Comments Add Comment

ठूला राष्ट्रको गल्तीको परिणाम नेपालले भोग्नुपर्‍यो: राष्ट्रपति

१६ पुस, सिन्धुपाल्चोक  (गुफाडाँडा) । सिन्धुपाल्चोकको गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची बजारदेखि साढे १४ किलोमिटरमाथि मेलम्ची नगरपालिका ९, गुफाडाँडामा सम्मेलनको उद्घाटन गरिन् ।

जलवायु सम्मेलन उद्घाटन गर्न आएकी राष्ट्रपति भण्डारीले ठूला राष्ट्रहरुले गरेको कार्बन उत्सर्जनको सजायँ नेपालजस्ता मुलुकहरुले व्यहोर्नुपरेको बताइन् ।

‘अरुका कारण भावी पुस्ताले दण्ड भोग्नुपर्ने अवस्था आएको छ, यो अपराध हो’ राष्ट्रपति भण्डारीले भनिन् ।

स्थानीय तहमा पूर्वाधार निर्माण गर्दा वातावरणीय अध्ययन गरेर मात्रै काम गर्नुपर्नेमा उनले जोड दिइन् । जलवायु परिवर्तनको असर र यसको प्रभावका बारेमा विद्यालय स्तरदेखि नै ज्ञान दिनुपर्ने भन्दै राष्ट्रपति भण्डारीले वालुवा गिट्टीलगायतका प्राकृतिक दोहन पनि जलवायु परिवर्तनको एउटा कारण भएको बताइन् ।

सम्मेलन स्थलमा निर्माण गरिएको जलवायु परिवर्तनको असर झल्कने प्रतिमाको अनावरण सँगै जलवायु सम्मेलनको औपचारिक कार्यक्रम सुरु भएको थियो ।

देशका ७५ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखसहित तीन जना प्रतिनिधि सहभागी भएको सम्मेलन मंगलबार सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै सम्मेलन सकिने छ ।

प्रतिमा अनावरणपछि राष्ट्रपति भण्डारीले सम्मेलनस्थलमा राखिएको राष्ट्रिय झण्डाको झण्डोतलन गरेकी थिइन् । राष्ट्रपतिसँगै ७५ जिल्लाका जिसस प्रमुखहरुले आफ्नो जिल्लाको नाम अंकित झण्डोत्तोलन गरेका थिए ।

सम्मेलनमा मोरङ र नवलपरासी जिससबाट प्रतिनिधित्व भएन । मोरङबाट भने सांसद घनश्याम खतिवडाको सहभागीता रहेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

 

‘पर्यटन र संस्कृतिको संरक्षण गर्नुपर्छ, प्राकृतिक सम्पदालाई बिगारेर होइन, सिँगारेर विकास निर्माण गर्नुपर्छ’ भण्डारीले भनिन् ।

वनजंगलमा असल प्राकृतिका बोट विरुवा रोप्न र नदी प्रणालीको सुधार गरेर पनि जलवायुको असरलाई न्युनीकरण गर्न सकिने राष्ट्रपति भण्डारीले बताइन् ।

सम्मेलनमा वनमन्त्री शक्ति बस्नेतले स्थानीय तहमा डोजर आतंक बढेकालाई यसलाई रोकेर जलवायु अनुकुलताको क्षेत्रमा ध्यान दिनुपर्ने बताए । प्रारम्भिक वातवरणीय परीक्षण गरेर मात्रै विकास निर्माणका गतिविधि गर्नुपर्ने भन्दै मन्त्री बस्नेतले जलवायु सम्मेलनको एजेण्डालाई अन्तर्राष्ट्रियकरण गर्ने पनि बताए ।

जलवायु परिवर्तन सम्बन्धी ११ प्रस्तुतिकरण

राष्ट्रिय जलवायु सम्मेलनमा यस क्षेत्रका विभिन्न विज्ञ समूहबाट ११ कार्यपत्र प्रस्तुत भएको छ । त्यस्तै मंगलबार पनि ११ वटा प्रस्तुति हुने र समूहगत छलफलपछि निश्र्कषसहित सम्मेलन सकिने जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दासले जानकारी दिइन् ।

सोमबार जलवायु परिवर्तनको विविधतासम्बन्धी चार वटा र जलवायु परिर्वतन र यसको प्रभाव सम्बन्धमा विज्ञहरुले सात वटा प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment