Comments Add Comment

छापामा आजः दीपकराज जोशीले भने– अदालतमा मैले गर्नुपर्ने काम धेरै छन्

१९ पुस, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको पदबहाली र वाइडबडीबारे संसदीय उपसमितिले गरेको ठहर परेको छ । पदबहालीसँगै राणाले व्यक्त गरेका भनाइ तथा वाइडबडीबारे छानबिन गर्न गठित उपसमितिले निकालेको निष्कर्षलाई आजका पत्रपत्रिकाहरुले विविध शीर्षकमा उतारेका छन् ।

त्यस्तै राष्ट्रिय सुरक्षासँगै प्रतिरक्षा नीति ल्याउने तयारी गरिएको, सरकारको कार्यशैलीले निजी क्षेत्र सशंकित बनेकोलगायत खबरले पनि आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

कान्तिपुर दैनिकले आज नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदबारे संसदीय उपसमितिले निकालेको निष्कर्षमाथि टेकेर मुख्य समाचार लेखेको छ । त्यस्तै आन्तरिक सुरक्षा विधेकयले संघ–प्रदेश द्वन्द्व बढेको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ ।

कारोबार दैनिकले रोजगारीका लागि नेपाली युवा लैजाने सम्बन्धमा जापानले नेपाल सरकारलाई आधिकारिक अवधारणा बनाउन अनुरोध गरेको लेखेको छ । जापान सरकारले नेपाली कामदार लैजाने सम्बन्धमा गरेको निर्णयसँगै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग अवधारणा माग गरेको समाचारमा उल्लेख छ ।

नेपालबाट के कस्ता कामदार माग गर्ने भन्ने सम्बन्धमा नेपाललाई अवधारणा बनाउन अनुरोध गरेको श्रम मन्त्रालयका सचिवलाई कोट गर्दै कारोबारले खबर लेखेको छ ।

त्यस्तै, सरकारले विदेशी उद्योगलाई च्यापेर स्वदेशीलाई भने काखी च्यापेको अर्को खबर पनि कारोबारमा छ ।

कारोबार लेख्छ– ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा दिएको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नै स्वदेशी उद्योगलाई पाखा र विदेशी उद्योगलाई काखाको पक्षमा देखिएका छन् ।

कारोबार अगाडि थप्छ– स्वदेशी लगानीमा उद्योगलाई समेत विद्युत्, सडकको पूर्वाधार बनाइदिनुपर्ने आवाज उठिरहेका बेला अघिल्लो सरकारले ठूला परियोजनाका लागि मात्र बनाइदिने कार्यक्रमलाई निरन्तरता दिएसँगै प्रधानमन्त्री ओली पनि स्वदेशी उद्योग प्रबद्र्धनको पक्षमा नदेखिएका हुन् ।

नागरिकले पनि लगानी वातावरणबारे मुख्य समाचार लेखेको छ । नागरिकका अनुसार मुलुकमा लगानीको वातावरण बनाउन विद्यमान समस्या सुल्झाउनुको साटो सरकार कठोर बन्दै गएपछि निजी क्षेत्र सशंकित बनेको छ । त्यस्तै प्रधानन्यायाधीशको पदबहाली र वाइडबडी खरिद अनियमितताबारे पनि नागरिकले पहिलो पृष्ठमा खबर लेखेको छ ।

वाइडबडी खरिदबारे निरन्तर चासो राख्दै आइरहेको अन्नपूर्णले आज पनि यही विषयमा मुख्य समाचार लेखेको छ । राष्ट्रिय सुरक्षाँसगै प्रतिरक्षा नीति आउन लागेकोलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ ।। कूटनीतिक सम्बन्ध र मुलुकको आन्तरिक सुरक्षालाई ध्यान दिएर नीति तयार पारिएको समाचारमा लेखिएको छ ।

‘रोग लुकाउँछन् महिला’ शीर्षक दिएर अन्नपूर्णले जिल्लाबाहिर कालीकोटका महिलाहरुको प्रवृत्तिबारे पनि समाचार छापेको छ ।

नयाँ पत्रिकामा गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा सुनुवाइबारेको समाचार छ । समाचार अनुसार, ४४ पटक त उनको पेसी नै सरेको छ । ‘गोपाल पराजुली र दीपकराज जोशीलाई मात्र होइन, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि उनको मुद्दा हेर्ने फुसर्द भएन’ नयाँ पत्रिकाले लेखेको छ ।

राणाले दीपकराज जोशीको इजलास नतोकेकोलाई पनि नयाँ पत्रिकाले यही समाचारमा कम्पाइल गरेको छ । समाचारमा दीपकराज जोशीको प्रतिक्रिया पनि छापिएको छ । जसमा जोशीले सर्वोच्चमा आफ्नो धेरै काम रहेको प्रतिक्रिया दिएका छन् ।

‘प्रधानन्यायाधीशज्यूले बोलेका विषयमा अहिल्यै म केही प्रतिक्रिया दिन चाहन्नँ । कुनै निर्णय पनि लिन्नँ । यति मात्रै हो कि अदालतमा मैले गर्नुपर्ने काम धेरै छन्’, नयाँ पत्रिकासँग जोशीले भनेका छन् ।

गोरखापत्रको पहिलो पृष्ठ औपचारिक समाचारहरुले भरिएको छ । प्रधानन्यायाधीशको पदबहालीदेखि विकास निर्माणले तीव्रता लिने भनेर प्रधानमन्त्रीले व्यक्त गरेका भनाइलाई उसले प्राथमिकतापूर्वक समाचार बनाएको छ ।

राजधानीले लोकसेवा आयोगको अधिकारमा भारी कटौती भएको लेखेको छ भने नेपाल समाचारपत्रले कान्ति लोकपथ निर्माणबारे समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment