Comments Add Comment

सिड्नीमा तमु ल्होछार कार्यक्रमः ‘अरुलाई सम्मान हाम्रो पहिचान’ मूल नारा

सिड्नी । सिड्नीका गुरुङ समुदायले यही जनवरी ५ तारिखमा तमु ल्होछार मनाउने भएका छन् । तमु समाज सिड्नीको आयोजनामा हुन लागेको ल्होछार कार्यक्रममा आफ्नो पहिचान जोगाउन अरुको पनि सम्मान गर्न सिकौं भन्दै सन्देश दिन लागिएको छ ।

यसपाली ‘नयाँ वर्ष तमु ल्होछार, अरुलाई सम्मान हाम्रो पहिचान’ भन्ने मुल नारा अघि सारिएको तमु समाज सिड्नीका अध्यक्ष टंक गुरुङले बताए । तमु ल्होछार कार्यक्रम सिड्नीको हर्जविलस्थित मराना अडिटरियम हलमा हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा गुरुङ नाच, गित, खानपिन र झाँकी प्रस्तुत गरिनेछ । ल्होछारका लागि हरेक वर्ष नेपालबाट कलाकार आउने गरेपनि यसपाली भने सिड्नीमै रहेका गुरुङ कलाकारको मात्रै प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । ‘सिड्नीमै यत्ति धेरै प्रतिभा भएका गुरुङ कलाकार छन्,’ अध्यक्ष गुरुङ भन्छन्, ‘त्यसैले यसपाली यहिँकै कलाकारलाई प्राथमिकता दिदैछौं ।’

तमुहरुको पात्रोमा १२ वटा पशुपन्छीको नाम हुन्छ । पुस १५ मा जनावरको वर्ष परिवर्तन हुने दिनलाई गुरुङहरुले नयाँ वर्ष अर्थात ल्होछारको रुपमा मनाउने गर्छन् । यसपाली कुकुर वर्षलाई बिदाई गरी मृग वर्षलाई स्वागत गरिँदैछ ।

अष्ट्रेलियामा बढ्दो तमु समुदायका नयाँ पुस्तालाई तमु संस्कार सिकाउन ल्होछार महत्वपूर्ण भएको समाजका संस्थापक प्रेम तमु बताउँछन् ।

त्यस्तै तमुहरुलाई एकै ठाउँमा ल्याउन पनि ल्होछार महत्वपूर्ण रहेको पूर्व अध्यक्ष देव गुरुङको भनाइ छ ।

सन् २००५ देखि तमु ल्होछार कार्यक्रम भव्य हुँदै आएको छ । एक हजारभन्दा बढी सहभागि रहने ल्होछार कार्यक्रममा अन्य समुदायका मानिसको पनि बाक्लो सहभागिता रहँदै आएको छ ।

सन् १९९६ मा गठन भएको तमु समाज सिड्नीले अष्ट्रेलियामा गुरुङ संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment