+
+

सेनाको घोडा फार्मः ‘प्रियंका’देखि ‘लण्डन ब्वाई’सम्म

गौरव पोखरेल गौरव पोखरेल
२०७५ पुष १९ गते ९:२०

१९ पुस, चितवन । भारतीय सेनाले २ चैत ०७४ मा नेपाललाई उपहारस्वरुप ७ वटा विभिन्न जातका घोडा हस्तान्तरण गर्‍यो । तत्कालीन भारतीय राजदूत मन्जिभ सिंह पुरीले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई ती घोडा सुम्पिएका थिए ।

तिनै घोडामध्ये ५ वटा पोथी जातका घोडा अहिले चिवतनको भरतपुरस्थित ‘सैनिक इक्वाइन बृडिङ सेन्टर’ मा छन् । प्रियङ्का, श्वेता, आँचल र संगीता नाम गरेका ती घोडा केन्द्रमा अधिकांश समय सँगै भेटिन्छन् ।

बिहीबार केन्द्रभित्र रहेको चौरमा पुग्दा पनि उनीहरु हुल बाँधिएर बसेका थिए । चिसो मौसममा घामको रापमुनि उनीहरु खेलिरहेका थिए । उनीहरु मात्र होइन, केन्द्रमा रहेका ४८ पोथी र २५ भाले गरी ७३ वटा घोडा र गधा आ–आफ्नो समूहमा थिए ।

पियङ्काहरु झैं चौरीको एक कुनामा थिए, पोनी जातका ५ नेपाली घोडा । केही महिना अघि उनीहरुलाई जोमसोमबाट ल्याइएको हो । अत्यन्त जाडो मौसमबाट यहाँ ल्याउँदा समस्या नहोस् भनेर उनीहरुलाई विभिन्न ठाउँमा राख्दै ल्याइएको थियो ।

स्याहारकर्ताहरुका अनुसार विभिन्न झुण्डमा बसेका घोडाहरुको तबेलामा पनि एकैठाउँमा छ ।

‘हरेक कोठामा एउटा घोडालाई मात्र राखिने भए पनि उनीहरु अन्य समय सँगै बस्ने गरेका छन्’, एक स्याहारकर्ताले अनलाइनखबरसँग भने, ‘जुन ठाउँबाट ती घोडाहरु ल्याइएका छन् । त्यहीअनुसार उनीहरुले समूह बनाएर बस्ने गरेको देखिएको छ ।’

घोडाको नाम पछाडिको विज्ञान !

यहाँ राखिएका घोडाहरुको अनेक नाम छन् । केन्द्रमै जन्मिएकालाई सकेसम्म सजिलो नेपाली नाम दिइने गरिन्छ । पहिचानका लागि सहज होस् भनेर नेपाली नाम राख्ने गरिएको हो । यद्यपि, विदेशबाट ल्याइएका घोडाहरुको भने त्यहाँकै नाम प्रयोग गर्ने गरिन्छ ।

उनीहरुलाई ल्याउँदा सम्बन्धित घोडाहरुको विवरण पनि दिइने गरिन्छ । भारतबाट ०६९ साल वैशाखमा आएका बाबु शर्मा, लन्डन ब्वाइ पनि केन्द्रमै छन् । यहाँ निभा, गन्डकी लगायत नाम गरेका घोडाहरु पनि छन् ।

केन्द्रका अधिकारीहरुले वैज्ञानिक तरिकाले नाम राख्ने प्रयास नगरेका पनि होइनन् । उत्पादनको बेला पनि सहज होस् भनेर बुबाको नामको एक अक्षरलाई जोडेर बच्चाको नाम राख्ने प्रयास पनि गरिएका छन् । यद्यपि, पूर्णरुपमा यो नियम पालना भएको छैन ।

अहिलेसम्म नेपालले अन्य देशलाई घोडा उपहार दिएको रेकर्ड भने छैन । नेपालभित्रै चाहिँ केहीअघि महानगरीय ट्राफिक प्रहरी महाशाखालाई १० वटा घोडा सेनाले उपहार दिएको थियो ।

नेपालको एक मात्र घोडा उत्पादन केन्द्र

चितवनको यो बृडिङ सेन्टर घोडा उत्पादन गर्ने नेपालको एक मात्र केन्द्र हो । नेपाली सेनालाई चाहिने घोडा उत्पादन गर्ने उद्देश्यले यो केन्द्रको १४ पुस ०४१ सालमा स्थापना भएको थियो ।

त्यसबेला भारत, पाकिस्तान, अष्ट्रेलियालगायतका देशबाट घोडाहरु ल्याएर उत्पादन सुरु गरिएको इतिहास भेटिन्छ । पछिल्ला दिनहरुमा भने स्वदेशी घोडालाई पनि राखिने गरिएको छ ।

पहाड र तराईमा पाइने पोनी जातका घोडाहरु यहाँ राखिन्छन् । हाल ती घोडा र खच्चडहरुको रेखदेख र स्वास्थ्य उपचारका लागि ५४ जना सैनिक अधिकारीहरु खटिएका छन् ।

केन्द्रमा ‘हाइब्रिड’ घोडा भने उत्पादन हुँदैन । एक चिकित्सक भन्छन्, ‘हामीले एउटै ब्रिडमा क्रस गरेर बच्चा उत्पादन गर्ने गरेका छौं ।’ यसको मतलव, यो केन्द्रमा हाडनाता पर्ने घोडाबाट बच्चा उत्पादन गराइँदैन ।

त्यसका लागि अधिकारीहरुले प्रत्येक घोडाहरुको विवरण राख्ने गरेका छन् । आमा, बुबा, हजुरबुबा, हजुरआमादेखि कम्तिमा ३ पुस्तासम्मको विवरण राखिने जनाइएको छ ।

यतिसम्म कि विदेशबाट ल्याइएका घोडाहरुको ‘पासपोर्ट’ नै हुन्छ । जसमा उनीहरुको तीन पुस्ते विवरण, जन्म मिति, लगाइएका खोपहरु लगायतको विवरण उल्लेख गरिन्छ ।

अधिकारीहरुका अनुसार एउटा माउले १७ वर्षसम्म बच्चा जन्माउन सक्छ । त्यसरी एउटा घोडा जन्मिएपछि प्रयोगमा ल्याउने गरी पूर्ण रुपमा तयार गर्न ३ वर्ष लाग्छ ।

माउ घोडाको गर्भमा रहने समय ११ महिनाको हुन्छ । जन्मिएपछि उसले ६ महिनासम्म दूध खान्छ । त्यस प्रक्रियामै डेढ वर्ष लाग्छ । तीन वर्षमा भने घोडा पूर्णरुपमा तयार हुन्छ । यसरी तयार भएको भाले घोडालाई स्टालिन भनिन्छ ।

यसरी यहाँ घोडाको उत्पादन मात्रै हुन्छ । तालिम भने काठमाडौंमा रहेको ‘नेपाल क्याभलरी’मै दिइन्छ ।

घोडाको महत्व


घोडाको प्रयोग परापूर्व कालदेखि नै हुँदै आएको पाइन्छ । पहिलो र दोस्रो विश्व युद्धमा पनि घोडाको प्रयोग भएको भेटिन्छ ।

नेपालमाचाहिँ कहिलेदेखि घोडाको प्रयोग भयो भन्ने इतिहास नभेटिए पनि यातायातको साधान उपलब्ध नहुँदा धेरै पहिलेदेखि विकल्पको रुपमा घोडा र हात्तीको प्रयोग हुनेे गरेको थियो ।

सैनिक केन्द्रीय प्रवक्ता सहायक रथी गोकुल भण्डारी भन्छन्, ‘घोडाको प्रयोग धेरै अगाडिदेखि भएको हो । युद्धहरुमा पनि घोडा चढेर लडाइँ भएको इतिहास छ ।’

उनका अनुसार अहिले नेपालमा विभिन्न राष्ट्रिय कार्यक्रमहरुमा घोडाको प्रयोग हुन्छ ।

सामान्यतयाः घोडा दुई किसिमका हुन्छन् ।

पहिलोः डफ्ट हर्स, जुन गाडा तान्न प्रयोग हुने गर्छ । त्यसअन्तरगत पनि विभिन्न जातका घोडाहरु छन् । चितवनको केन्द्रमा भने पर्चेरोन, बोराइकर लगायतका घोडा उत्पादन हुन्छ । जसले बग्गी तान्ने काम गर्छन् ।

दोस्रोः अर्को प्रकार भनेको ‘लाइट हर्स’ हो । जुन ‘राइडिङ’ मा प्रयोग हुन्छ । यो अरबियन, थरोग लगायतका प्रजातिका हुन्छन् ।

केन्द्रमा थरोग प्रजातिकै घोडाहरु छन् । राजाका पालामा दुई वटा अरबियन प्रजातिका घोडाहरु यहाँ भएको इतिहास भेटिए पनि हाल ती घोडा छैनन् ।

‘प्रायः घोडेजात्रामा प्रयोग हुने घोडा नेपाली जातकै हुन्छ’, सैनिक प्रवक्ता भण्डारीले अनलाइनखबरसँग भने, ‘त्यस्तै, हनुमानढोकामा र गोरखा दरबार लगायतका ठाउँमा पनि एउटा/एउटा घोडा राखिएका छन् ।’

देवीदेवताको प्रतीकका रुपमा घोडाहरुलाई त्यहाँ राख्ने गरिएको अधिकारीहरुको भनाइ छ ।

हरेक घोडाका बेग्लाबेग्लै कक्ष

केन्द्रमा हरेक प्रकारका घोडाहरुका बेग्लाबेग्लै कक्षहरु छन् । तबेला छुट्टाछुट्टै छन् । समूह, अवस्था र उमेर हेरेर पनि उनीहरुलाई राख्ने स्थान छुट्टयाइएको छ ।

भाले र पोथी घोडा बेग्लाबेग्लै राखिन्छन् । अशक्त र बिरामी छुट्टै राखिन्छन् । त्यस्तै, खानपिनको बस्तोबस्तीदेखि हरेक प्रक्रिया बेग्लाबेग्लै स्थानमा हुन्छ ।

गर्भ बोकेकाहरुलाई पनि बेग्लै राखिन्छ । उनीहरुलाई चिकित्सकको सल्लाह अनुसार पौष्टिक आहार पनि दिइन्छ ।

कतिपय अवस्थामा घोडाहरुको जन्मिँदै मृत्यु भएका घटना पनि छन् । कतिपयले जुम्ल्याहा सन्तानलाई पनि जन्म दिएका छन् । तर, अहिलेसम्म त्यस्ता घटनामा घोडाका बच्चाहरु जीवित रहन सकेका छैनन् ।

आहार

केन्द्रका अधिकारीहरुले घोडाको आहारमा पनि विशेष ध्यान दिने गरेका छन् । उनीहरुले हरेक तबेलामा खानपिनको टेबल नै बनाएका छन् ।

अधिकारीहरुका अनुसार घोडालाई प्रकारका खानेकुरा खुवाइन्छ । एउटा दाना भने अर्को घाँस, पराल आदि दिने गरिन्छ ।

दानामा चना, जौ, चोकर, नुन, भिटामिन, सोयाबिन, आलसको तेल लगायत मिसिएको हुन्छ । टेन्डर प्रक्रियामार्फत खरिद गरिएको दाना दैनिक ३ पटक घोडालाई खुवाइन्छ ।

नेपाली सेनाले पालेका घोडाको खान्कीमा मात्रै वार्षिक ८ लाख रुपैयाँ खर्च हुने गरेको देखिन्छ ।

चुनौती

अहिले केन्द्रले माग अनुसार घोडाको उत्पादन गर्न सकिरहेको छैन । भाले घोडाहरु ५ देखि ७ वर्षको अन्तरालमा अर्को फर्मबाट मगाउनुपर्छ । स्वदेशमा अन्य घोडा उत्पादन केन्द्र नहुँदा भारत, पाकिस्तान लगायतको देशबाट ल्याउनुपरेको हो ।

अहिले वार्षिक रुपमा १५ वटा घोडाको माग नेपाल क्याभलरीले गरेको छ । तर, त्यसका लागि वार्षिक २५ वटा बच्चा उत्पादन हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।

जसका लागि माउ पनि धेरै चाहिन्छ । अहिले बच्चा उत्पादन गर्न सक्ने भाले जातका ७ वटा घोडा मात्रै छन् । जुन पर्याप्त छैन ।

यो वर्ष २० वटा बच्चा उत्पादन गर्ने लक्ष्य राखिएको छ । पछिल्ला केही वर्षमा भाले र पोथी दुवै घोडाको अभाव हुँदा माग अनुसार घोडा उत्पादन हुन सकेको थिएन ।

पहिल्लो समय विभिन्न देशबाट घोडा आएकाले त्यो विस्तारै पूर्ती हुँदै जाने अधिकारीहरु बताउँछन् । ०७६ सालमा २५ वटा बच्चा उत्पादन गर्ने लक्ष्य छ । तर, त्यसका लागि थप ७ वटा माउ थप्नुपर्छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?