सहमती पनि कार्यान्वयन हुन सकेको छैन । चलचित्र ‘छक्का पन्जा ३’ का निर्माताले आफूहरुले अहिलेसम्म पैसा पुरा नपाएको बताए । निर्माता गिरीका अनुसार, केही हलबाट रकम आएको छ भने धेरै हलबाट आउन बाँकी नै छ । उनले आधा पैसा पनि नउठेको जानकारी दिएका छन् । यस्तो, पीडा दीपकको मात्र होइन, सबै निर्माताको छ । यसैले, निर्माता संघ र हलवालाहरुको छाता संगठन चलचित्र संघविच भएको सहमती पनि बलियोसँग कार्यान्वयन हुन सकेको छैन ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र रिलिज अगाडि यो बिषयमा पनि कागजमा हस्ताक्षर गरेका निर्माताले समयमै पैसा नपाएको खण्डमा निर्माता संघमा उजुरी दिन सक्ने बताए । सहमती अनुसार कागज गरेर चलचित्र रिलिज भएको खण्डमा निर्माता संघले सुनुवाई गर्ने उनले सुनाए ।

खुट्टा कपाउँदै निर्माता

देशभरकै हलमा बक्स अफिस लागू भएपछि अहिले निर्माताहरु पनि खुट्टा कपाउन थालेका छन् । चलचित्रले पैसा कमाउँदा चर्को कर तिनुपर्ने भएपछि उनीहरु बक्स अफिस लागू भएर घाटा लागेको बताउन थालेका छन् ।

अहिले निर्माताहरुको कुराकानीमा बक्स अफिसले निर्माताहरु झनै मर्कामा पर्ने पीडा पोखिन थालेको छ । काठमाण्डौ बाहिर अझै पनि चुरोटको खोलमा हिसाब आउने क्रम रोकिएको छैन । काठमाण्डौ भित्र पनि बक्स अफिस रिपोर्ट र निर्मातालाई वितरकले दिने रिपोर्टमा ठूलै अन्तर देखिएको छ ।

यसैले अहिले बक्स अफिसको हौवा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ बन्ने बाटोतर्फ उन्मुख छ । यो कुरालाई चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ र चलचित्र संघले कडाइका साथ हेरेनन् भने सरकारी तबरबाटै लागू भएको बक्स अफिसको अस्तित्व पनि एउटा सर्भर भित्र खुम्चने निश्चित छ ।

सञ्चार मन्त्रायल भन्छ– अर्थमन्त्रीले हेरुन्

यसैवीच काठमाडौंका चलचित्र हलमा जडित बक्स अफिसको सर्भरलाई कर प्रणालीमा जोड्ने र राजस्व संकलन गर्ने जिम्मेवारी अव अर्थमन्त्रालयको रहेको सञ्चारका अधिकारीहरु बताउँछन् ।

‘हामीले चलचित्र हलको आम्दानीलाई पारदर्शी बनाउन काठमाडौंमा सर्भर सिस्टम बनाइदिएका छौं, अब माघदेखि काठमाडौं बाहिरका हलहरुमा पनि लागू हुँदैछ,’ सञ्चार मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘अब यसबाट राजस्व संकलन गर्ने र सिनेमालाई करको दायरमा ल्याउने काम त अर्थ मन्त्रालयको हो, यसमा अब अर्थमन्त्रीले हेरुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment