Comments Add Comment

विवेकशील साझामा विग्रह ! पार्टी गलत बाटोमा छ : उज्वल थापा

१६ पुस, काठमाडौं । पार्टी एकता गरेको डेढवर्षमै विवेकशील साझा पार्टीमा आन्तरिक विग्रह देखा परेको छ । संयोजक उज्वल थापाले पार्टी गलत दिशामा रहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन पेश गरेपछि आन्तरिक विवाद सतहमा आएको छ ।

नेताहरुका अनुसार पार्टीभित्र देखा परेको यो विग्रह ततकाल पार्टी नै फुट्ने स्तरको होइन । तर, थापाको प्रतिवेदनमा आम नेता कार्यकर्ताको भावना छ । र, रविन्द्र मिश्रको कार्यशैलीमाथि निर्मम आलोचना गरिएको छ ।

असन्तुष्ट रहेका थापा तत्कालीन विवेकशीलका अध्यक्ष हुन् भने अर्का संयोजक रविन्द्र मिश्र साझा पार्टीका पूर्वअध्यक्ष हुन् । स्थानीय चुनावमा सहकार्यसमेत गर्न नसकेका दुबै दलले प्रदेश र संघको चुनाव अगाडि एकता गरेर विवेकशील साझा पार्टी बनाउँदा थापा र मिश्र दुबै संयोजक बनेका हुन् ।

संसदीय चुनावमा पार्टीले अत्यधीक चर्चा पाए पनि अपेक्षित नतिजा ल्याउन सकेन । संघीय संसदमा कुनै सिट जित्न सकेन । काठमाडौंबाट चुनाव लडेका दुबै संयोजकहरु पराजित भए । प्रदेश ३ मा भने विवेकशील पार्टीले समानुपातिकतर्फ ३ सिट पायो ।

तर, चुनावी परिणामसँगै नेता कार्यकर्तामा निराशा बढेको छ भने एकपछि अर्को विवाद बाहिर आइरहेको छ ।

यहीबेला संयोजकमध्येका थापाले पार्टी गलत दिशामा रहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका छन् ।

के छ उज्वलको प्रतिवेदनमा ?

निर्वाचनपछिका एक वर्षको समीक्षा गर्दै संयोजक थापाले भनेका छन्, ‘म यो निष्कर्षमा पुगेको छु कि विवेकशील साझा पार्टी अहिले समग्र गलत बाटोतर्फ गइरहेको छ ।’

उनले कसैको नाम लिएर दोष दिएका छैनन् । तर, अर्का संयोजक रविन्द्र मिश्रले पार्टी सही दिशामा रहेको बताइरहेका बेला थापाले त्यसलाई खण्डन गरेका छन् ।

यो आफ्नै नेतृत्वमाथि निर्मम समीक्षा भएको र आफ्नो अंशको जिम्मेवारी लिने थापाले प्रतिवेदनमा बताएका छन् ।

१८ पृष्ठ लामो प्रतिवेदनमा संयोजक थापाले पार्टीका सात वटा समस्या औंल्याएका छन् ।

‘नेतृत्वको वक्तव्यमा हामी भन्दा म हावी देखेँ । कतिपय बेला आलोचना हुँदा बोली र व्यवहार दुबैमा चाहेभन्दा बढी रक्षात्मक भइहाल्ने बानी छ’ थापाले समीक्षा प्रतिवेदनमा भनेका छन् ।

होस र जोसलाई अँगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउन कम चासो देखिएको, दलले गति दिन नसकेको र ढंग पनि पर्याप्त नदेखिएको, चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको थापाको संश्लेषण छ ।

त्यसैगरी डरको राजनीति हावी भएको, सिरियल सर्किटमा चल्न रुचाउने प्रवृत्ति हावी भएको र उत्कष्ट नेतृत्वको सबल पक्षभन्दा कमजोरीमा केन्द्रित वातावरण बनेको थापाको निष्कर्ष छ ।

‘मोदीजी, नेपालमा स्वागत छ, तर नाकाबन्दी भुलेका छैनौं’ बाहेक पार्टीले सञ्चालन गरेका अभियानहरु अपुरो भएको भन्दै थापाले कतिपय विषयमा नेतृत्व नै चुकेको उल्लेख गरेका छन् ।

संगठन निर्माण निराशाजनक हुनुका साथै केन्द्रीय विभागमा डरको राजनीति हावी भएको बताउँदै थापाले भनेका छन्, ‘केही गर्न खोज्ने विभागहरुले पनि उच्च नेतृत्वबाट त्यो त हुँदै हुन्न भनिदिने हो कि भन्ने डर देखियो ।’

उर्जाशील सदस्यहरुलाई विभागमा राख्न खोज्दा शंकाले हेरेको र बाहिरबाट राम्रा आउँछन् भन्ने नाममा पार्टीमै भएका उत्कृष्टहरुलाई चासो नदिएको थापाको गुनासो छ ।

संयोजन समितिका सदस्यहरुले धेरै पद ओगटेको र बाँकी नेतृत्व तथा सदस्यहरुलाई जिम्मेवारी दिन संकोच मानेको थापाले प्रतिवेदनमा बताएका छन् ।

फरक विचार राख्ने नेतृत्व र व्यक्तिका चरित्र र नकारात्मक कार्यशैलीबारे बढी चर्चा हुन थालेको बताउँदै थापाले भनेका छन्, ‘पर्याप्त छलफलविना केही व्यक्तिको विचार पार्टीको विचारका रुपमा स्थापित गर्न खोजिएको अनुभूति भएको छ ।’

उर्जाशील सदस्यलाई अराजकका रुपमा हेर्न थालिएको र गुनासो पोख्दा ईख लिने प्रवृत्ति देखिएको भन्दै संयोजक थापाले बोली बढी काम कम हुन थालेको टिप्पणी गरेका छन् ।

यसको उदाहरणका रुपमा उनले महाधिवेशन अगाडि एक लाख सदस्य बनाउने भनिएकोमा १६ महिनामा ४ हजार मात्रै भएको उल्लेख गरेका छन् ।

‘नेतृत्वको वक्तव्यमा हामी भन्दा म हावी देखेँ । कतिपय बेला आलोचना हुँदा बोली र व्यवहार दुबैमा चाहेभन्दा बढी रक्षात्मक भइहाल्ने बानी छ’ थापाले समीक्षा प्रतिवेदनमा भनेका छन् ।

पारदर्शितामाथि प्रश्न

पार्टी पारदर्शिताको मान्यतादेखि नै डराएको र नेतृत्व डरले ग्रसित भएको थापाको निष्कर्ष छ । सम्पत्ति विवरण बुझाउन भएको कठिनाइ यसको प्रमाण भएको उनले बताएका छन् ।

लेखा परीक्षण भए–नभएको पार्टी सदस्यहरुलाई जानकारी नदिएको, दलका कार्यक्रम, भ्रमण खर्च सार्वजनिक नगरेको र पार्टीका निर्णयहरुमा पनि पारदर्शितामा ह्रास आएको थापाको समीक्षामा छ ।

विन्रमता, उत्कृष्टता, इमान्दारिता र पारदर्शितालगायत दलले बोकेका मूल्य मान्यताहरुमा नै खरोसँग उत्रन नसकेको थापाको निष्कर्ष छ ।

थापाले निश्कर्षमा भनेका छन्, ‘ठूलो बन्न खोज्दा खोक्रो होइन, नवीनता अँगाल्न नडराउने, चुस्त अनि बलियो, मूल्य मान्यतामा अडिग सुसंस्कृत संगठन बनाउनुपर्छ ।’

चार हजार एक सय सदस्यका हात–हातमा पुगेको समीक्षा प्रतिवेदनमा थापाले अर्का संयोजक मिश्रको नाम त कतै उल्लेख गरेका छैनन् । तर, उनको असन्तुष्टि रविन्द्र मिश्रप्रति नै लक्षित रहेको सहजै अनुमान गर्न सकिन्छ ।

थापाले ‘आफ्नो सांगठनिक जिम्मेवारी र काम कारवाहीलाई अधुरै छाडी मिडिया र अन्तरवार्तामै बढी केन्द्रित भएको’ भन्दै मिश्रप्रति अप्रत्यक्ष व्यंग्य गरेका छन् ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment