Comments Add Comment

संघ अन्तर्गतका कार्यालयले मानेनन् गण्डकी प्रदेशको बिदा

१५ पुस, पोखरा । गण्डकी प्रदेश सरकारले पुस १५ मा ल्होसारको बिदा दियो । संघीय सरकार अन्तर्गत रहेका रहेका कार्यालय भने खुला नै रहे । गण्डकी प्रदेश सरकारले तमुहरुको चाड ल्होसारका अवसरमा दिएको बिदा संघ अन्तर्गतको कार्यालयले नमानेका हुन् ।

प्रदेश सरकारले शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकबाट निर्णय गरी गण्डकी प्रदेशभरी बिदा घोषणा गरेको थियो ।

प्रदेश अन्तर्गतका सरकारी कार्यालय र विद्यालयले बिदा मनाएका छन् भने संघ अन्तर्गतका कार्यालयहरु खुलै रहे । आइतबार तमु ल्होसार पर्व परेकाले गण्डकी प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बिदा दिन गण्डकी प्रदेश सरकारले आह्वान गरेको थियो ।

संघ अन्तर्गत रहेको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, अन्य सरकारी तथा निजी बैंक तथा वित्तिय संस्था र प्रदेशले गरेको बिदा नलिएका हुन् । ‘हामी कानुनअनुसार चल्ने हो, गृह मन्त्रालयको प्रस्तावमा संघीय सरकारले निर्णय निर्णय गरे बिदा हुन्छ,’ कास्कीका सीडीओ चक्रबहादुर बुढाले भने, ‘संघीय सरकारले गर्ने प्रस्ताबित बिदामा यो बिदा छैन ।’

संघ अन्तर्गत नै रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने प्रदेशको निर्णयलाई स्विकार्दै बिदा दिएको छ । ‘संघीयता र प्रदेश सरकारको भावनालाई बुझेर बिदा दिइयो,’ प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले भने, ‘इमर्जेन्सी सेवाबाहेक अरुमा बिदा दिइएको छ ।’

प्रदेशले घोषणा गरेको बिदा मान भनेर केन्द्र सरकारले निर्णय गरिदिनुपर्ने नत्र बिदा मान्न गाह्रो हुने बुढाको भनाइ थियो ।

प्रदेश सरकारले दिएको यो पहिलो बिदा हो । गएको अन्तर प्रदेश परिषदको बैठकबाट प्रदेशले ६ दिन बिदा दिन पाउने ब्यवस्था लागु गर्ने निर्णय भएको थियो ।

पोखरामा तमुहरुले ल्होसार भने धुमधामले मनाएका छन् । यहाँका गुम्बा र विभिन्न ठाउँमा विशेष कार्यक्रम गरी धुमधामले ल्होसार मनाएका हुन् । आफ्नो भेषभूषामा सजिएर साँस्कृतिक महत्व झल्किने भाँकीसहित तमुहरुले विभिन्न ठाउँमा कार्यक्रम गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment