Comments Add Comment

नारायणगढ-बुटवल सडक विस्तारको काम माघबाटै, १७ अर्बको लगानी

१७ पुस, काठमाडौं । नारायणगढ-बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने काम माघको पहिलो हप्ताबाटै सुरु हुने भएको छ । काम सुरु गर्नका लागि पुसको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने तयारी गरिएको छ ।

भौतिक पूर्वाधार तथा यायातमन्त्री रघुवीर महासेठका अनुसार यही खण्डबाट पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाउने काम सुरु हुनेछ । बुटवल-नरायणगढ सडकखण्ड दुई वटा प्याकेजमा विस्तार गरिँदैछ ।

दुबै प्याकेजमा चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको छ । सडक विभाग अन्तरगतको एडीबी सडक निर्देशनालयले कम्पनीसँग गत पुस ४ गते नै आयोजनाका लागि सम्झौता गरिसकेको सडक विभाग अन्तरगतका आयोजना निर्देशनालय (एडीबी)का उपआयोजना निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

यो आयोजनामा प्राविधिक रुपमा सफल भएका ७ वटा कम्पनीहरु अन्तिम प्रतिस्पर्धामा थिए । जमा सबैभन्दा कम रकम बोलकबोल गर्ने कम्पनीले नै निर्माणको जिम्मा पाएको छ ।

चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्याकेज-२ अन्तरगतको ठेक्का ७ अर्ब ८६ करोड रुपैयाँमा हात पारेको छ ।

यस्तै प्याकेज-१ मा ९ अर्ब १३ करोड रुपैयाँमा उसैले ठेक्का पाएको छ । पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्यांकनमा असफल भएका थिए ।

विभागका अनुसार यो सडक खण्डकोे विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । र, विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भईकसकेको छ ।

कस्तो बन्छ रोड ?

अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ । जसलाई विभागले ४ लेनको बनाउन लागेका हो । जसका लागि विभागले एडीबीबाट ऋण सहयोग लिएको छ ।

अब दुई लेनको यो सडकलाई चार लेनको बनाइने छ भने दुई रदुई लेनको बीचको भाग ‘ग्रीनरी’लागि मेडियन बनाइनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७/७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने पौडेलले बताए ।

यो सडकखण्डको छेउमा रहेका वस्तीहरुका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । २८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ ।

जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ । सडकका दायाँबायाँ १.५/१.५ मिटरको सोल्जर पनि बनाइनेछ ।

१ सय १५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । नारायणगढ-दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेज अन्तरगत निर्माण गरिनेछ ।

यो खण्ड विस्तार गरिसक्न झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । बुटवल-नारायणगढ खण्डको पुरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालो/ओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ ।

त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएको छैन । त्यसैले त्यहाँको प्राकृतिक सम्वेदनशीलतालाई ध्यानमा राखेर ३ लेनमात्रै बनाउन लागिएको हो ।

३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । ओरालोतर्फ जाने सवारीले एक लेनमात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालोमा गाडीहरु सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोग गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment