Comments Add Comment

अनौठो लेखन कला प्रस्तुत गर्दै विश्व भ्रमणमा मनोज, २३ देश घुमेर युएई पुगे

१८ पुस, युएई । बैतडीको सिगास गाउँपालिका-९ चौखामका मनोज चन्दसँग अनौठो लेखन कला छ । दुबै हात, दुबै खुट्टा, दुबै कुहिना र मुखले सजिलै लेख्ने सक्नु उनको कला हो ।

रोचक कुरा उनले ६ वटा कलम एकैपटक चलाएर पनि उल्टो सुल्टो लेख्न सक्छन् । आफूमा भएको प्रतिभालाई विश्वभर चिनाउने र विश्व कृतिमान रच्ने यात्रामा छन् मनोज ।

मनोज विश्वका २३ देशको भ्रमण सकेर अहिले युएई आइपुगेका छन् । युएईका विभिन्न स्थानमा उनले नेपाली समुदाय र युएईका नागरिककाबीच आफ्नो कला प्रस्तुत गरिरहेका छन् ।

युएईको अबुधाबी, दुबई, सारजहालगायतका ठाउँमा उनले आफ्नो कला प्रस्तुत गरिरहेका हुन् ।

यसरी भयो कलाको पहिचान

९ कक्षामा अध्ययन गर्दादेखि कलाको पहिचान भयो । सुरुमा दाहिने र देब्रे हातले लेख्न थाले । देब्रे हातले लेख्दा कक्षामा साथीहरुले जिस्काउने गर्थे । उनले त्यो कुराको प्रवाह गरेनन् ।

मनोजले आफूमा भएको अन्य क्षमताको पहिचान गर्दै गए । क्रमश उनमा शरीरका अन्य अंगले पनि लेख्न सक्छु भन्ने विश्वास बढ्न थाल्यो । त्यसपछि दुबै हातसँगै दुबै खुट्टा, दुबै कुहिना र मुखले सजिलै लेख्ने सक्ने भए ।

अहिले मनोज शरीरका सात अङ्गसहित ६ वटा कलमलेे पनि एकैपटक लेख्न सक्छन् । कलेजमा एकैपटक दुईवटा नोट बनाउने गर्थे । तीन घण्टाको परीक्षा दुवै हातले लेखेर उनी डेढ घण्टामै सकाउथे ।

उनले मानवशास्त्र र राजनीतिशास्त्र दुई विषयमा मास्टर्स (स्नातकोत्तर) गरेका छन् । अध्ययन सकेर उनले जागिर भन्दा पनि विश्वभर आफ्नो कला पुर्‍याउने उद्देश्य राखेर अघि बढे ।

विश्वमा रहेका फरक क्षमता भएका मानिसहरु सामु आफ्नो कला देखाएर उनीहरुलाई हौसला दिलाउने उनको लक्ष्य छ ।

देश तथा विदेश यात्रा

आफ्नो कला विश्व माझ चिनाउने अभियानको यात्रा०६८ सालबाट सुरु भयो । देशभित्र चन्दले ७२ जिल्लामा लेखन कला प्रदर्शन गरिसकेका छन् ।

विदेश यात्रा थाइल्याण्डबाट सुरु गरे । चन्दले विभिन्न देशका नागरिक माझ कला प्रर्दशनी गदै जादाँ उनीहरुबाट राम्रो प्रतिकृया पाउँछन् ।

उनको कला देखेर धेरै व्यक्ति आश्चर्य चकित हुँदै थप हौसला दिने गर्छन् । उनी सम्झन्छन्, बंगलादेशमा अपाङगता भएका व्यक्ति माझ कार्यक्रम गर्दा राम्रो प्रतिकृया पाएको क्षण ।

त्यस्तै हंङकङमा समेत उनको कलालाई त्यहाँका नागरिकले दरिलो साथ र सहयोग गरेका थिए ।

फरक फरक देश र मानिसहरुका बिभिन्न प्रतिकृयाले उनमा उत्साह थप्ने काम गरेको छ ।  विभिन्न देशको भ्रमणमा जाँदा फरक क्षमता भएका र त्यस देशका स्थानिय व्यक्तिहरु माझ पुग्न सके उद्देश्य पूरा हुने चन्द बताउँछन् ।

एक सय देश पुग्ने उनको लक्ष्य छ । ती देशको भ्रमण पुरा गरेपछि शरीरिका सात अंग र ६ वटा कलमले एकैपटक पनि उल्टो सुल्टो लेख्ने कलामा निकट भबिष्यमा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा आफ्नो नाम राख्ने उनको योजना छ ।

युएईपछि उनको यात्रा कुवेत, बहराइन, कतार र जापानमा हुनेछ । यो कलामा उनी पहिलो भएको दावी गर्छन् ।

सरकारबाट अपेक्षा

विभिन्न देशमा कला देखाउँदा चन्दले देशको प्रतिनिधित्व गरेका हुन्छन् । व्यक्ति भन्दा उनी देशको नामले चिनिन्छन् । तर, देश विदेशको यात्रामा आर्थिक समस्याले सताउने उनको चिन्ता छ ।

विश्व यात्रामा चन्दले विभिन्न देशमा रहेका नेपाली दूतावास र एनआरएनहरुको सहयोग लिने गरेका छन् ।

कतिपय देशमा रहेका नेपाली नियोग तथा एनआरएनहरुले समन्वयकारी भूमिका खेल्न मद्दत गर्छन् भने कतिपय ठाँउमा सोचेअनुसारको सहयोग मिल्दैन ।

चन्द भन्छन्, ‘नेपाली पहिचानको कुरा उठाएर जादाँ पनि कतिपय ठाँउमा सोचे अनुसारको सहयोग हुँदैन । भिषा र टिकटको मुख्य समस्या हुने गर्दछ । युएई आउँदा उधारोमा टिकट काटेर आएको हुँ । नेपालीको प्रतिकृया रामो भएपनि समय दिन सक्नु हुन्न । त्यो उहाँहरुको बाध्यता हो । तर स्थानीयहरुसँग समन्वय गरिदिएमा सहज हुने थियो ।’

कतिपय ठाउँबाट फर्कंदा पानी पिउने पैसासमेत खल्तिमा नहुने गरेको अनुभव उनीसँग छ । ‘जीवन सिकाइ हो । सकारात्मक सोच राख्न पर्छ । हिम्मत हार्नु हुँदैन । हरेक परिस्थितिको सामना गरेर अगाडि बढेमा सफलता पनि प्राप्त गरिन रहेछ,’ उनी भन्छन् ।’

सरकारबाट सहयोग माग्न खोजेपनि अहिलेसम्म आश्वासन मात्रै पाएको चन्दको दुखेसो छ ।

विभिन्न देशमा रहेका नेपाली संघसंस्था तथा समुदायले उनलाई स्वइच्छाले आर्थिक सहयोग जुटाइदिन्छन् । त्यहीँ सहयोगले अगाडिको यात्रा तय गर्न मद्दत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment