Comments Add Comment

ब्राउन सुगरसहित दम्पती पक्राउ

२१ पुस, भद्रपुर । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकमा डेरा गरी बस्ने लिम्बू दम्पतीलाई विशेष सूचनाको आधारमा प्रहरीले २४.७१ ग्राम ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको जनाएको छ ।

यसैबीच पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–४ स्थित एकता चोकमा सवारी दुर्घटनामा परी शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ बस्ने शिव लामिछाने भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई मे १ ख १९५७ नंको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएका लामिछानेलाई उपचारका लागि प्रहरीले आम्दा अस्पताल दमक लगेको थियो । अस्पताल पुर्याउने बित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक लामिछानेलाई ठक्कर दिने ट्रक र चालक पाँचथर भारपा बस्ने ३२ वर्षीय निर्मल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment