Comments Add Comment

रियल मड्रिड : नयाँ वर्ष, पुरानो गल्ती

२० पुस, काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडको नयाँ वर्षको पहिलो खेल सुखद हुन सकेन । रेलिगेसननजिक रहेको भिलारियलसँग बराबरी गर्नु पनि मड्रिडको स्तरसँग नमिल्दो नतिजा हो ।

बिहीबार रातिको खेलमा चौथो मिनेटमा नै भिल्लारियलका सान्टी क्याजोलाले गोल गर्दै अग्रता दिलाए पनि तेस्रो तीन मिनेटपछि करिम बेन्जेमाले मड्रिडलाई बराबरीमा पुर्‍याए ।

त्यसपछि २० औं मिनेटमा राफेल भारानेले गोल गरेपछि मड्रिडले खेल जित्ने आश देखाएको थियो । तर, ८२ औं मिनेटमा क्याजोलाले नै गोल गर्दै मड्रिडलाई निराश बनाइदिए ।

भिल्लारियलविरुद्धको बराबरीपछि जारी सिजन मड्रिडले १७ खेलमा आठ खेलमा जित निकाल्न सकेन । पाँच खेल हारेको छ भने तीन खेल बराबरी भएको छ । मड्रिडले १७ खेलमा २६ गोल खाएको छ भने २१ गोल गरेको छ ।

यसैले नयाँ प्रशिक्षक र नयाँ सोचमा भए पनि नयाँ वर्षमा मड्रिडको सुरुवात सुखद भएन । लिग लिडर भन्दा ७ अंकले पछि रहेको मड्रिड चौथो स्थानमा छ ।

भिल्लारियलसँगको खेलमा पनि रियल मड्रिडले २०१८ मा देखाएका गल्तीहरु नै दोहोरियो । उनीहरुले भिल्लारियललाई आफ्नो पोस्टसम्म बढ्ने पर्याप्त स्थान छाडिदिए । त्यही कारण खेल बढ्दै जाँदा भिलारियल थप बलियो र विश्वस्त देखिँदै गयो ।

४६ प्रतिशत समय बलमा नियन्त्रण बनाएको भिल्लारियलले मड्रिडको पोस्टमा १२ प्रहार गर्न सक्यो । भिलारियलले पाएको ६ कर्नरले पनि उनीहरुको आक्रमणको शैली देखाइरहेको थियो । मड्रिडले १४ प्रहार गरेको थियो । मड्रिडले खेलमा ४ कर्नर किक पायो । खेलमा दुवै टिमको पास एक्युरेसी पनि बराबर नै थियो ।

भर्खरै क्लब विश्वकप जितेर बलियो मनस्थितिमा रहेका खेलाडीले केही समय आरामको समय पनि पाएका थिए । थप बलियो बनेर ला लिगामा फर्किएका उनीहरुको प्रदर्शन भने पहिलेको भन्दा भिन्न भएन ।

टोनी क्रुस, क्यासेमिरो, लुका मोडरिक कसैले पनि सोचेको जस्तो खेल देखाउन सकेनन् । अस्वस्थ भएर दोस्रो हाफमा मोडरिक बाहिरिएपछि उनको स्थानमा आएका फेडेरिको भालभर्देले पनि सोचेजस्तो गरेनन् ।

नयाँ वर्षमा मड्रिडका लागि चाहिँदो समय भए पनि ला लिगाका लागि भने कठिन हुँदै गएको छ । बार्सिलोनाबाट पछि परेको रियल मड्रिडका लागि प्रशिक्षक सान्टियागो सोलारीले एथ्लेटिको मड्रिड र सेभिल्लाको चुनौती पनि व्यहोर्नु परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment