Comments Add Comment

नेपाली युवतीको प्रेममा अफ्रिकादेखि नेपालसम्म, क्लबमा मस्ती गर्न अपराध !

१६ पुस, काठमाडौं । तीन वर्षअघि काभ्रेकी ३२ वर्षीया कुसुम कायस्थले अफ्रिकी मुलुक आइभोरी कोस्टका एक युवकलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाइन् । प्रोफाइलमा ‘एशिएन विजनेस म्यान’ भनेर परिचय दिएका युवक ओवोतार अलकाग्नीले कुसुमको रिक्वेस्ट तुरुन्तै स्वीकारे ।

त्यसपछि सुरु भएको नेपाली युवती र अफ्रिकी युवकबीचको कुराकानी प्रेम सम्बन्धमा परिणत हुन धेरै समय लागेन । करिब ३ महिनाको कुराकानीपछि युवकले नेपाल घुम्न आउने निर्णय गरे । सन् २०१५ मा पर्यटक भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए ।

कुसुम रिसिभ गर्न पुगिन् । युवकको नेपाल बसाइका क्रममा दुईबीचको सम्बन्ध झन् झांगिँदै गयो । कुसुमले ती युवकलाई नेपालका विभिन्न ठाउँ घुमाइन् ।

त्यसक्रममा युवकको भिसाको अवधि सकिन्छ तर, उनी आफ्नो मुलुक जाने सुरसारै गर्दैनन् । कुसुम पनि उनलाई नजान आग्रह गर्छिन् । अन्ततः उनीहरु ‘लिभिङ टुगेर’मा बस्न थाल्छन् ।

तर, जब युवकले ल्याएको पैसा सकिन्छ, उनीहरुको जीवनशैली कष्टकर हुँदै जान्छ । त्यसपछि छोटो समयमा धेरै रकम कमाउने बाटोको खोजीमा उनीहरु लाग्छन् । त्यसक्रममा भारतको दिल्लीका एक व्यक्तिसँग उनीहरुको सम्पर्क हुन्छ । तिनै व्यक्तिले पैसा कमाउने जुक्ति दिन्छन्, सामाजिक सञ्जालबाट चिठ्टा परेको भनेर पैसा उठाउने र सम्पर्कविहीन हुने ।

‘भारतमा ती व्यक्तिले त्यसै गरी ठगी धन्दा चलाइरहेका रहेछन्’, महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकारी भन्छन्, ‘उनैले कुसुम दम्पत्तिलाई भारतमा आफूले ठगेको व्यक्तिलाई सम्पर्क गरेर रकम माग गर्न लगाए ।’ त्यति मात्र होइन, कुसुम दम्पत्तिले ठग्नलाई नेपाली व्यक्तिको पहिचान गर्न थाले भने रकम माग गर्ने काम दिल्लीबाट ती युवकले गरे ।

यसरी नेपालीको पैसा भारतमा र भारतीयको पैसा नेपालमा लिँदै उनीहरुले ठगी धन्दा मच्चाए । फेसबुक, इमो, भाइबरसहित भारतीय नम्बरको प्रयोग गरेर नेपाली नागरिकको १४ लाख ३४ हजार रुपैयाँ उनीहरुले हात पारे ।

तर, उनीहरुको यो धन्दा धेरै समयसम्म छिप्न पाएन । केही दिन अघि एक जना पीडितले आफू ठगिएको बताउँदै अपराध महाशाखाका उजुरी दिए । लगत्तै, सुक्ष्म रुपमा अनुसन्धान थालेको महाशाखाको टोलीले आइतबार दुवै जनालाई पेप्सिकोलाबाट पक्राउ परेका छन् ।

ठगी गरिएको रकमको अधिकांश हिस्सा उनीहरुले भारतमा रहेका व्यक्तिलाई पठाउने गरेको प्रहरी बताउँछ । प्रहरी स्रोतका अनुसार भारतमा बसेका व्यक्तिलाई ६० प्रतिशतसम्म रकम दिइने गरिएको थियो ।

उनीहरुले पेप्सिकोलामा फ्याल्ट नै लिएर बसिरहेका थिए । ‘अधिकांश साँझ दरबारमार्ग, ठमेल क्षेत्रका डान्स बार, पब र डिस्कोहरुमा दुई जना जाने गरेका थिए’, अनुसन्धान अधिकारी भन्छन्, ‘ठगीबाट कमाएको रकम उनीहरुले त्यहीँ खर्च गर्ने गरेका थिए ।’ हाल उनीहरुबाट ठगिएका १२ जना प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।

उनीहरुमध्ये अधिकांशले डेढ लाखदेखि ७० हजार रुपैयाँसम्म यो दम्पत्तिलाई बुझाएको थियो ।

उनीहरुमाथि ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताउँछन् । ओवोतारले प्रहरीसमक्ष दिएको बयानमा 15AH420166 नम्बरको आफ्नो पासपोर्ट हराएको बताएका छन् । गर्लफ्रेण्डले आफूलाई डुबाएको उनको तर्क छ ।

प्रहरी अनुसन्धान र कारबाही सकिएपछि भिसाको निर्धारित समय सकिइसकेपछि पनि अनधिकृत रुपमा नेपालमा बसिरहेको आरोपमा उनलाई अध्यागन विभागले पनि कारबाही गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment