Comments Add Comment

चार जिल्लाको लाइफलाइन लामोसाँघु–जिरी सडक : ३४ वर्षपछि मुहार फेरिदै

१९ पुस, चौतारा । राजधानीपूर्वका चार जिल्लाका लाइफलाइनको रुपमा रहेको लामोसाँघु जिरी सडक खण्ड अबको केही महिनापछि स्तरोन्नती सकिने भएको छ ।

जेठभित्रमा कालोपत्रे सकेर सडक पूर्ण रुपमा सञ्चालनमा आउने लामोसाँघु जिरी सडक सुधार आयोजनाले जनाएको छ ।

निर्माण व्यावसायीहरुको आन्तरिक विवाद र सरकारी ढिलासुस्तीका कारण सुस्त भएको सडक स्तरोन्नतीको काम अहिले भने तिव्र गतिमा भइरहेको छ । आयोजनाले निर्माण व्यावसायीहरुलाई काम सक्नका लागि पटक पटक म्याद थप गरे पनि व्यावसायीहरुले विभिन्न कारण देखाउँदै काममा अटेर गरिरहेका थिए ।

सडक सुधार आयोजनाले जेठभित्र काम सक्न अन्तिम पटक म्याद थपेपछि भने अहिले निर्माण व्यावसायीहरुले तिव्र गतिमा काम अघि बढाइरहेका छन् । ‘अहिलेकै कामको गति हुने हो भने जेठ महिना भित्रै काम सम्पन्न हुने हामीले आशा लिएका छौ’ सडक प्रभावित क्षेत्र लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले भने ।

केही महिना अघिदेखि निर्माण व्यावसायीहरुले लामोसाँघु जिरी सडक खण्डको खाडीचौरदेखि मुडे खण्डमा सब ग्रेड, सब बेस र बेसको काम सुरु गरेका थिए । सब ग्रेड र सब बेस गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको गुनासो पनि आएको थियो ।

अहिले निर्माण व्यावसायीहरुले त्यसलाई सुधार गरेर अहिले ल्याब परीक्षणबाट पास भएपछि मात्रै काम गर्न सुरु गरेको लामोसाँघु जिरी सडक सुधार आयोजनाले जानकारी दिएको छ ।

लामोसाँघु जिरी सडक खण्डको खाडीचौरदेखि माथि यतिबेला धमाधम सडक कालोपत्रेको तयारीको लागि सब ग्रेड, सब बेस (ग्राभेलिङ) र बेसको काम भइरहेको छ । खाडीचौरमाथि साढे ६ किलोमिटर सडकमा बेसको काम सकिएको निर्माण व्यावसायी सिमाञ्चाल, गौरी पर्वती सुनौला खिम्ती जेभीका साइट इञ्चार्ज लोकबहादुर श्रेष्ठले जानकारी दिए ।

‘सुरुमा सब बेस र बेसको काम गर्दा केही समस्या भयो, तर अहिले हामीले ल्याब परीक्षणबाट पास भएपछि मात्रै काम गरेका छौं’ श्रेष्ठले भने ‘यो भन्दा अघि केही स्थानमा सडक बिग्रेको भए पनि हामी त्यसलाई सुधार गरेर अघि बढ्छौं ।’

सडकमा कालोपत्रे गर्नुअघि पहिला नदीमा पाइने ग्राभेल हालेर पेल्नुपर्छ त्यसपछि, गिट्टी, वालुवा मिसाएर मेसिनबाट निर्माण गरिएको बेस हाल्नुपर्ने भए पनि यो सुरुको बेलामा त्यसो नगरिएको प्राविधिकहरुले गुनासो गरेका थिए । तर अहिले भने मापदण्ड अनुसारकै काम भइरहेको सडक सुधार आयोजनाले जानकारी दिएको छ ।

लामोसाँघु जिरी सडक सुधार आयोजनाका परामर्शदाताका इन्जिनियर अभिषेक प्रधान भने नियमसँगत रुपमा नै सडकमा सब–ग्रेड, सब–बेसको काम भइरहेको बताउँछन् । ‘सुरुमा केही समस्या भयो तर अहिले गुणस्तरयुक्त सामग्री हालेर सडक निर्माणको काम भइरहेको छ’ उनले भने । भारतको एक्जीम बैंकको सहयोगमा सिन्धुपाल्चोकको खाडीचौरदेखि मुडे नजिकै २५ किलोमिटर सडक निर्माण भारतको सिमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती र सुनौलो खिम्ती कनस्ट्रक्सनले पाएको थियो ।

२५ किलोमिटरमध्ये अहिले साढे छ किलोमिटर सडकमा बेसको काम सकिएको साइट इञ्चार्ज श्रेष्ठले जानकारी दिए । आफूहरुलाई दिएको अन्तिम समय सम्ममा खाडीचौरदेखि मुडेसम्मको सडक कालोपत्रे सक्ने गरी काम सुरु गरेको उनले जानकारी दिए ।

माघ १५ सम्म कालोपत्रेका लागि तापक्रम पुग्दैन, त्यतिबेलासम्म हामी सब ग्रेड, सब बेस र बेसको काम गर्छौं, माघ १५ पछि एउटा टोलीले तलबाट कालोपत्रेको काम गर्छन् अर्काे टोलीले माथि त्यही काम गर्छन्’ श्रेष्ठले भने । सडक कालोपत्रेका लागि अलकत्रा (बिटुमिन) समेत आइसकेको छ । बेसका लागि जिल्लाका क्रसरहरुमा पाइने गिट्टी काम नलाग्ने भएकाले आफूहरु अन्यत्र गएर गिट्टी ल्याउने तयारी गरेको उनले जानकारी दिए ।

यो सडक खण्डमा डिमस्टिक प्रविधिको कालोपत्रे हुने छ । तर सडकमा गुड्ने सवारी साधनहरुको चाप हेर्दा अक्सफल कालोपत्रे गर्नुपर्ने भए पनि प्राविधिकहरुले दिएको डिजाइन अनुसार नै आफूहरुले कालोपत्रे गर्ने ठेकेदारहरुले बताएका छन् ।

मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर सडक खण्डमा पनि अहिले धमाधम सडक स्तरोन्तीको काम भइरहेको छ र यो खण्डमा पनि जेठभित्रै कालोपत्रे गरेर सडक सुधार आयोजनालाई सडक हस्तान्तरण गरिने निर्माण व्यवसायीहरुले बताएका छन् ।

३४ वर्षपछि दुई लेनको सडक

स्वीस सरकारको सहयोगमा निर्माण सम्पन्न भएको लामोसाँघु जिरी सडक खण्ड निर्माण सम्पन्न भएको ३४ वर्षपछि दुई लेनको निर्माण हुने भएको छ । यसअघि तीन मिटर फराकिलो सडक भएपनि अहिले भने त्यसलाई सुधार गरेर तयारी सडक सात मिटरको बनाइएको छ ।

अब सात मिटर सडकमा कालोपत्रे हुने लामोसाँघु जिरी सडक सुधार आयोजनाले जानकारी दिएको छ । सडकमा सवारी चाप बढेसँगै यो सडक पनि दुई लेनको बनाइएको सुधार आयोजनाले जानकारी दिएको छ ।

सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु जिरी सडकको चौडा बढाउने काम भइरहेको छ । अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नती दुई बर्ष अर्थात २०१७ को अक्टोबरसम्ममा सकिनुपर्नेमा भूकम्प, निर्माण व्यावसायीको आन्तरिक विवादले ढिलाइ भएको हो ।

सडक सुधार आयोजनाले २०७५ जेठ मसान्तसम्म सडक निर्माण सक्न समय दिएको छ । भ्याटसहित ५१ करोड ४४ हजार ८ सय १० रुपैयाँ लागतमा सडक चौडा गर्ने र कालोपत्रे गर्ने जिम्मा दिइएको थियो । २०१५ को जुन ३ मा ठेक्का सम्झौता भएको थियो ।

त्यस्तै मुडेबाट चरिकोटसम्मको ३० किलोमिटर सडक स्तरोन्नतीको जिम्मा भारतको सकिल हैदर, शंकर माली र नेपालको सुनौलो खिम्तीले पाएको थियो ।

भ्याटसहित ९१ करोड ९४ लाख ९४ हजारमा सडक कालोपत्रे र चौडा बनाउनुपर्ने सडक सुधार आयोजनाले जानकारी दिएको छ । सुरु सम्झौतामा खाडीचौरदेखि मुडेसम्म खण्डको लागि भ्याटसहित ४४ करोड ३६ लाख ९७ हजार रुपैयाँ थियो भने दोस्रो पटक ४७ करोड ३२ लाख र तेस्रो पटक ५० करोड रुपैयाँ लागत पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment