Comments Add Comment

यो ‘भोलि उठी कहाँ जाने…’ सरकार होइनः प्रधानमन्त्री

हामीले राजनीतिक परिवर्तन ल्यायौं । चुनाव गर्‍यौं । स्थायी सरकार बनायौं । अब झमेला गर्नुपर्ने अवस्था पनि रहेन । अब सुशासन र विकास नै आजको आवश्यकता हो । यसतर्फ बढ्नुपर्नेछ । तीव्रताका साथ अगाडि बढ्नुपर्नेछ । हरेक क्षेत्रमा तीव्रताका साथ काम अघि बढि पनि रहेको छ । जुनसुकै क्षेत्र । शिक्षाको क्षेत्र, स्वास्थ्यको क्षेत्र, निर्माण यातायातको क्षेत्र, पर्यटनको क्षेत्र या अरु क्षेत्रहरु हुन् । कृषिको क्षेत्र होस्, उद्योगको क्षेत्र होस् वा व्यापारको क्षेत्र । तीव्रताका साथ हामी अगाडि बढिरहेका छौं । नयाँ नयाँ योजनामा छौं । यस प्रसंगमा खानेपानी मन्त्रालय पनि तीव्रताका साथ अगाडि बढेको छ । हाम्रो उत्साह मात्रै होइन, संकल्प र त्यस संकल्पलाई हामी व्यवहारमा परिणत गर्छौं ।

यहाँ वाग्मती प्रदुषित छ । तर, केही किलोमिटर यसलाई नचलाई बग्न दिइयो भने सफा भइदिन्छ । हामीले ल्याउने भनेको मेलम्ची खोलामा बगाउनलाई मात्र भए प्रदुषित हुने थिएन । त्यो प्रयोगका लागि हामी ल्याउँछौं, हामीले प्रयोग गर्ने भनेपछि प्रदुषणको कुरा आइहाल्छ । समस्या यसैमा हो ।

काठमाडौंका बासिन्दाले स्वच्छ पानी पिउन पाउनुपर्छ । फेरि काठमाडौं भन्दा ललितपुर भनेको होइन । काठमाडौं भ्याली भनेको । -चिरिबाबु महर्जनतर्फ लक्षित गर्दै) फेरि मेरै आँगनमा आएर मेरै कुरा नगर्ने भन्नुहोला । स्वच्छ हावामा सास फेर्न पाउनुपर्छ । काठमाडौं उपत्यका यो एउटा खाल्डो परेको जस्तो ठाउँ हो । त्यस कारण यहाँ वातावरणीय स्वच्छता आफैं पनि एउटा चुनौति हो, भूबनोटका कारणले । तर, गर्न नसकिने कुरा होइन । सकिन्छ । त्यस कारणले यहाँ स्वच्छ हावामा सास फेर्न सकियोस् । स्वस्थ र स्वच्छ सफा पानी पिउन सकियोस् ।

अब उहाँ (चिरिबाबु) कै जीवनमा बाग्मतीमा हाम्फाल्न पाइन्छ । तर, अब बाग्मतीको पानी खान चैं पर्दैन । फोहर भएर होइन । त्यो सफा गरिन्छ । तर, फेरि पनि खोलाको पानी डि्रन्किङ वाटर भित्र पर्छ नै भन्न सकिन्न । अब त्यसभन्दा माथि उठाउनुपर्छ । नुहाउन मिल्ने । पौडी खेल्न मिल्ने । खायो भने खान पनि मिल्ला तर, नखाने ।

अब हामी त्योभन्दा अलिकति माथि उठ्नुपर्छ । काठमाडौं उपत्यकाको मात्रै कुरा होइन । नेपालकै जनताले । यो यस्तो धर्ति । मैले ग्लोबल वार्मिङको सन्दर्भमा । क्लाइमेट चेन्जको सन्दर्भमा अन्तर्राष्ट्रिय थुप्रै फोरमहरुमा पनि पटक बोलेको छु । नेपालको योगदानतर्फ ध्यान दिनुपर्छ । त्यसलाई बुझ्नुपर्छ भनेको छु । कार्वन उत्सर्जन कति भयो भन्ने कुरा मात्रै होइन ।

ग्लोबल वार्मिङको कुरा

ग्लोबल वार्मिङका कुरा गर्छन्, हाम्रो धर्ति नै यस्तो छ, १५ प्रतिशत भूभागले आफ्ना टाउकामा, आफ्ना काँधमा मिटरका मिटर बाक्लो तह हिउँ बोकेर बसेका छन् । माइनस ५० डिग्री सेल्सियस भन्दा बढी चिसो बोकेर बस्या छ ।

राजस्थानतिरबाट आओस् कि गुजराततिरबाट आओस् कि जतैबाट आओस् । तातो हावा आएपछि त्यहाँ छेउमा पुग्दा चिसो भइसक्छ । ठोक्किन भन्दा अगाडि वर्तिरबाटै चिसो भइसक्छ ।

हाम्रा हिमालका छेउमा आएर भनोस् त वार्मिङ स्वार्मिङ -कार्यक्रम स्थलमा हाँसोको फोहोरा छुट्यो) । ग्लोबल वार्मिङलाई केही किलोमिटर परैदेखि सेकेर ठेगान लाइदिन्छ ।

यो चाहीँ दुनियाँले बुझ्नुपर्छ आजको दिनमा । वातावरणीय कुरा गरिरहँदा नेपाल वातावरण सन्तुलित राख्ने, ग्लोबल वार्मिङलाई कन्ट्रोल गर्नका निम्ति अत्यन्त महत्वपूर्ण छ । हावा आउँछ, किटाणुरहित बनाइदिन्छ चिसोले । ग्लोबल वार्मिङलाई हावाले चिसो बनाइदिन्छ । ग्लोबल वार्मिङ कम गर्न कन्टि्रब्युसन ठूलो छ नेपालको ।

अब अर्को पक्ष । मरुभूमिकरणको यत्रो चिन्ता भइराख्या छ । हाम्रो धर्तिले के गरिररहेको छ भन्दा त्यो काँधमा टाउकामा मिटरका मिटर बाक्लो हिउँ बोकेर । अनि त्यसबाट अलि अलि गरेेर रसाएर अलिअलि पग्लिएर । थोपाथोपा गरेर । अरु अन्तको जस्तै त्यस्तो रेस्पोन्सिबल नहुँदो हो त हाम्रो पहाड, ख्वाल्ल पानी पथ्र्यो स्वाल्ल बगेर जान्थ्यो होला नि ।

हाम्रो पहाड यस्तो रेस्पोन्सिबल छ कि चिसो पारेर हिउँ बनाएर ठ्याक्क बोकेर बस्छ, अलिअलि अलिअलि गरेर छोड्छ । अनि छोडेपछि भित्र चट्टानका तहहरुमा पानी पस्छ । त्यो चट्टानबाट विस्तारै विस्तारै, हस्पिटलमा स्लाइन दिँदा त्यति मजाले फकाइ फकाइ दिँदैन होला, त्यति इमानले चट्टानले खटाई खटाई दिन्छ । त्यही हो स्पि्रङ वाटर भनेको । हाम्रो हिमालले खटाएर छोडेको । हाम्रो चट्टानले खटाएर छोडेको । खटाएर छोडि्दँदै मूलको रुपमा एकमुष्ट भएर निस्किने त्यो पानी हो । पहाडभित्र चट्टान छ । त्यो चट्टानमा कसरी मूल फुट्छ ? यो रिचार्ज सिस्टम सानो कुरा होइन ।

किन हाम्रा पहाडहरु हरिया छन् ? मरभूमिकरण त यही रिचार्ज सिस्टमले रोकेको छ । पहाड रसिला छन् । त्यहाँ जार, जंगल, बनस्पती, औषधिदेखि लिएर जीवजन्तु । यो पैदा गरेकै छन् हाम्रा पहाडहरुले । गंगा भारतमा बग्छ । पानीको कसको भन्दा ७२ प्रतिशत पानी यो सुख्खायाममा हाम्रो योगदान हो । बर्खायाममा भारतको ठूलो क्षेत्रफल भएकाले ४० प्रतिशत हाम्रो पानी गंगामा हुन्छ । क्लाइमेट कहाँबाट पैदा हुन्छ भन्दा कि पहाड कि समुन्द्र । यही दुईटाबाट हो । वातारण यहीँबाट हो । मौसम यहीँबाट हो ।

यस्तो देश, हाम्रा नदीहरु फोहर छैनन् खासै । अलिअलि फोहर हुन थालेका छन् त्यसलाई हामीले म्यानेज गर्नुपर्छ । हाम्रो ठूलो समस्या होइन । हाम्रो देशै रिफाइनरी जस्तो छ । ग्लोबल वार्मिङमा कति कन्टि्रब्युसन होला हाम्रो ? विचार गर्नुस् त । दुनियाँ भरिको हावा आउँछ, हिमालमा ठोक्किन्छ । यसो त धुव्रीय क्षेत्रहरुमा एन्टार्टिका, उत्तरी ध्रुवतिर चिसै त हुन्छ नि भन्ठान्छन् ।

ग्लोबल वार्मिङ त्यहाँको हो र ? एन्टार्टिकाको हो र ? ग्लोबल वार्मिङ भनेको भूमध्य रेखा, कर्कट रेखा, मकर रेखाबीचको कुरा होइन । हो, त्यहाँ चैं पर्छ हाम्रो शुद्धीकरणको फ्याक्ट्री । हिमाल, पहाड । त्यसकारण यो साह्रै महत्वपूर्ण । पोलिटिकल स्ट्राटेजिक कुरा होइन । नेचुरल्ली स्ट्राटेजिक प्वाइन्ट हो । त्यसै कारण उर्वरमय छ, खानीमय छ, खनिजमय छ । यो सम्पदामय छ । यस्तो ठाउँमा बसेका मान्छे हामी । यहाँ अब खानेपानीको शुद्धताको समस्या । दुनियाँको हावालाई स्वच्छ र शीतल पार्ने ठाउँमा दुर्गन्धको कुरा । सम्झाउँदै हिँड्नुपर्ने । यो अब इतिहास बनाइन्छ । धेरै ठूलो कुरा होइन यो । तर, हामीलाई यही भयानक विषय भइदियो ।

हामी अलि आशे भएका छौं

तपाईंहरुलाई म भन्न चाहन्छु- अहिलेको सरकारले आँखा चिम्लिएर हिँडेको छैन ।

यो ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भनेर हिँड्या सरकार होइन । भोलि उठेर कता जाने, आज कता जाँदैछ, थाहा पाएर हिँड्छ । त्यसकारण यो सरकार बुझेर, थाहा पाएर हिँडेको छ ।

एक ठाउँ, एउटा काम मात्र होइन । वर्ष, दुई वर्षमा एउटा काम होइन । मैले भनेको छु विकास निर्माणका काममा हरेक दिन एक पाइला अगाडि ।

यहाँ आज यो काम भइराखेको छ, अर्को ठाउँमा यस्तै काम भइराखेको छ । कतिपयले छोप्न खोज्लान् । कतिपयले लुकाउन खोज्लान् । तर, कहाँ हुन्छ त्यो ? हामी परिवर्तन ल्याउन सक्छौं र ल्याउँछौं ।
अहिले हामीसँग प्रविधि कम छ । अहिले हामीसँग पैसा कम छ । त्यसकारण हामी अलि आशे भएका छौं । आश गर्ने बानी परेको छ । कसले गरिदेला ? हामी कस्ता आशे भएका छौं । हाम्रो देश हामी आफैंले बनाउनुपर्छ । अलि समयलाई हो । विद्वानहरुको देश, ४ सय वर्ष जति हामी पछाडि पर्यौं ।

हामीमा हीनग्रन्थी पलाइसक्यो । अर्को रङको मान्छे देख्यौं भने हामी विद्वानजस्तो देख्छौं । हीनताबोध भइसक्छ । ऋषिमुनिका सन्तानहरु । ज्ञानीध्यानीका सन्तानहरु । आविकास्कार, अनुसन्धानकर्ताका सन्तानहरु । जहाँ ज्ञान पैदा गर्थे, संकलन गर्थे, प्रचार गर्थे तिनका सन्तानहरु हामी । अस्ति भर्खरसम्म कता हो कता । कुनै देशै पत्ता लागेको थिएन । कतै ज्ञान के हो थाहै थिएन ।

यहाँ हाम्रा साहित्यका नवरस, संगीतमा सप्तस्वर । खानामा चौरासी व्यञ्जन हुँदा पाउरोटी बनाउन सिक्दै थिए भर्खर । चौरासी व्यञ्जन सानो कुरा हो ? यहाँ औषधि विज्ञान उत्कर्षमा पुगिरहँदा के गरेर होला कसरी होला सोच्दै थिए । तिनलाई देख्दा हामीलाई विद्वान विद्वान जस्तो लाग्छ । तिनका अगाडि आफू मूर्ख मूर्ख जस्तो लाग्छ । तिनले छोयो कि निको होला निको होला जस्तो, तिनले टेके कि विकास होला जस्तो । हामी हौं गर्ने, हामी सक्छौं गर्न ।

हाम्रो वडा ठीक हुनुपर्छ । हाम्रो नगर ठीक हुनुपर्छ । हाम्रो देश ठीक हुनुपर्छ । अनि बल्ल हामीले गर्व गर्न सक्छौं ।

(ललितपुरको बालकुमारीस्थित धोबिखोलामा फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्वोधनको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment