Comments Add Comment

विश्वविजेता महेश्वर महर्जनलाई प्रचण्डले दिए सहयोगको वचन

१५ पुस, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन् । साथै प्रचण्डले शारीरिक सुगठन लगायतका खेलहरुमा सरकार र पार्टीको तर्फबाट सहयोग गर्ने वचन समेत दिएका छन् ।

थाइल्याण्डमा आयोजित प्रतियोगितामा स्वर्ण पदक विजेता महर्जन आइतबार प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट्न गएका थिए । सोही अवसरमा प्रचण्डले शारीरिक सुगठनमार्फत नेपालको नाम विश्वस्तरमा चिनाएको भन्दै बधाई दिएका हुन् ।

‘तपाईंले उत्कृष्ट कौशल देखाउनु भयो । यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाईंको प्रस्तुतीले नेपाली पनि अवसर पाएमा कम छैनन् भन्ने स्पष्ट पारेको छ ।’

आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको दाबी गर्दै प्रचण्डले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने बताए । पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने प्रतिवद्धतासमेत प्रचण्डले जनाएको उनको सचिवालयले जनाएको छ ।

भेटमा महर्जनले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जिते पनि यस क्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिनुपर्ने बताएका थिए । उनले आगामी मिस्टर युनिभर्स प्रतियोगितामा समेत सहभागी हुने इच्छा रहेको बताउँदै सहयोगको अपेक्षा गरेकोसमेत बताए ।

अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment