Comments Add Comment

डेढ वर्षको छोरा बचाएर हिटरमा जले इन्जिनियर दम्पत्ति

१६ पुस, काठमाडौं । जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो ।

जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ७ गते शनिबार हिटरबाट सल्केको आगोको लप्कामा परी गम्भीर घाइते भएका थिए । उनीहरुका डेढ वर्षको छोरा मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएकाले कसरी आगो सल्कियो भन्ने यथार्थ विवरण आउन सकेको छैन ।

आगो कोठा बाहिर भने फैलिन पाएन । कोठाभित्र पनि ओछ्यान सद्दे देखिएको छ । हिटर ढोकैमा भएकाले उनीहरु चुकुल खोलेर बाहिर निस्कन सकेनन् । झ्यालको शिशा पनि फुटाइएको छ । तर, झ्यालमा गि्रल भएकाले त्यहाँबाट निस्किन सम्भव थिएन ।

उनीहरुले चिच्याएर गुहार नमागेका पनि होइनन् । छरछिमेकीले नसुनेका पनि होइनन् । तर, कोही घटनास्थलमा आएनन् ।

‘उनीहरुले गुहार गुहार भनेर कराउँदा छिमेकका मान्छेहरु ढोका थुनेर बसेछन्,’ उनले भने । निकै बेरपछि सो घरका घरपट्टलिे प्रहरीलाई फोन गरेर बोलाएका थिए ।

प्रहरी आएर ढोका खोल्दा तीनै जना बेहोस अवस्थामा थिए । अप्सराले बच्चालाई कभर गरेकी थिइन् भने पुष्करले अप्सरालाई कभर गरेका थिए । त्यसैले सबैभन्दा बढी पुष्कर जलेका थिए । उनको हात सबैभन्दा बेसी जलेको थियो ।

‘पुष्करले दुवै हातले आगोको लप्का छेकेर श्रीमती र छोरालाई बचाउन खोजेको देखिन्छ,’ भट्टले भने ।

आमा र बाबुले कभर गरेकाले बच्चा भने धेरै जल्न पाएनन् । यद्यपि, उनी पनि बेहोस अवस्थामै थिए ।

प्रहरी आएर तीनै जनालाई नजिकै रहेको सहिद मेमोरियल अस्पताल पुर्‍याए । तर, त्यहाँ उनीहरुको सही ढंगले उपचार भएन । चिकित्सकहरुका अनुसार आगोमा जलेका बिरामीलाई तत्काल स्लाइन दिनुपर्ने हुन्छ किनकी आगोले शरीरको सबै पानी सोसेको हुन्छ । तर, अस्पतालले दुई घन्टासम्म राख्दा स्लाइन दिएन र दुवै बिरामीको अवस्था जटिल भएपछि किर्तिपुर अस्पताल रिफर गरिदियो । जलेका बिरामीका लागि किर्तिपुर अस्पताल सबैभन्दा राम्रो मानिन्छ ।

किर्तिपुरमा पुर्‍याउनासाथ पुष्कर र अप्सरालाई भेन्टिलेटरमा राखेर उपचार सुरु भयो । तर, उनीहरु होसमा आउन सकेनन् । पुष्करको दुवै हात काम नलाग्ने भएकाले काट्नुपर्ने चिकित्सकहरुले बताए । र, काटियो पनि । तर, पनि उनको ज्यान जोगिन सकेन ।

उनीहरुलाई एयर एम्बुलेन्समा राखेर भारत लैजाने समेत तयारी भएको थियो । दुवैलाई एउटै एयर एम्बुलेन्समा लैजान नमिल्ने भएकाले केही इन्जिनियरहरु मिलेर २०-२० लाखमा दुई खेपगरी लैजाने भनेर कुरा गरिसकेका थिए । तर, डाक्टरहरुले अनुमति दिएनन् । एयर एम्बुलेन्समा चढाउनका लागि एयरपोर्टसम्म लैजान पनि सुरक्षित नदेखेर डाक्टरहरुले अनुमति नदिएको भट्ट बताउँछन् ।

‘हामी इन्जिनियरहरुको समूह मिलेर पैसाको जोगाड गर्दै थियौं, तर अस्पतालले अनुमति नदिएपछि त्यो योजना रद्द भयो,’ उनले भने ।

अन्ततः ११ गते राति बिहिबार पुष्करको उपचारकै क्रममा निधन भयो । १२ गते उनको पोष्टमार्टम गरी अन्त्येष्टि भयो । पशुपति आर्यघाटमा उनका बाबुले छोराको शवमा दागवत्ती दिएको नमिठो दृष्य देखियो । पशुपतिमा अहिले पुष्करको किरिया भइरहेको छ ।

यता अप्सराको अवस्थामा पनि सुधार आएन । उनी होशमा आउन नसकेपछि किड्नीमा असर पुगेको आशंकाले डाइलासिस गर्नुपर्ने डाक्टरहरुले बताए । तर किर्तिपुरमा डाइलासीस सुविधा नभएपछि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा लगियो । त्यहाँ पनि भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा आज बिहान उनको मृत्यु भएको छ । अहिले उनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

उनीहरुको डेढ वर्षको छोरा खतरामुक्त रहेको चिकित्सकहरुले बचाएका छन् । घटनापछि अप्सरा र पुष्कर दुवैको परिवार काठमाडौं आएका छन् । अप्सरा तनहुँकी हुन् भने पुष्कर बैतडीका हुन् । उनीहरु ककंकीमा फ्लयाट भाडामा लिएर बस्थे । दुवै कार्यालय जानुपर्ने हुँदा बच्चाको रेखदेख गर्न अप्सराकी आमा र बुवा पनि सँगै बस्थिन् । तर, घटना भएको दिन उनीहरू कूल पूजाका लागि गाउँ गएको बुझिएको छ ।

इन्जिनियर भट्ट भन्छन्, ‘दुवै औधि मिजासिला र इन्जिनियरको समूहमा लोकप्रिय थिए, हामीलाई साह्रै ठूलो चोट लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment