Comments Add Comment

श्रीलंकामाथि न्युजिल्यान्डको कीर्तिमानी जित

१५ पुस, काठमाडौं । घरेलु टोली न्यूजिल्यान्डले श्रीलंकासँगको दुई खेलको टेष्ट क्रिकेट सिरिज जितेको छ ।

आइतबार भएको अन्तिम दिनको खेलमा श्रीलंकालाई २३६ रनमै अलआउट गरेपछि न्यूजील्यान्डले ऐतिहासिक सफलता हात पारेको हो । ६६० रनको विशाल चुनौती पछ्याउँदै आफ्नो दोस्रो इनिङ थालेको श्रीलंकाले ठूलो योगफल तयार पार्न नसकेपछि न्यूजिल्यान्डले ४२३ रनको विशाल जित निकालेको हो ।

टेष्ट क्रिकेटमै न्युजिल्यान्डले यति ठूलो अन्तरको जित हात पारेको थिएन । यअघि जिम्बाब्वेलाई २५४ रनले पराजित गरेको नै उसको लागि सबैभन्दा भारी अन्तरको जित थियो ।

ठूलो चुनौती पछ्याउने क्रममा श्रीलंकाका कुनै पनि खेलाडीले उच्च रन बनाउन सकेनन् । कुसल मेन्डिसले ६७ र दिनेश चन्डिमालले ५६ रन बनाएका थिए । श्रीलंकाले आफ्नो पहिलो इनिङमा भने सबै विकेटको क्षतिमा १०४ रन मात्रै बनाएको थियो ।

क्रिष्टचर्चमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा १७८ रन मात्रै बनाउन सकेको थियो । तर आफ्नो दोस्रो इनिङ्समा भने न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेटको क्षतिमा ५८५ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि दुई खेलाडीले शतकीय पारी खेलेका थिए । टोम लाथमले १७६ रन बनाएका थिए । त्यस्तै, हेनरी निकोलसले अविजित १६२ रन बनाएका थिए ।

जितसँगै न्युजिल्यान्डले दुई खेलको टेष्ट शृंखला आफ्नो पक्षमा पारेको हो । यसअघि भएको पहिलो टेष्ट खेलमा भने दुबै टिमले बराबरी खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment