Comments Add Comment

स्ववियू कार्यालयमा राष्ट्रपतिको तीन मिनेट

१९ पुस, विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी २५ बर्षपछि आफूले अध्ययन गरेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस पुगेकी छन् ।

२०४०–४१ सालमा स्ववियू राजनीति गरेकी भण्डारी आफ्नो अभिनन्दन समारोहमा सहभागी हुन करिब २५ बर्षपछि क्याम्पस पुगेकी हुन् । अभिनन्दन समारोहमा सहभागी हुनुअघि भण्डारीले स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको कार्यालयमा करिब तीन मिनेट बिताइन् । महेन्द्र मोरङ क्याम्पसस्थित सरस्वती मन्दिरको दर्शनपछि स्ववियू कार्यालय पुगेकी भण्डारीले समकालीन विद्यार्थी नेतालाई सम्झिइन् ।

आफूसँगै विद्यार्थी राजनीति गरेका केही साथीहरुको नाम लिँदै उनले कहाँ–कहाँ छन् भन्ने चासो राखेकी थिइन् । ‘यहाँ आउँदा विद्यार्थी कालमा फर्किए जस्तै लाग्यो भन्नुभयो’ राष्ट्रपतिसँगै स्ववियु कक्षमा पुगेका उप्राध्यापक चन्द्र उपाध्यायले भनेका छन्, ‘उहाँले आफ्ना साथीहरुको सम्झना गर्नुभयो ।’

भण्डारीले भित्तामा टाँगिएको स्ववियूको कमिटीको नामावली हेरिन् । २०४० सालमा भण्डारी स्ववियू कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यो कमिटीमा भारतराज पोखरेल सभापति र भूराज राई सचिव थिए ।

राष्ट्रपतिले भण्डारीले स्ववियू कक्षमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको पनि खोजी गरेकी थिइन् । लगतै स्ववियू भवन बाहिर बसेका मेयर पराजुली भित्र पुगेका थिए । ‘उहाँले विद्यार्थीकालको सम्झना गर्नुभयो’ मेयर पराजुलीले भने, ‘विद्यार्थी कालका साथीहरु खोज्दा मलाई पनि सम्झनु भएको हो ।’

२०४० सालामै जननेता मदन भण्डारीसँग विवाह गरेकी विद्यादेवीले विस २०५० सालपछि महेन्द्र मोरङ क्याम्पस आएकी थिइनन् ।

अभिनन्दन कार्यक्रममा राष्ट्रपति भण्डारीले महेन्द्र मोरङ क्याम्पस देशकै अब्बल शैक्षिक धरोहर भएको बताएकी थिइन् । समय सुहाउँदो शिक्षा दिन आवश्यक रहेको भन्दै उनले दक्ष जनशक्त उत्पादन गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment