Comments Add Comment

जलवायु सम्मेलनको तयारी पूरा : ७७ जिल्लाका प्रतिनिधि गुफाडाँडामा

१५ पुस, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ गुफाडाँमा भोलीदेखि सुरु हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको सबै तयारी पूरा भएको छ ।

जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा राष्ट्रिय जलवायु सम्मेलन हुदैछ । सोमबार १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

मेलम्ची बजारबाट साढे ८ किलोमिटर माथि रहेको गुफाडाँडामासम्मेलनको व्यापक चहलपहल सुरु भएको छ । जिल्लाका विभिन्न स्थान र अन्यत्र जिल्लाबाट समेत स्थानीय सम्मेलनस्थल अवलोकनका लागि आउने क्रम बढेको छ ।

सम्मेलनमा सहभागी हुनका लागि ७७ जिल्ला समन्वय समितिका प्रमुखसहित तीन जना प्रतिनिधि मेलम्ची आइपुगेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । ‘प्राय सबै जिल्लाबाट प्रतिनिधिहरु मेलम्ची आइसक्नुभएको छ, केही जिल्लाबाट भोली उद्घाटनको बेलासम्म आउनु हुन्छ’ तामाङले भने ।

सम्मेलनका आएका विभिन्न जिल्लाका प्रतिनिधिलाई मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग हुदै सम्मेलदन स्थलमा ल्याउने तयारी भए पनि मेलम्ची खानेपानी आयोजनामा ठेकेदार प्रकरणले त्यो सम्भव भएन ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुलाई मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलसम्म अवलोकन गराइएको थियो ।

बेहुलीझैं सिँगारियो गुफाडाँडा

सम्मेलनस्थल गुफाडाँडालाई यतिबेला बेहुली झैं सिगारिएको छ । सम्मेलनस्थलसम्म जानका लागि प्राकृतिक सिँढी निर्माण गरिएको छ भने त्यो सिढीमा सबै जिल्लाको नामअंकित राष्ट्रिय झण्डा फहराइएको छ ।

सम्मेलनस्थल नजिकै जलवायु परिर्वतनको असर झल्कने स्ट्याचु निर्माण गरिएको छ र सम्मेलनको मुख्य आर्कषणको केन्द्र बिन्दु यही नै भएको छ । सम्मेलनस्थलमा भव्य सभा हल निर्माण गरिएको छ ।

सिन्धुपाल्चोक घोषणापत्र जारी हुने

स्थानीय तहमा जनप्रतिनिधि आएपछि पहिलो पटक हुन लागेको जलवायु सम्मेलनबाट यसले पारेको असर र प्रभाव लगायतका विषयमा सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै मंगलबार सम्मेलन सकिनेछ ।

सम्मेलनमा जलवायु परिर्वतनको असरको विषयमा स्वदेशी र विदेशी विज्ञहरुले कार्यपत्र पेश गर्नै कार्यक्रम रहेको छ ।

जलवायुको असरलाई कम गर्नका लागि अनुकुलनको योजना बनाउने र विकसित देशबाट कार्बन उत्सर्जनबाट नेपाल जस्ता देशलाई असर परेकाले ठूला राष्ट्रहरुबाट लेबी निर्धारण गर्न सराकारसँग अनुरोध गर्ने सम्मेलनको मूल उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment