Comments Add Comment

बालबालिकासँग प्रधानमन्त्री : म केटाकेटीजस्तै थिएँ !

१७ पुस, काठमाडौं । मञ्चको सम्मुखमा बसेकी एक बालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वतयारी प्रश्न गरिन् । उनको प्रश्नको आशय थियो, प्रधानमन्त्रीजस्तो व्यक्ति बाल्यकालमा तीक्ष्ण थिए होलान्, मेधावी थिए होलान्, जेहान्दार थिए होलान् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले फरक जवाफ दिए– ‘केटाकेटीमा म केटाकेटीजस्तै थिएँ ।’

अनपेक्षित जवाफ सुनेपछि यसलाई बालबालिकाले ठट्टा ठाने । उनीहरु गलल हाँसे । यस्तो भयो, मानौं कमलादीस्थित प्रज्ञा भवनको प्रेक्ष्यालयमा हास्य कार्यक्रम भइरहेको छ ।

तर, कार्यक्रमको प्रारुप फरक थियो । त्यहाँ बालबालिकासँग प्रधानमन्त्रीको साक्षातकारको मेलोमेसो मिलाइएको थियो । मञ्चमा प्रधानमन्त्री थिए, प्रश्नकर्ता दुई बालबालिकासँगै । सन्दर्भ थियो– अंग्रेजी नयाँ बर्षको । र, यसको अवसर जुराएको थियो, नेपाल स्काउटले ।

केटाकेटीमा खेल्ने

‘म केटाकेटीजस्तै थिएँ’ भनेर प्रधानमन्त्रीले ठट्टा गरेका थिएनन् । तर, उनको घतलाग्दो जवाफमा उपस्थित बालबालिकाले घोत्लिने आवश्यकता ठानेनन् । बरु, हतार–हतार दोस्रो प्रश्नका लागि कपीको चिर्कटो हेर्न थाले ।

प्रधानमन्त्री ओली भन्दै थिए, ‘केटाकेटीमा मलाई पनि खेल्न मन लाग्थ्यो । पढाइमा म आफूलाई नजान्ने त ठान्दिनथें । म सानो हुँदा कोचिङ क्लास, ट्युसन भन्ने सुनेको थिइनँ । त्यसबेला हामी दोहोरो होमवर्क गर्नुपथ्र्यो । एउटा विद्यालयले दिएको, अर्को घरले । घरमा आएपछि जूठोभाँडा माझ्नुपथ्र्यो, कुचो लगाउनुपर्थ्यो, लुगा धुनुपर्थ्यो । यसरी दोहोरो होमवर्क गर्दै पढियो ।’

अहिले कक्षाकोठामा विद्यार्थीलाई अनुशासित, ज्ञानी बन्नका लागि प्रेरित गरिन्छ । पढ्नु, सही उत्तर दिनु, परीक्षामा उत्तीर्ण हुनुलाई सर्वोपरी मानिन्छ । यही चक्करमा बालबालिका आफ्नो बालापनबाट बिमुख हुँदै गएका छन् । प्राथमिक कक्षामै ट्युसन, कोचिङजस्ता अतिरिक्त पठन–भार बोकाइने प्रवृत्तिले बालबालिकाहरु उन्मुक्त भएर खेल्न पाइरहेका छैनन् ।

संभवतः प्रधानमन्त्री ओलीले अहिलेका बालबालिकाको यही अवस्थामा लक्षित गर्दै आफ्नो बाल्यकालसँग तुलना गर्न चाहन्थे । तर, उनको कुरा सुन्ने भन्दा पनि तयारी प्रश्न सोध्ने हतारोले प्रश्नकर्तालाई अधैर्य बनाएको देखिन्थ्यो ।

विद्यालय र घरको दोहोरो होमवर्क

प्रधानमन्त्री ओलीले आफ्नो वाल्यकाललाई ‘जीवनोपयोगी शिक्षा’को धरातलमा उभिएको बताउन चाहे । तर, बालबालिकालाई यी कुरा हाँसउठ्दो लाग्यो । प्रधानमन्त्रीले ‘म विद्यालय र घरको दोहोरो होमवर्क गर्थें’ भनिरहँदा त्यहाँ हाँसोको फोहोरा छुट्थ्यो ।

प्रधानमन्त्री भन्दै थिए, ‘पछि मैलें आफै खाना पकाउन थालें, भाँडावर्तन माझ्न थालें । खाना खाने कामलाई सानो भनिँदै नरहेछ । सफा थाल, कचौरामा खाने कुरालाई सानो भनिँदैनरहेछ । तर, त्यो थाल, कचौरा, भाडा सफा गर्ने कामलाई चाहि सानो भनिँदो रहेछ । यो कुरा मैले ठूलो भएपछि थाहा पाएँ ।’

प्रधानमन्त्री ओलीले आफ्नो बाल्यकाललाई श्रमको मूल्य र महत्वसँग जोड्दै भने, ‘भाँडा माझ्ने, कुचो लगाउने काम सानो भनिँदो रहेछ, जुन म आफंै गर्थें । तर, मलाई विश्वास छैन, कुनै काम ठूलो हुन्छ, कुनै काम सानो हुन्छ । काम सबै उत्तिकै महत्वको हुन्छ ।’

पूर्खाले आर्जेको सीप र शिक्षा

बाल्यकाल, पढाइ र श्रमको सिलसिला बिट मारेपछि अर्को प्रश्न आयो– वैदेशिक रोजगारीको । दर्शकको लस्करमा बसेका एक विद्यार्थीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सोधे, ‘देशका युवाहरु विदेशमा रोजगारी गर्न गएका छन्, यसले कसरी प्रगति हुन्छ ?’

यो प्रश्नको उत्तर ओलीले केही रणनीतिक र केही दार्शनिक शैलीमा दिए । अहिले बेरोजगारीले, अभावले, दुःखले, समस्याले वैदेशिक रोजगारी वाध्यता छ भन्दै उनले थपे, ‘तर, भोलि हामी फरक तरिकाले विदेश पठाउने छौं । विदेशले कुनै वैज्ञानिक, इन्जिनियर चाहियो भन्यो भने, त्यस्ता जनशक्ति हामी पठाउनेछौं । भिजिटिङ प्रोफेसर पठाइदिने अवस्था सिर्जना गर्नेछौं ।’

यति भनेपछि उनी अलि गम्भीर देखिए । र, पूर्खाले आर्जेको सीप, दक्षता, शिक्षातर्फ गहिरिए । कसरी हाम्रा पूर्खाहरुले ढुंगेयुगबाट घर बनाउन सिके, कसरी खेतीबाली लगाउन सिके, कसरी खानेकुराको पहिचान गर्न सिके, कसरी प्रविधिको विकास गरे र समाजको रचना गरे भन्ने कुराको सिलसिला सुनाए ।

‘जतिबेला भाषाको निर्माण भएको थिएन, अक्षरहरु थिएन, त्यसबेला हाम्रा पूर्खाहरुले संकेतबाट आफ्नो कुरा अभिव्यक्त गर्थे । त्यही संकेतलाई ध्वनीमा र ध्वनीलाई लिपिमा विकास गरे । लिपिलाई ध्वानीमा विकास गरे । उनीहरुले अक्षरको निर्माण गरे, अंक बनाए, गणित बनाए’ उनले भन्दै गए, ‘त्यसैगरी ज्ञान, विज्ञान, औषधी, कला, साहितय, संगीत, वाद्य, नाच, परिकार अनेक विकास गरे । यी हाम्रा पूर्खाले आर्जेका अमूल्य धन हुन् । सम्पति हुन् । यसर्थ हामीसँग अथाह ज्ञान भण्डार छ, सीप र दक्षताको भण्डार छ । तर, वितेका चार सय वर्ष हाम्रा निम्ति अत्यन्तै प्रतिकुल बने । यति उर्वर धर्ती, पूर्खाको सम्पति छाडेर युवाहरु विदेशिए ।’

युवाहरु रहरले विदेशिएको नभई वाध्यता रहेको भन्दै प्रधानमन्त्रीले सुनाए, ‘रहरले टुरिष्ट भएर गएका होइनन् । रोजगारीको खोजीमा गएका छन्, जीविकाको खोजीमा गएका छन्, जीवनको खोजीमा गएका छन् ।’

जीवनमय मुलुकबाट जीवन खोज्दै मरुभूमिमा

हाम्रो प्रकृति जीवनमय छ । यहाँका नदी नालामा मत्स्य पालन गरिएको होइन, माछाहरु आफै भएका हुन् । चराहरु जंगलमा पालिएको होइन, आफंै भएका हुन् । हात्ती र गंैडाहरुको फार्मिङ कसैले गरेको होइन । आफंै भएको हो । किरा, फट्यांग्रा, उपिया, उडुस, भुसुना, झिँगासम्म यहाँ आफैं भएका हुन् ।

प्रधानमन्त्री ओलीले यो सिलसिला किन पनि जोडेका थिए भने, यति जीवनमय मुलुकबाट उराठ मरुभूमिमा नेपाली युवाहरु जीवन खोज्दै पुगेका छन् ।

‘तर, यस्तो जीवनमय देशबाट हामी जीवनको खोजीमा कहाँ भौतारिदैछौं ? जहाँ केही छैन । बालुवा सिवाय । एउटा विरुवा हुँदैन, रुख हुँदैन, चरा–चुरुंगी हुँदैन’ उनी भावुक भए, ‘जहाँ केही पनि हुँदैन, त्यहाँ हामी जीवन खोजिरहेका छौं ।’

४० लाख बढी युवाहरु यसरी नै वैदेशिक श्रम बजारमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभित्रै रोजगारको अवसर सिर्जना गर्ने वताए । भने, ‘सरकारले रोजगारीको थप अवसर सिर्जना गर्ने, साक्षरता दर बढाउने, सीप विकास गर्ने कार्यक्रम ठोस रुपमा अगाडि बढाइसकेको छ ।’

यसपछि भने प्रधानमन्त्रीले आफ्ना कार्यक्रम र नीतिबारे लम्बेतान भाषण गरे । साक्षरता कार्यक्रम चलाउने, महिला सशक्तीकरणको अभियान छेड्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम विशेष ढंगले अगाडि बढाउने, सीप आर्जन गरेकालाई उद्यमका लागि आर्थिक सहयोग गर्ने, तालिम केन्द्र सञ्चालन गर्ने, स्वरोजगार सिर्जना गर्ने, प्राविधिक एवं व्यवसायिक शिक्षालाई जोड दिने, श्रमप्रति अभिरुचि जगाउने किसिमको मानसिक परिवर्तन ल्याउने लगायत कार्यक्रम सञ्चालन गर्न गइरहेको उनले बताए ।

साथै अगामी वर्षदेखि बालबालिकालाई स्कुल बाहिर रहन नदिने कार्यक्रम पनि चलाउने तय भएको उनले बताए ।

कोही असफल हुँदैनन्

सामुदायिक विद्यालयको स्तर किन खस्किएको छ भन्ने प्रश्नको उत्तर दिइरहँदा प्रधानमन्त्री ओलीले एउटा घटना स्मरण गरे ।

दैलेख जिल्लाको पश्चिमी भेगको भ्रमण रहँदा दुई विद्यार्थी छिटो–छिटो हिँडिरहेका देखेछन् । उनले सोधेछन्, ‘कहाँबाट आएको ?’

विद्यार्थीले हतारमा जवाफ दिए, ‘विद्यालयबाट ।’

‘कति भयो विद्यालयबाट हिँडेको ?’

‘दुई घण्टा ।’

‘अब घर पुग्न कति लाग्छ ?’

विद्यार्थीले जवाफ दिए, ‘अझै एक घण्टा ।’

दुर्गम भेगमा अझै पनि विद्यालयको पहुँच नपुगेको स्मरण गर्दै उनले भने, ‘सामुदायिक विद्यालयको स्तर खस्कनुमा धेरै कारण छन् ।’ त्यसपछि उनले हाम्रो शिक्षा पद्दति कसरी विकास हुँदै आयो र राणा शासनबाट गुज्रिदै अगाडि बढेको शिक्षाको रुपान्तरण कसरी भयो भन्ने कुराको सिलसिला जोडे ।

‘अहिले पनि साक्षरतालाई शिक्षासँग जोडिन्छ, शैक्षिक प्रमाणपत्रलाई शिक्षासँग जोडिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यो सोचसँगै भौतिक, शैक्षिक सामाग्री र पहुँचले पनि हामी पछि प¥यौं ।’

कुनैबेला विद्यालयमा अनुत्तीर्ण विद्यार्थीलाई असफलको टाँचा लगाइदिने खराब प्रवृत्ति रहेको उल्लेख गर्दै उनले थपे, ‘यो समाजले अपराध गरेको हो । अहिलेको पिढीँ असफल छैनन् । ट्यालेन्ट छन् । तर, उनीहरुको यो ट्यालेन्टलाई हाम्रो शिक्षा पद्दतिले प्रकट हुन दिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment