Comments Add Comment

एउटा तक्माले बदलिएको जीवन

जाँदा गुमनाम, फर्किँदा धुमधाम

१७ पुस, काठमाडौं । विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा भाग लिन थाइल्यान्ड जानुअघिसम्म महेश्वर महर्जनको नाम कतिले सुनेका थिए होलान् ? केही सय वा केही हजार । न मिडियामा उनको खोजी थियो, न खेलकुद जगतमा नै ठूलो चर्चा ।

तर, थाइल्यान्डबाट केही दिनपछि फर्केर आउँदासम्म उनी ठूलै सेलिब्रिटी बनिसकेका थिए । उनलाई स्वागत गर्न बिमानस्थलमा उर्लेको भिडले उनको एक्कासी बढेको क्रेज झल्किन्थ्यो । नेपाल आएदेखि यता मिडिया र यूट्यूव च्यानलहरुको तानातानमा परिरहेका उनले एक दिन थकाई मार्न पाएका छैनन् ।

थाइल्यान्ड जाँदा उनको सपना थियो, सुनको तक्मा । त्यही तक्मा अहिले उनी फर्किएर आउँदा धेरैको हौसला, उत्सव, खुशी र सपनासँग जोडिएको छ ।

‘म प्रतिस्पर्धामा जाने बेलामा आमाले भन्नुभएको थियो, तिमीले स्वर्ण पदक नै जितेर आए पनि के हुन्छ र ?’ उनले कुनै जवाफ दिन सकेका थिएनन् । तर, अहिले छोराको लोकप्रियता देखेर आमाको अनुहारमा मुस्कान भरिएको छ । सायद उनले आफ्नो प्रश्नको जवाफ पाइसकिन् ।

जसरी ३६ वर्षको उमेरमा उनले केही गरेर देखाए त्यसैले आशा बढेको छ, शारीरिक सुगठनमा अब केही त अवश्य फेरिने छ ।

नसोचेको व्यस्तता

महेश्वर फर्केकै दिन हजारौँ समर्थकहरु विमानस्थलमा स्वागत गर्न पुगे । नेतादेखि सर्वसाधारण सबैले बधाई दिए । अहिलेसम्म सम्मान र बधाईका कार्यक्रमहरु चलि नै रहेका छन् । सञ्चारमाध्यममा लगातार अन्तर्वार्ता भइरहेका छन् ।
यो पनि पढ्नुहोस स्वर्ण पदक जित्दा एक्लो भएको महसुस गरेँ : महेश्वर

‘सोचेको पनि थिइनँ, मलाई माया गर्ने त्यतिका मान्छे बिमानस्थलमा आउँछन् भनेर । अनुमान नै नगरेको कुरा भयो । विमानस्थलमा अनुमानभन्दा बाहिरको भिड भएर नै व्यवस्थापनमा कठीन भएको थियो,’ उनले भने, ‘म १० गते फर्किएँ । त्यसको भोलिपल्ट मात्रै ९ वटा मिडियामा अन्तर्वार्ता दिएँ । त्यसपछि कुनै दिन ६ वटामा कुनै दिन ७ वटामा भइरहेको छ । आज मेरो अन्तर्वार्ता लिने तपाईं सातौँ । तपाइँको पछाडि दुईवटा बाँकी छ’ उनले आफ्नो व्यस्तता सुनाए ।

दिउँसो साढे ४ बजे भेट्दा पनि महेश्वरसँग समय थिएन । युट्युबरहरुले घेरिइरहेका उनी अन्तर्वार्ता दिन कुन मिडियामा कति बजेलाई समय दिएको हो भन्ने सम्झन मोबाइलमा टिपोट गरिरहेका थिए ।

के फरक हुने रहेछ त ? प्रश्न सुन्नेवित्तिकै उनले भने, ‘धेरै नै फरक छ । जाने बेलामा जुन महेश्वर महर्जन म थिएँ, आउने बेलामा सबै परिवर्तन भयो । म फेरिएँ । जाने बेला खासै वास्ता थिएन । जितेर फर्किएपछि धेरैले सम्मान र हौसला दिइरहनु भएको छ ।’

हुन पनि महेश्वरले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जित्न नेपाली खेलाडीलाई अभावले छेक्दैन भन्ने प्रमाण दिए । हौसला राखेर मेहनत गर्दा सकिने रहेछ भन्ने बुझाए ।

सबै कुरा यही हो त ? होइन । महेश्वर भन्छन्, ‘आमाले भन्नुभएको कुराहरु पनि ठीक थिए । स्वर्ण पदक जितेर पनि के त ? हुन त सबै कुरा आफूले पाउँ, कसैले आफूलाई केही गरिदियोस् भनेर मात्र के गर्नु ! आफूले के गरेको छु भन्ने पनि विचार गर्नुपर्छ ।’

उनले दृढ हुँदै अघि थपे, ‘देशले के दियो मात्र होइन देशलाई के दिएँ भनेर सम्झनै पर्छ । मैले अहिले देशलाई केही दिन सकेँ कि जस्तो लाग्छ ।’

त्यसो त महेश्वरले स्वर्ण पदक जित्नुअघि पनि अन्तर्राष्ट्रियस्तरमा शारीरिक सुगठन र फिटनेसका खेलमा नेपालले राम्रो उपलब्धी हासिल गरिरहेको थियो । सम्भावना देखाइसक्दा पनि वेवास्ताको शिकार हुनु भने निकै नमिठो थियो । अब भने अवस्था फेरिएला कि भन्ने विश्वासमा छन् महेश्वर ।

अब केही होला कि ?

‘यहाँसम्म पुगेर गरेर देखाएँ, अझै अगाडि राम्रो गर्न सक्छु कि जस्तो लाग्छ । मेरो लागि मात्र होइन, हरेक नेपाली खेलाडीको लागि सक्नेजति काम राज्यले पनि गरोस् भन्ने लाग्छ’ उनले भने ।

अब अवस्था फेरिएला त ? उनी भन्छन्, ‘फेर्नुपर्छ । हामीले गरेर देखाएका छौँ । किनभने, मैले मात्र होइन बडिविल्डिङ र फिटनेसमा मेडल जित्ने साथीहरु धेरै हुनुहुन्छ । यसभन्दा अगाडि हेरिदिन नसकेको भए पनि अब त केही गर्ने बेला भइनै सक्यो ।’

दिनमै सरदर ७ वटा अन्तर्वार्ता दिइरहेका महेश्वरलाई के प्रश्न सोध्ने ? सायद एउटै कुरा वर्णन गर्दा गर्दा वाक्क भइसकेका छन् । उनको मेहनतको कथा आएका छन्, जितको खुशी आएका छन्, भविष्यको योजना आएका छन् ।

‘अन्तर्वार्ता यति धेरै भइसक्यो कि के–के भन्नुपर्छ भन्ने कण्ठस्थ भइसक्यो । कतिबेला त सबैलाई एकै ठाउँमा राखेर एकैचोटि बोल्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । प्रश्नहरु पनि उस्तै हुन्छन्, मेरो जवाफ पनि उस्तै । मेरो मनभित्रको कुरा फरक त हुने कुरै भएन,’ अलिअलि हाँस्दै बोले महेश्वर ।

अहिले उनको फेसबुकमा ५ हजार साथी पुगेर अरु ४ हजार पेन्डिङमा छन् । साढे ३ हजार फलोअर रहेको इन्स्टाग्राममा अरु ८ हजारले फलो रिक्वेस्ट गरेका छन् । उनको फेसबुक पेजमा पनि पछ्याउनेहरु त्यत्तिकै छन् ।

अब मिस्टर युनिभर्स जित्ने चाहना बनाएका महेश्वरलाई अहिले मिलिरहेको सम्मानले कति सहयोग सहयोग पुग्ला, राज्यले कसरी हेर्ला, फेरि साथीभाइसँग पैसा सापटी मागेर तयारीमा लाग्नुपर्ला कि नपर्ला केही थाहा छैन । तर, यत्ति थाहा छ गर्न खोज्यो भने सकिन्छ ।

‘मेरो चाहना मिस्टर युनिभर्स जाने छ । हामीले गर्‍यौं भने त्यहाँ पनि सक्छौँ । त्यसको लागि समय भने लाग्छ नै । अब २०२० को लागि तयारी गरेर बढ्ने हो भने हामी जित्न सक्छौँ । तर, पहिले जस्तो एक्लैले गरेर मिस्टर युनिभर्स जितिँदैन’ उनले भने, ‘विदेशमा वर्षभरि नै अभ्यास गराउने, के खाने, परिवार कसरी पाल्ने भन्ने चिन्ता नभई मेहनत गर्न पाउने वातावरण छ । हाम्रोमा आफ्नै प्रयासले पनि यत्तिको काम भएको छ भने थोरै मात्र हेरिदिँदा त अझै राम्रो हुन्छ ।’

अझै छ अन्योल

यसपटक थाइल्याण्ड जानुअघि पनि महेश्वरलाई धेरैले हौसला र सहयोग भने दिएका थिए । ‘शारीरिक र मानसिक रुपमा पनि यति कठीन खेल हो कि भनेर साध्य नै छैन । आर्थिक रुपमा नै पनि मेरो झण्डै १० लाख खर्च भएको छ । अब योभन्दा राम्रो प्रतिस्पर्धामा जान त्योभन्दा धेरै रकम कहाँबाट कसरी खर्च गर्नु र ?’ स्वर्ण जितिसक्दा पनि उनी अन्यौलमै छन् ।

उनी नेपाल शारीरिक सुगठन तथा फिटनेस संघबाट सहयोग भइरहे पनि बजेट नै नभएको संघले चाहेर पनि सोचेजस्तो गर्न नसक्ने बताउँछन् ।

हुन पनि मिस्टर नेपाल, मिस्टर हिमालय, मिस्टर एण्ड मिसेस काठमाडौं जस्ता प्रतियोगिता गर्न पनि नपुग्ने सरकारी बजेटले धेरै कुरा गर्न त सकिँदैन नै । मरुभूमिमा एक थोपा पानी हाल्दा के होला त ? त्यस्तै छ शारीरिक सुगठन र फिटनेस खेललाई दिइने बजेट । व्यक्तिगत रुपमा सहयोग गरिदिनेहरुलाई पनि सधैँ सहयोग गरिदेउ भन्न सक्ने स्थितिमा खेलाडी छैनन् ।

महेश्वरले साथीहरुसँग मिलेर कालीमाटीमा फिटनेस सेन्टर खोलेको झण्डै आठ वर्ष भयो । उनीहरुले नै ढल्कोमा पनि फिटनेस सेन्टर खोलेको तीन वर्ष भयो । त्यहाँबाट नै अभ्यास र केही कमाइ गरिरहेका छन् । अभ्यासको लागि एकान्तकुनामा भएको प्लाटिनम फिटनेस सेन्टरमा पनि बेलाबेला जान्छन् । उनलाई एउटै ठाउँमा, एउटै अभ्यास गरिरहन दिक्क लाग्छ । त्यसैले नयाँ ठाउँमा जाँदा हौसला पनि पाउँछन् रे ।

सोचेजस्तो होइन

बडिविल्डिङ र फिटनेसमा लागेका सबैजसो खेलाडी भन्छन्, ‘यो खेल एकप्रकारको तपस्या नै हो ।’ त्यस्तै छ महेश्वरको विचार पनि ।

१२ महिनामा ६ महिना उनी ‘बल्किङ’मा ध्यान दिन्छन् । जसमा शरीरलाई अलिकति मोटो बनाउने र त्यसमा फ्याट र पानीको मात्रा मिलाउने काममा हुन्छ । त्यसमा बर्गर, पिजाहरु पनि १२ दिनको फरक समय मिलाएर खान्छन् । त्यो सयममा दिनमा एक ढेड घण्टा अभ्यास गर्छन् ।

त्यसपछि उनको ‘कटिङ’को समय सुरु हुन्छ । त्यसमा उनी उसिनेको खानेकुराहरु मात्रै खान्छन् । दिनमा ६ घण्टा कडा अभ्यास गर्छन् । ४ महिनासम्म त्यसैगरी मिलाएर खाने र अभ्यास गर्ने गरेपछि बोसो घट्दै गएर शरीरको सन्तुलन मिल्न थाल्छ ।
यो पनि पढ्नुहोस नेपालमा शारीरिक सुगठन : हेपिएको खेल तर, उपाधिको भेल

त्यसपछि दुई महिना नुनहरु छाडेर पानीको मात्रा पनि घटाउँदै लैजान्छन् । ‘त्यसले शरीरमा फाइबरहरु कम गर्छौं । असाध्यै कठिन समय यही नै हो । किनभने, पानी नै परिवर्तन गरेर नुन खाएपछि शरीरमा हुने अवस्थाहरु फेरिँदै जान्छ । सामान्य अवस्थामा भन्दा भिन्न नै भइन्छ’ उनले सुनाए ।

महेश्वर एक हिसाबले आफ्नो शरीरलाई चुनौती दिन्छन् । उनी भन्छन्, ‘आफ्नै शारीरिक प्रक्रियालाई चुनौती दिने काम सजिलो होला त ? हामीले गरेको तालिकाअनुसार काम भएन भने शरीरमा उल्टो क्रिया आएर केही नराम्रो देखिन पनि सक्छ । अझ अन्तिमको १२ दिन त एक सेकेण्ड पनि कसरी जान्छ जस्तो लाग्छ ।’

दुईपटक विदेशिएका थिए महेश्वर

अहिले जिममा पर्सनल ट्रेनिङहरु गराइरहेका महेश्वर कुनै समय ग्राफिक डिजाइनिङको काम पनि गर्थें । अझ परिवारको आर्थिक अवस्था राम्रो नहुँदा दुईपटक त विदेशिएका थिए ।

‘मैले स्नातकसम्म लगातार पढेँ । परिवारको आर्थिक अवस्था ठीक नभएकाले सन् २००७ तिर साउदी अरेबिया गएको थिएँ । त्यहाँ अभ्यास पनि गर्ने र काम पनि गर्ने भनेर गएको हो । डेढ वर्ष बसेर नेपाल फर्किएँ,’ उनले सुनाए ।

नेपाल फर्किएपछि यतै मेहनत गर्ने सोचेका महेश्वर धेरै समय टिक्न सकेनन् । फर्किएर रेस्टुरेन्ट, होटलहरुमा काम गरे । तर, यहाँ तलब असाध्यै कम हुने भएपछि उनी फेरि दुबई गए ।

‘२००९ मा दुबई गएर तीन वर्ष बसेर फर्किएँ । २०१२ मा हो फर्किएको । त्यो बेलादेखि नै अन्तर्राष्ट्रिय स्तरमा बडिवल्डिङबाट नै केही गर्छु भन्ने ठानेर लागिपरेँ’ उनले भने ।

महेश्वरलाई लाग्छ विदेशमा हुँदा देशप्रतिको माया झनै बढ्ने रहेछ । उदाहरण दिँदै भन्छन्, ‘जस्तो कि घरमा मैले आमालाई हरेक दिन भेटेको छु । कुरा गरेको छु । धेरै याद हुँदैन । जब टाढा जान्छु अनि आमाको र घरको धेरै याद आउँछ । देश पनि त्यस्तै हुने रहेछ ।’

स्वर्ण जितेर देशको झण्डा ओढ्दा देश सम्झिएरै भावुक बनेका थिए महेश्वर । ‘स्वर्ण पदक लगाउँदा सबै कुराको याद एकैपटक आउने रहेछ । सबैजनालाई सम्झिएर आफू एक्लो महसुश भयो । धेरै अगाडिको सपना पूरा गर्न सकेकोमा असाध्यै खुशी लाग्यो’ उनले भने ।

अब पनि नेपालमै बसेर यताउताबाट खर्च लिएर उपाधिका लागि खेलमा लागिरहन उनलाई सजिलो छैन । उनी भन्छन्, ‘सरकारले नै नहेरिकन त अगाडि बढ्नै सकिँदैन । अब केही भएन भने त यो स्वर्ण पदकको पनि महत्व रहँदैन ।’

हुन पनि गरेर देखाएपछि पनि राज्यले वेवास्ता गर्‍यो भने आउने पुस्ताले कुनै पनि खेलमा ध्यान दिन कसरी सक्लान् ? जितेर आउनेको नै विजोग छ भने अरु खेलाडी खेलमा किन लाग्ने ?

दर्जनौँ उपाधिका विजेता

 

 

महेश्वर पहिले त शारीरिक रुपमा तन्दुरुस्त रहन्छु भन्ने सोचेरै जिमका लागि गएका थिए । परिवर्तनहरु देखिँदै जान थालेपछि निरन्तर त्यसमा लागिरहे ।

‘मैले सन् १९९७ मा फिटनेस सुरु गरेको हो । नरदेवी ढोका टोलमा रहेको हाम्रो पुरानो घरनजिक फिटनेस सेन्टर थियो । तीन वर्ष त्यही नै अभ्यास गरेँ । त्यसपछि युनिभर्सल जिममा गएँ । २००३ सम्ममा त शरीरमा धेरै नै परिवर्तन देखिएको थियो । त्यसैले २००४ मा भएको शारीरिक सुगठन प्रतियोगिता दशौँ धर्मश्रीमा पहिलोपटक प्रतिस्पर्धा गरेँ’ उनले भने ।

नेपालभित्र अहिलेसम्म उनले दर्जनौँ प्रतिस्पर्धामा भाग लिइसकेका छन् । उनी भन्छन्, ‘मैले १८ वटा स्वर्ण पदक, पाँच वटा रजत पदक र दुईवटा कांस्य पदक जितेँ । ७ वटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग पनि चारवटामा पदक जितिसकेँ । दक्षिण एसियामा कांस्य पदक, मिस्टर एसियामा स्वर्ण पदक जितेँ । सातौँ मिस्टर वल्र्डमा चौथो भएर पनि पदक पाएको थिएँ ।’
यो पनि पढ्नुहोस स्वर्ण विजेता महेश्वरले रुँदै भने– सरकारबाट सहयोग पाइनँ

यतिका उपाधिले पनि महेश्वरलाई राम्ररी चिनाएको थिएन । विश्वस्तरमा मात्र होइन नेपालमा मात्रै पनि फिटनेस र बडिविल्डिङलाई नै चिनाउन अहिलेको स्वर्ण पदकले सघाएको छ ।

‘तपाइँले रजत या कांस्य पदक जितेको भए पनि केही चर्चा हुने थियो जस्तो लाग्छ ?’ उनी भन्छन्, ‘अहँ हुँदैन थियो । यसभन्दा अघि जितेको तीन पदकमा कसैको वास्ता थिएन । मान्छेको ध्यान सुनको तक्मामा नै हुने रहेछ ।’

‘योपटक खेलको बेला मेरा ट्याग नम्बर पनि १२३ थियो । मैले त्यो फोटो सामाजिक सञ्जालमा राख्दा मान्छेहरुले, वान टु थ्रि गो फर गोल्ड भनेर प्रतिक्रिया दिएका थिए । त्यो नम्बर पनि लक्की भयो जस्तो लाग्यो’ उनले सुनाए ।

अन्त्यमा,

यत्तिका अन्तर्वार्तामा महेश्वरले नभनेका कुरा केही होलान् ?

‘नभनेको कुरा त केही पनि छैन होला । अरु अन्तर्वार्तामा नसोधेको प्रश्न तपाइँ सोध्नुहोस् न त केही नयाँ हुन्छ कि’ उनले हाँस्दै भने ।

महेश्वरलाई स्वर्ण जितेर फर्किएपछिको दिनचर्या रमाइलो लागिरहेको छ । त्यसैले नै भेट्न चाहनेलाई भो भनेर फर्काएका छैनन् । मिलेसम्म समय दिएका छन् । एउटै कुरा भए पनि झिँझो नमानी सुनाइरहेका छन् ।

… अब आजै दुईवटा अन्तर्वार्तामा तपाइँ जानै छ । बाँकी प्रश्न अर्कोपटकलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment