Comments Add Comment

यूपीएफको प्रचारवाजी: नेपालको संविधानमा ‘सच्चा मातापिता’का शब्द

२० पुस, काठमाडौं । यूनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले नेपालको जारी संविधानमा कथित सच्चा मातापिता (यूपीएफका धर्मगुरु स्व. सन म्योङ मुन र उनकी पत्नी हाक जा हान मुन) का शब्दहरु समावेश भएको प्रचारवाजी गरेको भेटिएको छ ।

यूपीएफ एसियाका निर्देशक डा. रोबर्ट किटेलले कोरियामा आयोजित सम्मेलनमा यस्तो दावीका साथ नेपालसम्वन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।

किटेलले पावर प्वाइन्ट प्रिजेन्टेसनसहित गरेको भाषणको भिडियो यूट्यूवमै राखिएको थियो, तर अहिले हटाइएको छ । भिडियोमा किटेलले भनेका छन्, ‘नेपालमा अहिले शान्ति छ । (तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गरेको तस्वीर देखाउँदै) यो उनीहरुको नयाँ संविधान हो । नेपाल परिवार दल संविधान लेख्ने र हस्ताक्षर गर्नेमध्येको एक दल हो । यो संविधानमा सच्चा मातापिताका शब्दहरु छन् ।’

उनी थप्छन्, ‘जब यो तस्वीर देख्छु, मलाई कोरियाको सम्झना आउँछ । तपाईंहरुले यहाँ पनि परिवार दल स्थापना गर्ने प्रयास गर्नुभएको थियो । अहिलेसम्म त्यसमा सफलता मिलेको छैन होइन ? तर यदि तपाईंहरुले यहाँ प्रयास नगरेको भए हामीले नेपालमा पनि प्रयास गर्ने थिएनौं ।’

सम्वोधनमा उनले काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनका क्रममा नेपालका मेयरहरु जम्मा गरेर सच्चा पितामाताको शिक्षा दिएको बताएका छन् ।

‘नेपालमा २० वर्षदेखि स्थानीय निकायको निर्वाचन भएको थिएन । त्यसैले अहिले निर्वाचित जनप्रतिनिधिहरुलाई के गर्ने कसो गर्ने थाहा छैन । हामीलाई उनीहरुले भनिरहेका थिए कि मेयरहरुलाई शिक्षा दिनुस । हामीले दियौं । मेयरहरुलाई हामीले होइन नेपालका प्रधानमन्त्रीले नै निमन्त्रणा गर्नुभयो । कृपया यो वर्कसपमा भाग लिनुस भनेर बोलाउनुभयो । हामीले एउटा सेसनमा एक सय ५० सहभागीको अपेक्षा गरेका थियौं, तर ३०० सहभागी प्रत्येक सत्रमा थिए । त्यहाँ को थिएन ? मन्त्री, प्रधानमन्त्री सभामुख, सांसद, मेयर, उपमेयर सबै थिए । कुल मिलाएर र्दुइ हजार ३ सय ६ जना थिए ।’

त्यसपछि उनी माधवकुमार नेपालको फोटो स्क्रिनमा देखाउँदै भन्छन्, ‘मेयरहरुलाई शिक्षत गर्ने कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री प्रमुख अतिथि थिए । उनी इन्भिटेसन कमिटीका अध्यक्ष पनि हुन् । उनले सच्चा पिता (सन् म्योङ मुन) लाई ४ वटै महादेशमा पुगेर ४ पटक भेटिसकेका छन् ।’

उनले नेपाल अहिले समृद्धिको यात्रामा रहेको भन्दै समृद्धिले नैतिक पतन ल्याउने र त्यसबाट नेपाललाई कसरी जोगाउने भनेर पनि केही बेर विवेचना गरे ।

‘सच्चा मातापिता कारण नेपालको शान्ति प्रक्रिया सफल’

एसिया प्यासिफिक सम्मेलनकाबारेमा बोल्ने क्रममा संस्थाका एसिया क्षेत्रीय अध्यक्ष डा. चुङ सिक योङले पनि उत्तिकै भ्रामक अभिव्यक्ति दिए । उनले कथित सच्चा मातापिताका कारण नै नेपालमा शान्ति प्रक्रिया सफल भएको जिकिर गरे ।

उनले भने, ‘एशियामा अनेक धर्म छन्, ती अनेक धर्मले सच्चा मातापितालाई स्वीकार्न सकेन । तर, आज नेपाल देशले मदर मुनलाई जिससकी एक मात्र छोरी र ईश्वरीय अवतारको रुपमा एकमतले स्वीकार गरेको छ । भनाइको मतलब, नेपालले धेरै समयदेखि ईश्वरको अवतारलाई पर्खिरहेको आभास हुन्छ ।’

उनले नेपालमा मदर मुनको स्वागत विशिष्ट तवरले भएको स्मरण गरे ।

उनले भने, ‘काठमाडौंको व्यस्त सडक सजिएको थियो । स्वागतका लागि सडक खाली गरिएका थिए । सडकमा सुन्दरगेटहरु बनाइएको थियो र १० हजार सुरक्षाकर्मीहरु अगाडि–पछाडि गर्दै सुरक्षाको लागि खटिएका थिए । लाग्थ्यो कि संसारकै राजाको स्वागत भइरहेको थियो । मदर मुन बस्ने ह्यात होटलको २/३ किलोमिटर अगाडिदेखि नै हजारौंं स्कुलका विद्यार्थीहरु र सर्वसाधारणहरु स्वागत गर्न उभिएका थिए । लाग्थ्यो कि नेपाल मदर मुनको आशिर्वाद प्राप्त गर्न लालायित थियो ।’

योङले एसिया प्यासिफिक सम्मेलन अभूतपूर्व रुपमा सफल भएको बताए ।

‘आजसम्म युनिफिकेसन चर्चको इतिहासमा यस्तो भव्यता कहिल्यै भएको थिएन । यो अत्यन्तै अभूतपूर्व रह्यो । सातजना राष्ट्रप्रमुखसहित ४५ देशका भीआईपीबीचमा मदर मुनले आफूलाई जिससकी एक मात्र छोरी र ईश्वरको अवतार घोषणा गर्नुभयो । उहाँ संसारकै रानी बन्नुभयो । बधाई छ, सच्चा मातालाई ।’

उनले नेपालका मिडियामा मदर मुनको समाचार छाप्न होडवाजी चलेको जिकिर गरे । एउटा राष्ट्रिय अंग्रेजी दैनिकको नाम लिँदै भने, ‘उक्त दैनिकका प्रमुखसहितको टोलीले सच्चा मातालाई भेटेर ढोग गरी उहाँमार्फत आशिर्वाद प्राप्त गरे र ईश्वरको अवतारको रुपमा आउनुभएकी मदरमुनको समाचार प्रकाशित गरियो । त्यसैकारण मदर मुनले सो दैनिकलाई ईश्वरीय पत्रिकाको रुपमा घोषणा गर्नुभयो ।’

‘नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मदर मुनलाई अलौकिक शक्ति भएकी संसारलाई हेरचाह गर्ने एक आमाको रुपमा परिभाषित गर्नुभयो । प्रधानमन्त्री केपी ओलीले एउटा सन्त र देवीलाई आफ्नो देशमा भित्र्याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । धेरै समयको प्रतिक्षा पश्चात महान आत्मालाई भेट्न पाएकोमा कृतज्ञता व्यक्त गर्नुभयो । मदर मुनलाई नेपालमा टेकेर यो ठाउँलाई पवित्र पारिदिनुभएकोमा धन्यवाद दिनुभयो ।’ योङले भने ।

‘त्यसपछि दोस्रो दिन होली वाइन समारोह आयोजना भयो । करिब ४ हजार ५ सय जनाले यसमा भाग लिएका थिए । सबै जोडीले हात–हातमा होली वाइन लिएर एक–अर्काले पालैपालो पिए । युनिफिकेसन चर्चमा ७ देशका राष्ट्राध्यक्षहरु सहितको सहभागितामा यति ठूलो होली वाइन समारोह पहिलोपटक भएको हो ।’

‘मदर मुनले नेपाललाई ईश्वरीय राष्ट्र र यहाँका मान्छेलाई स्वर्गीय साम्राज्यका मान्छे घोषणा गर्नुभयो । उहाँले बाइबलअनुसार नेपाल क्येन हो र यूपीएफ एबेल हो । यसरी क्येन र एबेल मिलेर नेपालमा जिससकी एक मात्र छोरी, ईश्वरीय अवतार आउन सफल भएको बताउनुभयो । कसैले नपाएको अवसर नेपालीले पाए । बधाई छ नेपाल र नेपाली जनता ।’

योङले सच्चा मातालाई एसिया प्यासिफिक सम्मेलनका लागि सरकार प्रमुखका हैसियतमा नेपालका प्रधानमन्त्रीबाट निम्ता आएको भन्दै गौरव व्यक्त गरे ।

उनले अगाडि भनेका छन्, ‘प्रधानमन्त्री सच्चा माता बस्ने होटलमा पनि आफैं गएर होटलमा मदर मुन पुग्नु अगाडि नै त्यहाँको तयारी निरिक्षण गर्नुभएको थियो । प्रधानमन्त्री,÷राष्ट्रप्रमुखहरु बस्ने होटल र सच्चा माता बस्ने होटल फरक–फरक थिए किनकी नेपाल सानो देश भएकाले यसपालीको हाम्रो कार्यक्रममा ४/५ वटा होटल प्रयोग गरेका थियौं । यसर्थ यसले धेरै जटिलता पनि ल्याएको थियो ।’

‘मैले अहिलेसम्म भेटेका प्रधानमन्त्रीहरुमध्ये यिनी (ओली) जस्तो हृदयवान र सच्चा माताको दर्शन गर्न इच्छुक अरु भेटेकै थिइनँ । उहाँ दुई–तीन जना सुरक्षाकर्मीका साथ होटल आउनुभयो । होटल आउने वित्तिकै मलाई सर्वप्रथम मदर मुन बस्ने सुइट रुम कता हो देखाउ भन्नुभयो । तसर्थ हामी सातौं तल्ला सुइट रुम ७२५ मा गयौं । प्रधानमन्त्रीले मदर मुन बस्ने ठाउँ, शौचालय सबैको आफैं निरिक्षण गर्नुभयो । केही ठाउँमा फोहोर भएकाले होटल म्यानेजरलाई पूर्णरुपले सफा बनाउन भनेर पनि निर्देशन दिनुभयो । संसारकै माता मदर मुन आउनुभएकाले उहाँको सत्कारमा कुनै कसर बाँकी नहोस भनेर पनि आदेश दिनुभयो । यसरी फेरि सुइट रुमबाट कार्यक्रम स्थलसम्म पुग्ने सबै बाटाहरु निरिक्षण गरी हृदयदेखि नै मदर मुनको सत्कारमा तयारी गर्नुभयो ।’

उनले प्रधानमन्त्री ओलीसँगको आफ्नो एउटा संवाद पनि सुनाए ।

‘उहाँसँग मेरो धेरैपटक भेट भएको छ र नजिकको सम्वन्ध छ । उहाँको नाम kp oli हो । एकचोटि उहाँलाई मैले भनेँ, ‘तपाईंको नाम एकदम महान छ । तपाईंको नाम KP लाई म king of peace (शान्तिको राजा) भन्न रुचाउँछु । मैले त्यसरी भन्दा उहाँले धेरै सह्राहना गर्नुभयो ।

यता सच्चा माता भनिने हाक जा हान मुनले प्रधानमन्त्री ओली आफ्नो ‘छोरा’ भएको बताएकी छिन् ।

‘उनले (नेपालका प्रधानमन्त्री) ले ईश्वरीय भाग्य प्राप्त गरेका छन् । उनी मेरा छोरा हुन् ।’ मुनले भनिन् ।

‘जिम्बाबे, दक्षिण अफ्रिका र नेपालमा मैले धेरै छोराछोरीहरु फेला पारेँ । जिम्बाबेका सुचना प्रविधी मन्त्रीले मलाई धेरैचोटि माता आशिर्वाद दिनुस भनेर भने । दक्षिण अफ्रिकाका सभामुखले पनि भेटमा धेरै आँशु झारेर कृतज्ञ भए र मेरो बारेमा राष्ट्रमा कुरा गर्ने बताए । ६ हजार वर्षसम्म पिता परमेश्वरले विभिन्न दुख, कष्ट सहेर मलाई पर्खनुभयो ।’

यो पनि पढ्नुहोस कोरियामा एकनाथको भाषणः नेपालमा सबैले जिससको छोरी स्वीकारे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment