Comments Add Comment

रेशम चौधरीको सपथ कानूनीराजको उपहास : राप्रपा

१९ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई सांसद पदको सपथ गराएकोमा आपत्ति जनाएको छ ।

टीकापुर घटनाका अभियुक्त चौधरीलाई सपथ गराउनु कानूनीराजको उलंघन भएको राप्रपाले जनाएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘जघन्य टीकापुर घटनाका अभियुक्त किटान गरी अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको सपथ गराउने कार्यले कानूनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको छ । राप्रपा यस कार्यको विरोध गर्दछ ।’

चौधरीले बिहीबार डिल्लीबजार कारागारबाट संसद सचिवालयमा आई सांसद पदको सपथ लिएका थिए । उनलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

२०७२ भदौमा कैलालीको टीकापुरमा भएको थारु समुदायको आन्दोलनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी मारिएको घटनाका अभियुक्त चौधरी हाल पुर्पक्षका लागि थुनामा छन् । घटनापछि फरार रहेका उनले फरार अवस्थामै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिई निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment