Comments Add Comment

वाइडबडी जाँचबुझ आयोगः सरकारको हतास मनस्थिति, संसदको विशेषाधिकार हनन

२१ पुस, काठमाडौं । आजका पत्रिकाहरुले वाइडबडी जहाज प्रकरणकै सेरोफेरोमा रहेर प्रमुख समाचार बनाएका छन् । वाइडबडी जहाज खरिदमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नु सरकारको हतास मनस्थिति र संसदको विशेषाधिकारमा प्रहार भएको भन्दै आजका पत्रिकाले समाचार लेखेका छन् ।

वाइडबडी प्रकरणबारे कान्तिपुर दैनिकमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको टिप्पणी छापिएको छ । त्यसमा लेखिएको छ- सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले प्रतिवेदन दिन के भ्याएको थियो सरकार हडबडायो । नेपाल वायु सेवा निगमका दुईवटा वाइडबडी विमान खरिद प्रकरणबारे उपसमितिको प्रतिवेदन समितिमा छलफल हुँदा नहुँदै सरकारले हतास मनस्थितिवशः हतारमा जाँचबुझ आयोग गठन गर्‍यो । भ्रष्टाचार छानबिन तथा जाँचबुझ गर्ने काम सरकार वा जाँचबुझ आयोगको होइन ।

कार्कीले कान्तिपुरमा थप लेख्छन्- प्रधानमन्त्री केपी ओलीले नै संविधान बुझेको देखिएन ।

यसैगरी वाइडबडी प्रकरणबारे सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुले संसदको विशेषाधिकार हनन भएको अन्नपूर्ण पोष्ट दैनिकको निष्कर्ष छ । ‘उपसमिति प्रतिवेदनमाथि पूर्णसमितिमा छलफल हुन बाँकी रहेकै बेला सरकारले हठात् आयोग गठन गरी संसदलाई चुनौती दिएको छ,’ समाचारमा लेखिएको छ, ‘शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले संसदको सार्वभौमिकतालाई अस्वीकार गर्न खोजेको संविधानविदको तर्क छ ।’ ।

नयाँ पत्रिका दैनिकले विश्वका नेताहरुको सरल जीवनशैलीलाई समेटेर पहिलो पृष्ठमा छापेको छ । ‘यी नेताबाट पनि सिक्न सकिन्छ’ शीर्षकमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान, अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा, अमेरिकाकै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, क्रोएसियाका राष्ट्रपति कोलिन्डा ग्राभर, मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज, क्यानडाका प्राधनमन्त्री जस्टिन ट्रयुडो, न्यूजील्याण्डकी यातायात मन्त्री जुली एनी गेन्टर लगाएको सरल जीवनशैलीको बारेमा लेखिएको छ ।

नयाँ पत्रिकामा लेखिएअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले वार्षिक एक डलर मात्रै तलब लिन्छन्, बाँकी ३९ हजार ९ सय ९९ डलर सामाजिक काममा खर्च गर्छन् । यसैगरी अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा हाल समाज सेवामा सक्रिय छन् । सर्वसाधारणकै शैलीमा व्यस्त सपिङ कम्प्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् । कहिलेकाहीँ सडकपेटीमा वेच्न राखिएका फलफूलको मज्जा लिन्छन् । सुरक्षागार्डविना नै यात्रा गर्न रुचाउँछन् । बिरामीदेखि युद्धपीडितसम्मका लागि सहयोग लिएर पुग्छन् ।

यसअघि अस्पतालमा उपचाररत बालबालिकाहरुलाई क्रिसमसको उपहारको धोक्रो बोकेर हिँडेको ओबामाको तस्वीर निकै भाइरल भएको थियो ।

नेपाल समाचारपत्र दैनिकले तीन वर्षअघिको भूकम्पले ध्वस्त विद्यालयमध्ये १ हजार २ सय ५० विद्यालय निर्माणमा प्राविधिक समस्या देखापरेको विषयलाई मुख्य समाचार बनाएको छ ।  ‘भूकम्पले ध्वस्त १२५० विद्यालय बनाउनै कठिन’ शीर्षकमा समाचारपत्र लेख्छ- ‘आफ्नो स्वामित्वमा जग्गा नभएका, जोखिममा रहेका र गुठी, मन्दिर परिसरमा रहेका विद्यालयको पुनर्निर्माणमा समस्या देखापरेको हो । भवन बन्न नसक्दा ती विद्यालयका विद्याथी अहिले पनि अस्थायी कक्षाकोठामा पढ्न बाध्य भएका छन् ।’

गोरखापत्र दैनिकले महिनावारी हुँदा आगोकै भरमा राभतर खुला आकाशमुनि रात बिताउने हुम्लाका महिलाहरुको पीडाबारे समाचार लेखेको छ । हुम्लाको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँका महिला महिनावासी भएको बेला खुला आकाशमुनि आगो बालेर रात काट्दै आएका छन् । पुसको चिसोमा पनि महिलाहरु यसरी बस्नुको कारण भने सामाजिक मान्यता छ ।

हेर्नुहोस् आजको पत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment