Comments Add Comment

नेपालमा २० लाख पर्यटक आइपुग्छन् कि तथ्यांकमा मात्रै ?

१७ पुस, काठमाडौं । पर्यटन वर्ष सन् २०२० सम्म वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । तर, तयारी त्यसअनुरुपको छैन, त्यसैले साँच्चिकै २० लाख पर्यटक आइपुग्छन् कि तथ्यांकमा मात्रै संख्यामा पुग्छ ? यो प्रश्न अहिले पेचिलो बनेको छ ।

यस वर्ष स्न २०१८ को ११ औं महिनासम्मको तथ्यांक अनुसार नेपालमा १० लाख पर्यटक नेपाल भित्रिएका छन् । यो वर्ष साढे ११ लाख विदेशी पर्यटक भित्रिने प्रारम्भिक अनुमान छ ।

अबको दुई वर्षभित्र कसरी यो संख्या झण्डै दोब्बर हुन्छ त ?

पर्यटन मन्त्री रविन्द्र अधिकारीको भनाइलाई मान्ने हो भने लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न बुद्धिष्ट राष्ट्रहरुबाट धार्मिक पर्यटकको आगमनमा ठूलो वृद्धि हुन्छ ।

त्यसलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति पनि गरिने भएकाले त्यसले उडान संख्या बढेर पर्यटन आउने क्रम बढ्ने विश्वास सरकारको छ ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी विदेशका प्रवद्र्धनात्मक कार्यक्रम र विज्ञापनहरुले पनि पर्यटक आगमन बढाउन ठूलो मद्दत पुग्ने दावी सरकारको छ ।

मन्त्री अधिकारीले नेपाल वायु सेवा निगमले किनेका नयाँ वाइडबडी जहाजहरुले नयाँ गन्तब्यमा सेवा थालेपछि त्यसमार्फत पनि पर्यटकको आगमन उकास्न सकिने बताउँदै आएका छन् ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्याय नियमित रुपमा पर्यटक आगमनमा भइरहेको वृद्धिदर अनुसार नै २०२० सम्म सजिलै १५ लाख पर्यटक आउने दावी गर्छन् ।

उनको दावीलाई पत्याउने हो भने भैरहवा एयरपोर्टमा मात्रै थप अढाईदेखि ३ लाख विदेशी पर्यटक सिधै उत्रनेछन् भने वाइडबडीमार्फत थप त्यति नै पर्यटक भित्रिँदा २० लाखभन्दा बढी पर्यटक त्यसै वर्ष आउनेछन् । तर, वाइडबडीले अहिलेसम्म नयाँ गन्तब्य पाएको छैन ।

विशेष योजना छैन
यी बाहेक सरकारसँग पर्यटक आगमन ह्वात्तै बढाउने गरी ठ्याक्कै कुनै विशेष योजना छैन । हवाई पूर्वाधारहरुको संख्या बढाएकाले नै अबको दुई वर्षमा थप ९ लाख पर्यटक भित्रिन्छन् भन्ने विश्वास पर्यटन मन्त्रालयको छ ।

तर, ठूलो संख्यामा पर्यटक आउँदा कसरी व्यवस्थापन गर्ने भन्ने कुनै नयाँ अवधारणा ल्याइएको छैन । सहसचिव उपाध्याय भने अबको दुई वर्षपछि नेपालका होटलले २५ लाख पर्यटकलाई सेवा दिन सक्ने देखिएकाले खासै समस्या नभएको दाबी गर्छन् ।

होटल व्यवसायी भने त्यत्रो संख्यामा पर्यटक भित्र्याउन अनुकुल मौसममा ‘क्याम्पिङ’ गर्नुपर्ने बताउँछन् । पर्यटनका लागि हवाई सेवापछिको होटल पूर्वाधार थप्न प्रोत्साहन गर्ने विषयलाई भने सरकारले बेवास्ता गरिरहेको उनीहरुको आरोप छ । तर, पनि स्वतःस्फूर्तरुपमा २०२० सम्म होटलरुमा थप ५ हजार कोठा थपिने दावी होटल एशोसियसन अफ नेपाल (हान)को छ ।

हाल १० लाख पर्यटक भित्रिएकै अवस्थामा होटलहरुको अकुपेन्सी निकै राम्रो अवस्थामा छ । मुख्य सिजनमा होटलहरुको अकुपेन्सी (समग्र कोठा बुक हुने दर) ८५ प्रतिशतभन्दा बढिरहेको हानका अध्यक्ष अमरमान शाक्यले जानकारी दिए ।

अहिले मुख्य सिजनमा होटलहरुमा अतिथिको अभाव छैन । यस्तो अवस्थामा साँच्चिकै सरकारले भनेजस्तो २० लाख पर्यटक भित्रिए भने मुख्य सिजनमा पर्यटकको व्यवस्थापन जटिल हुने देखिन्छ । तर, २० लाख पर्यटक भित्रिने आशा नरहेकाले ठूलो समस्या आउनेमा होटल व्यवसायी चिन्तित छैनन ।

कति मुस्किल, कति मुस्किल ? 
(हान) का अध्यक्ष शाक्य सरकारले पर्यटन वर्षको लागि गर्नुपर्ने पूर्वतयारी ढिला सुरु गरेको बताउँछन् । उनले होटलहरु २५ लाख पर्यटक थेग्न सक्ने अवस्थामा रहे पनि २०२० सम्म नै त्यत्रो संख्यमा पर्यटक भित्रिन्छन् भन्नेमा आशंका जनाए ।

‘सन् २०२० त अब आइसक्यो । बल्ल पर्यटन वर्षको संयोजक तोकेर व्यवस्थापनको लागि काम सुरु भएको छ । २० लाखको लक्ष्य भेट्टाउन प्रयन्त गरौं । यो लक्ष्य सन् २०२२/२३ सम्म नै पुरा भयो भने पनि फाइदा नै हुन्छ,’ उनले भने, ‘तर, हवाई र यातायात पूर्वाधारहरु यस्तै गतिमा बनाउने र धुलोमैलो यस्तै अवस्थामा रहिरहने हो भने लक्ष्यय भेट्न निकै मुस्किल छ ।’

पर्यटन व्यवसायी सुमन पाण्डे पनि ११ लाख पर्यटकलाई २० लाखमा पुर्‍याउन सानो खालका परिवर्तनले काम नगर्ने बताउँछन् ।

‘उद्देश्य ठूलो राख्नु ठीक छ, तर, तयारी पुगेको छैन । हामे हवाई क्षेत्र जसरी पनि युरोपियन युनियनको कालोसूचीबाट हट्नुपर्छ, लुम्बिनी एरपोर्ट सञ्चालनमा आएर मात्रै पुग्दैन, त्रिभुवन विमानस्थलको संकुचन फुक्नुपर्छ,’ पाण्डे भन्छन्, ‘चीनबाट आउने केरुङको रोड पर्यटक आउन सक्ने गरी सेवायोग्य बनाउनुपर्छ । भारतका मुख्य शहरबाट आउने रेल्वेलाइनलाई नेपालको बोर्डरसम्म लिंक गर्नुपर्छ । बंगलादेशबाट भारत हुँदै बंगाली पर्यटकलाई सहज रुपमा काँकडभिट्टाबाट छिर्नसक्ने वातावरण बनाउनुपर्छ ।’

उनले यस्ता ठूला संख्यामा पर्यटक भित्र्याउने योजना कार्यान्यवन नभएर २० लाख पर्यटक भित्र्याउने उद्देश्य पूरा गर्न निकै कठीन हुने सुनाए ।

सन् २०१७ मै १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि २०१८ सम्म कुर्नुपरेको भन्दै पाण्डेले यसलाई दोब्बर बनाउने कुरा सामान्य प्रयासबाट सम्भव नहुने बताए ।

हाल पर्यटन उद्यमीहरु पर्यटक भित्र्याउने भन्दा पनि खर्च गर्न सक्ने पर्यटक भित्र्याउने कुरा अहिले महत्वपूर्ण रहेको बताउन थालेका छन् । अहिले नेपालमा एकदमै कम खर्च गर्ने ‘झोले’ पर्यटक भित्रिरहेकाले उच्च दरमा खर्च गर्न सक्ने पर्यटक भित्र्याउने गरी प्रवद्र्धनात्मक कार्यमहरुमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ ।

‘पर्यटकको संख्या मात्रै ठूलो कुरा होइन, उनीहरुले यहाँ कति बढी समय बिताउँछन् र खर्च गर्छन् भन्ने कुरा पनि महत्वपूर्ण हो,’ ठमेलका पर्यटन व्यवसायी विनोद खनाल भन्छन्, दिनमा ५० डलर पनि खर्च नगर्ने पर्यटक २५ लाख नै पुगे पनि कुनै अर्थ छैन ।’

तथ्यांकमा मात्रै पुग्छ कि !

व्यवसायीले आशंका जनाइरहे पनि सरकार २० लाख पर्यटक भित्र्याउन सकिन्छ भन्ने कुरामा ढुक्क नै देखिन्छ । सरकारले अहिले पर्यटनमा स्याटेलाइट एकाउन्टिङ सिस्टम लागू गर्न लागेको छ ।

यो सिस्टमले पर्यटन क्षेत्रको वस्तुपरक तथ्यांक संकलन गर्ने सरकारको दावी छ । त्यसैले यसैमार्फत तथ्यांकमा मात्रै पर्यटक आगमन २० लाख पुग्ने हो कि भन्ने आशंका व्यवसायीलाई छ ।

पर्यटन मन्त्रालयले पर्यटक आगमनको दर बढेको देखाउन नयाँ सिस्टम प्रयोग गर्न बढी ध्यान दिँदा पर्यटक बढाउनै भने जोड नदिएको आरोप उनीहरुको छ ।

यो सिस्टम लागू गर्न अहिले पर्यटन बोर्डले तीव्र रुपमा काम गरिरहेको छ । यसलाई जतिसक्दो छिटो लगाउन मन्त्रालयले ताकेता गरेको गर्‍यै छ ।

अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानको हिस्साको तथंकलाई बष्तुनिष्ठ र यथार्थपरक रुपमा देखाउन भन्दै यो सिस्टम लागू गर्न लागिएको छ । यो सिस्टममा पर्यटनसम्बद्ध सबै तथ्यांकहरु एकीकृत रुपमा रहन्छन् ।

यो नयाँ वर्षबाटै लागू गर्ने योजनामा सरकार छ । यो सिस्टम लागू भएपछि स्थलमार्गबाट प्रवेश गर्ने विदेशी पर्यटक (भारतीयसहित)को तथ्यांक एकीन र तथ्यपरक रुपमा संकलन हुने छ ।

मन्त्रालयका भएको एक बैठकमा मन्त्री अधिकारीले भनेका थिए,‘जीप लिएर बिरहारबाट पोखरा र मुस्ताङ पुगेका पर्यटकको तथ्यांक खोइ ? ती हाम्रा पर्यटक होइनन् ? त्यसैले यो सिस्टम जतिसक्दो छिटो लागू हुनुपर्छ ।’

उनको भनाइलाई मान्ने हो भने अबको एकाउन्टिङ सिस्टमले सीमा कटेर नेपालमा रात बिताउने भारतीयको पनि अब पर्यटकको रुपमा गणना हुनेछ ।

त्यसैले मन्त्रालय २० लाख पर्यटकको लक्ष्य हालको अवस्थालाई उछाल दिएर भन्दा पनि अहिले नियमित रुपमा आइरहकै भारतीय पर्यटकको आगमनलाई यथार्थ तथ्यांकमा देखाएर पुरा गर्न खोजेको आशंका व्यवसायीमा छाएको छ ।

हाल भारतीय नाका हुँदै नेपालमा प्रवेश गर्ने भारतीय पर्यटकको संख्या एकीन छैन । ‘अबको हाम्रो एकाउन्टिङ सिस्टमले भारतबाट बस रिजर्भ गरेर पशुपति आएका भारतीयलाई पनि पर्यटकका रुपमा गन्छ,’ मन्त्रालयका एक अधिकारी भन्छन्,‘भारतबाट आउने सबैखालका पर्यटकलाई यो सिस्टममा ल्याउन खोजेका हौं ।’

धेरै भारतीय आगन्तुकले नेपालका होटलमा रातसम्म बिताउँदैनन् । बस रिजर्भ गरेर आउने कतिपय भारतीय पर्यटक स्टोभ र भााडाकुँडा बोकेर खाना पनि खुला चौरहरुमा बस रोकेर पकाउँछन् ।

तीनलाई पर्यटकको रुपमा गणना गर्नु गलत नै नभए पनि २०२०मा त्यही तथ्यांककै साहारा लिएर ‘लक्ष्य भेटियो’ भनिएमा त्यो ‘स्यालहुइयाँ’ मात्रै हुने ती मन्त्रालयका अधिकारीहरु नै बताउँछन् ।

प्रतिपस्पर्धाको वातावरण बनाऔं 

हाल कुल गाह्रस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत छ । सन् २०२० मा त्यसलाई १० प्रतिशत पुर्‍याउने लक्ष्य भेट्टाउन भन्दै यो सिस्टम लगाउन तयारी भएको छ । मन्त्रालयका प्रवक्ता उपाध्याय भने यो सिस्टमले तथ्याङ्क सही रुपमा संकल गर्ने भएकाले यसप्रति अविश्वास नगर्न आग्रह गर्छन् ।

हाल होटल र ट्राभलबाट भएको योगदानलाई मात्र पर्यटन क्षेत्रको योगदानको रुपमा गणना हुन्छ । अब अन्य क्षेत्रका तथ्यलाई पनि लिएर तथ्यांक तयार गर्न खोजिएको छ ।

‘११ लाखलाई २० लाख पुर्‍याउन त हालका गति र प्रयासले पुग्दैन । तर, भारतबाट आउनेहरुको संख्या जोडेर १६ लाख पुर्‍याउने अनि त्यसमा ४ लाख थपेर २० लाख पुग्यो भन्ने हो भने त सजिलो नै छ,’ पर्यटन व्यवसायी पाण्डे भन्छन्, ‘हामीले हालकै अवस्थाको गणनालाई हेरेर २० लाखको लक्ष्य मान्दा राम्रो हुन्छ ।’

होटल संघका अध्यक्ष शाक्य पनि यो सिस्टमलाई वस्तुगत तथ्यांक संकलनमा प्रयोग गर्नु अनुचित नभएको बताउँछन् ।

तथ्यांकमा मात्रै संख्या र योगदान बढेर नहुने भन्दै वास्तविक रुपमा पर्यटक आगमन बढाएर अझ सशक्त प्रतिपस्पर्धाको वातावरण तयार गर्न सरकार लाग्नुपर्नेमा जोड दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment