Comments Add Comment

युटुबले जन्माएका यी पात्र, जो युुटुबबाटै सेलाए

केही महिना अघि मात्रै कैलालीबाट काठमाडौं झरेका बखत बिष्ट र उनकी श्रीमती प्रतिभा बिष्टलाई युटुबरले खुबै पछ्याए । बखत र प्रतिभाले दिनमा ५ वटा भन्दा बढी अन्र्तवार्ता समेत दिए । उनीहरुलाई यत्ति धेरै खोजिनुको कारण एउटै थियो, होचो कदका बखतले आफूभन्दा अग्ली केटी प्रतिभासँग भागी बिबाह गर्नु । उनीहरुको कथालाई युट्युबका दर्शकले रुचाएका थिए । बखत र प्रतिभा युट्युबमा छोटो समयमा नै भाइरल भए । कैलालीबाट परिवारले स्विकार नगरेपछि काठमाण्डौ आएका उनीहरुको पीडा आफैमा थियो नै । आर्थिक अवस्थाले काठमाण्डौमा कस्तो जीवन जिउन सकिन्छ भन्ने चिन्ताले नसताउने त कुरै भएन ।

युट्युव भिडियो निर्माणका लागि युटुबरले उनलाई आफ्नै सवारी साधनमा बोकेर ओहोर दोहोर गरेको पनि देखिन्थ्यो । युटुबमा उनीहरुको अन्र्तवार्ता भाइरल त भयो । तर, उनीहरुलाई लिएर लेखिएका शिर्षक झनै उदेक लाग्दा थिए । युटुबरले उनीहरुको बच्चा जन्माउने योजनादेखि कोठा भित्रको अवस्था समेत देखाइदिए । यस्तो लाग्थ्यो, उनीहरुको संवेदना युटुबरका लागि मजाकको बिषय थियो ।

बखत र उनको श्रीमतीले ’मेरी बास्सै’मा पनि काम गरे । ’मेरी बास्सै’ टीमले पनि उनीहरुको लोकप्रियतालाई प्रयोग गरेर एक भागमा मात्र उनीहरुलाई फिचर गर्यो । उनीहरुको जोडीलाई भिडियो खेलाए हिट हुने आशमा उनीहरुलाई एक दुई भिडियोमा पनि अभिनय गराइयो ।

तर, अहिले बखत र प्रतिभाको चर्चा सेलाएको छ । उनीहरुको एउटै कथा हेर्दा हेर्दै दर्शक पनि वाक्क भइसकेका छन् । उनलाई अहिले यट्युबमा खासै खोजिदैन् । उनीहरुको लोकप्रियता घटेको छ । बखत र प्रतिभाले आफूहरु चर्चित भएको सोच मनमा पलाउँदै गर्दा उनीहरु फेरि विस्तारै आफ्नो पुरानै जीवन शैलीमा फर्किएका छन् ।

बखत र प्रतिभा त एउटा प्रतिनिधी पात्र मात्र हुन् । युटुबले जन्माएका धेरै व्यक्तिहरु भाइरल त भए तर लामो समयसम्म चर्चित बन्न सकेनन् । युटुबमा भाइरल हुने धेरै जोडीहरुको कथा शुक्रबार फेरिने चलचित्रको व्यापार जस्तै छ । एउटा शुक्रबार रिलिज भएको चलचित्रको चर्चा एक हप्तामा सेलाउँछ र अर्को शुक्रबार अर्को चलचित्रले बजारमा हंगामा मच्चाइसकेको हुन्छ । अहिले युटुबमा भाइरल हुने व्यक्तिको कथा पनि यस्तै छ । केही दिन भाइरल त भयो, तर अर्को एक पात्र फेरि जन्मन्छन् र धेरै युटुबर उनीहरुकै कथा खोज्नतर्फ लाग्छन् ।

बखत र प्रतिभा हिट भइरहँदा नै मुना थापामगर भाइरल भइन् । बखत र प्रतिभाको नाम जोडेरै उनको उचाई र उनको कथालाई युटुबमा राम्रैसँग बिकाइयो । उनलाई पनि युटुबरले राम्रै पछ्याए । उनलाई बखतसँग जोडेर युट्युबमा हिट बनाइयो । अहिले उनको कथालाई अर्को भाइरल कथाले उछिनेको छ । उनी पनि केही दिनका लागि मात्र सेलिव्रिटी बनिन् ।

यस्तै, नेपालको चर्चित रियालिटी शो ’नेपाल आइडल’को पहिलो सिजनबाट झक्कड थापा भइरल बने । राम्रो गायन क्षमता नभएका झक्कडको कमेडी शैलीलाई नेपाल आइडलका दर्शकले रुचाए । उनले नेपाल आइडलमा दिएको प्रस्तुती निकै रमाइलो थियो ।

झक्कड केही समय गुपचुप रहे । एक वर्षपछि मिडियामा आएका झक्कडको गीत गाउने शैली र उनको पारिवारिक दुख फेरि भाइरल भयो । देशका कैयौ सुरिला प्रतिभाहरुले मिडियामा स्थान नपाएर खुम्चिनु परेको अवस्थामा गीत गाउनै नजानेर झक्कड हिट भए । उनले एउटा गीत समेत गाए । तर, झक्कडको लोकप्रियतालाई नेपाल आइडलकै दोस्रो भागबाट उदाएका नरेश पातलीले ओझेलमा पारिदिए ।

झक्कड र नरेशले आफ्नै गीत रेकर्ड गर्नेदेखि हाँस्य सिरियल ‘भद्रगोल’मा अभिनय पनि गरे । तर, केही क्षण युटुबमा भाइरल बनेका नरेश र झक्कडको गायकी रुचाउने दर्शक श्रोता कमै थिए । उनीहरु काठमाडौं आए, गीत रेकर्ड गराए र आफ्नो गीत राम्रो नभएपछि पुनः गुपचुप बने । अहिले उनीहरुको लोकप्रियता पनि सेलाइसकेको छ ।

‘कुल्फीवाला’ पनि युटुबमा भाइरल भएका अर्को व्यक्ती हुन् । सोलुखुम्बुका मन कुमार राईको ‘कुल्फी’ बेच्ने शैली केही फरक थियो । उनी नाच्दै गाउँदै कुल्फी बेच्थे । उनी पनि एक समय भाइरल बनेका थिए । तर, उनलाई युटुबमा भएको भाइरलले केही असर गरेन । केही आर्थिक सहयोगहरु पाए पनि अहिले उनी आफ्नो नियमित काममा नै फर्किएका छन् । उनी यो जाडोको समयमा भने नाच्दै गाउँदै बदाम बेचिरहेका छन् । उनीसँग इन्टरभ्यू लिनका लागि धेरै युटुबरलाई केही युटुबरको अनुमती नै लिनुपरेको चर्चा समेत चलेको थियो । यस्ता व्यक्तिहरुको लोकप्रियता र कथालाई केही व्यक्तिले भाइरल मात्र बनाएनन्, आफ्नो बर्चस्वमा राख्ने कोशिश समेत नगरेका होइनन् ।

युटुबमा भाइरल नभएपनि भाइरल भएका पात्रहरुको कुरा गर्दा छुटाउनै नहुने अर्को नाम हो, ‘तरकारीवाली’ अर्थात् कुशुम श्रेष्ठ । फेसबुकमा तरकारी बोकेको फोटो पोष्ट भएपछि उनी निकै भाइरल बनेकी थिइन् । उनको चर्चा नेपालमा मात्र नभएर बाहिरी देशमा पनि उत्तिकै थियो । उनले भाइरल भएपछि भने केही युट्युबमा अन्तर्वार्ता दिएकी थिइन् । उनको लोकप्रियतालाई क्यास गर्दै चलचित्र ‘लम्फू’मा उनलाई अभिनय समेत गराइएको थियो । तर, उनको नामले चलचित्रको व्यापारलाई कुनै असर गरेन । बरु, अहिले उनी सामान्य जीवनमा फर्किएकी छिन् र अध्ययनमा व्यस्त छिन् । नेपालकै नम्बर १ नायिका बन्न सक्छु र बन्छु भन्ने मनोबल समेत उनको मनमा आइसकेको थियो । यसका लागि भाइरल भएर होइन प्रतिभा चाहिन्छ भन्ने कुरा उनलाई कसैले सिकाएन । मात्र, उनको लोकप्रियताको पछाडि यो दुनियाँ दौडियो ।

युट्युबले नै जन्माएको अर्को प्रतिभा अशोक दर्जीले भने आफ्नो जीवनस्तर नै बदले । युटुबले उनलाई नाम, दाम, चर्चा सबै दियो । प्रतिभा भएका दर्जी अहिलेसम्म पनि हिट छन् । उनले गएको गीत अहिले पनि युटुबमा सर्वाधिक धेरै हेरिएको छ । अहिले उनी साना छन् । तर, उनको प्रतिभाले ठूलो भएपछि करिअरको रुप लिन्छ या लिदैन भन्न सकिदैन ।

युटुबमा नै अन्य धेरै व्यक्ति भाइरल बनेका छन् । झापाका चुपी डन, कलाकार विश्वआनन्द पोखरेल, देवघाटका भिम विक, बाल गायक मनिष लिम्बु जस्ता व्यक्तीहरुलाई पनि यट्युबले चर्चा दियो । गीत गाउने, कमेडी गर्ने, केही नयाँ प्रतिभा भएका व्यक्तीहरु धेरै भाइरल बनेका छन् । कोही आफ्नो दुख देखाएर पनि भाइरल भएको पाइन्छ ।

कुनै व्यक्तिको प्रतिभालाई सार्वजनिक गर्नु र उनीहरुलाई सही स्थान दिनु मिडियाको कर्तव्य हो । तर, कुनै व्यक्तिको शारीरिक, आर्थिकदेखि सामाजिक कमजोरीको फाइदा उठाएर उसको दुखमा रमाउनु कदापी मिडियाको कर्तव्य भित्र पर्दैन ।

कुनै पनि व्यक्ति भाइरल भएर केही दिनमै सुस्ताउँदा उसमा उत्पन्न हुने मानसिक पीडा कस्तो हुन्छ भन्ने वुझ्न पनि आवश्यक छ । ‘सही प्रतिभा चर्चित हुन जरुरी छ, तर कसैको दुखमा खेल्ने अधिकार कसैलाई पनि हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment