Comments Add Comment

मनिष सुवेदीः आफू बिते, तर क्रियाशील जीवन बाँच्ने प्रेरणा दिएर गए

Photo Credit : Manish Subedi/Facebook

समुदाय, साथी र परिवारको सहयोगमा अस्ट्रेलियामा क्यान्सरलाई पराजित गरेपछि मनिष सुवेदीले ६ वर्ष निकै सक्रिय जीवन बाँचे । उनले आफू क्यान्सर संक्रमित भएको प्रमाणित भएकै दिनदेखि खुत्रुकेमा रकम जम्मा गरे र नेपालको सिभिल अस्पतालका बिरामीलाई गत वर्षको दशैंताका सो रकम हस्तान्तरण गरे । उनलाई साथीहरु र समुदायले बचायो र उनले पनि समुदायका लागि अथक जीवन जिउने उत्प्रेरणा दिएर गए ।

सिड्नी । क्वीन्सल्यान्डको राजधानी ब्रिसबेन निबासी रजनी अर्यालको फेसबुकले एकाबिहानै उनको ६ वर्षअघि आजकै दिन पोस्ट गरेको एउटा स्टाटस नोटिफिकेसनमा पठायो । ४ जनवरी २०१३ मा केल्लीभेल न्यु साउथ वेल्सबाट गरिएको पोस्टमा लेखिएको थियो- ‘प्रिय साथीहरु र परिवार म तपाईंहरु समक्ष यो खबर सुनाउँदा खुशी छु कि अर्को  हप्ता बोनम्यारो प्रत्यारोपणका लागि अस्पतालमा भएका हाम्रा भाइ मनिष सुवेदीको लागि हामीले आज बिहानसम्म जम्मा ३ हजार ३ सय ५८ डलर व्यवस्थापन गर्न सफल भएका छौं । यो योगदानका लागि सबैलाई धन्यवाद, र सहयोग गर्न चाहने सबैलाई छिटो गर्न विशेष अनुरोध गर्न चाहन्छु ताकी उनलाई प्रत्यारोपणअघि नै हस्तान्तरण गर्न सकियोस् । सबै दिन शुभ रहोस् र मनिषलाई गुड लक । आशा गरौं मनिषलाई राम्रो हुनेछ ।’

उनले आशा गरेजस्तै त्यो बेला साच्चै चमत्कार भयो । मनिषले ल्युकेमियालाई पराजित गरे र अस्पतालबाट निको भएर फर्के । आफूसँग पारिवारिक सम्बन्ध जस्तै बनाएका मनिषसँग त्यसपछि रजनीको समाजसेवी अभियान सुरु भयो । भावविहृवल मुद्रामा रजनीले अनलाइनखबरसँग भनिन्, ‘निकै सहृदयी मनिष, मलाई उसले मेरो अभियानमा सघायो, मलाई निकै प्रेरणा पनि दियो । नाच्ने, गाउने काम गर्ने सबैलाई क्रियाशील र खुशी जिन्दगी जिउन प्रेरणा दिने मानिस थियो ।

शुक्रबार मध्याह्न नजिक निक्कै भावुक हुँदै उनले भनिन्, ‘ऊ तीमध्ये एक थियो जसले मलाई वास्तविक मानवीय हुन सिकायो र अर्कालाई दिएर कसरी आफ्नो जीवनमा शान्ति ल्याउन सकिन्छ भनेर सिकायो ।

उनले छ वर्ष अघिको पोस्ट हेर्दाहेर्दै मनिष अब यो संसारमा नरहेको खबर आएको बताइन् र भनिन्, ‘मनिष भाइ तिमीले मलाई सकेको सहयोग गर्‍यौ, मेरो जीवनमा मलाई सुन्दर र अर्थपूर्ण काम गर्न प्रेरित गर्‍यौ, तिमी अब छैनौ भन्दा मलाई निकै पीडा भएको छ, कृपया हामीलाई स्वर्गबाट राम्रो काम गर्न निर्देशित गरिरहनू, तिम्रो आत्माले शान्ति पाओस् ।’

अस्ट्रेलियामा क्यान्सरलाई पराजित गर्दै र धेरैलाई समाजसेवा गर्दै खुशी साथ जिउन उत्प्रेरित गरिरहेका युवा मनिष सुवेदीको निधनको खबर शुक्रबार बिहानै सिड्नीमा हावासरि फैलियाे ।

हाल पूर्वी अस्ट्रेलियाको ब्रिसबेन शहरमा व्यवसाय थालेका सिड्नी निवासी सामाजिक अगुवा श्री नापितले  आफ्नो फेसबुक वालमा भावबिभोर हुँदै शुक्रबार मध्याहृन शोक मन्तव्य लेखे, ‘सधैं सकारात्मक बिचार र व्यवहारका ब्यक्तित्व मनिषले चुपचाप  यो संसार छोडेको सुन्दा म निकै दुःखी छु । मेरो भावना सधैं उनको समग्र परिवारप्रति छ । उनको आत्माले शान्ति पाओस् ।’

अस्ट्रेलियामा नेपाली कला संस्कृतिलाई प्रवर्द्धन गरिरहेकी युवा नेतृ उषाकिरण बारिया पोखरेलले आफ्नो वालमा लेखिन्, ‘मेरा हातहरु काँपिरहेका छन्, म अहिले ट्रमा महसुस गरिरहेकी छु र मैले यो बिस्वास गरिरहेकी छैन ।’

मनिषको उपचारका लागि २०१३ मा अस्ट्रेलियामा अर्थ संकलन गरेको स्मरणसमेत गर्दै उनले लेखेकी छन्, ‘त्यसपछि उनी मबीच बेलाबेला कुराकानी भयो । उनी आफ्नो जीवनबारे निकै सकारात्मक मात्र थिएनन् क्यान्सर पीडित अरुलाई पनि सहयोग गरिरहेका थिए । आज मैले सुनें उनी नियमित जाँचका लागि अस्पताल गए तर कहिलै फर्केनन् ।’

हाल अस्ट्रेलियामा समाजसेवामा लागिरहेकी उषाले आफू उनको प्रेरणाले समाज सेवामा लागेको बताइन् । पछिल्लो कुराकानीमा मैले सुरु गरेको सामाजिक काममा सहकार्य गर्ने रुचि मनिषले देखाएको बताउँदै उषाले भनिन्, ‘अब त्यो अधुरो भयो ।’

मनिषको उपचार प्रक्रियामा सुरुमै जुटेकी रजनी अर्याल हुन् । आफ्ना एक आफन्त सोमनाथ निरौलाको २०१० को मेमा सिड्नीमा पिकनिकका  क्रममा घाँटीमा हड्डी अड्किएर अस्पताल भर्ना हुनुपरेको र पछि निधन भएपछि उनको परिवारलाई सान्त्वना दिने क्रममा उनले सिड्नीमा अर्को एक युवा क्यान्सरसँग लडिरहेको थाहा पाइन् । मनिषको उपचार भैरहेको रोयेल नर्थ शोर हस्पिटल गएर मनिषको परिवारलाई सहयोग गर्न थालिन् र आफ्ना स्पेनिस र भारतीय साथीहरुसँग मिलेर अर्थ संकलन गरिन् ।

अनलाइनखबरसँग बोल्दै उनले त्यतिबेला झन्डै ५ हजार डलर जति रकम उठेको र पछि नेपाली समुदायले समेत सहयोग गरेर उनको उपचार भएको स्मरण गरिन् । मनिष सन्चो भएर फर्केपछि समाजसेवा विशेषगरी क्यान्सर बिरुद्धका धेरै अभियानमा निकै क्रियाशील बनेको उनको भनाइ छ ।

मनिषले सक्छ भने हामी सक्छौं‘ भन्ने अभियान नै सुरु गरेर उनले अस्ट्रेलियाको नेपाली समाजमा भएका निराशा, चिन्ता, समस्या बिरुद्ध उत्प्रेरकको काम गरेका थिए । उनबाट बेला-बेला उत्प्रेरणा पाइरहेका हाल ब्रिसबेन निबासी विकास चापागाईंले अनलाइनखबरसँग भने, ‘म ठूलो दुर्घटनाबाट बाँचेको मानिस हुँ, हाल ह्वील चेयरमा यात्रा गर्छु, मलाई मनिषले पटक-पटक भेटेर जीवनमा निराश नहुन प्रेरणा दिन्थे ।’

२०१६ को मे ४ मा सिड्नीमा भएको ह्वील चेयरमा यात्रा गर्नेहरुबीच हुने ‘बुकिया’ खेल मैदानमा आएर मनिषले उनलाई उत्साह भरेका थिए । मनिषले त्यतिबेला बिकासका बारेमा लेखेका थिए, ‘हामी सबै आफ्नो दिमागको बन्दि भएका छौं । अपांगताले तपाईंलाई पारिभाषित गर्दैन । महत्वपूर्ण के हो भने तपाईं त्यसलाई सक्षमतामा परिणत गर्नु हुन्छ । बिकास चापागाईं लाई मेरो ठूलो सम्मान छ, हाम्रो समाजले उनीजस्तालाई सम्झनु पर्छ र पुरस्कृत गर्नु पर्छ ।

२०१६ को जनवरी २६ मा अस्ट्रेलिया दिवसको शुभकामना दिँदै कार चलाइरहेको आफ्नो फोटोमाथि मनिषले लेखेका छन्- एकदिन म अरुसँग कारमा थिएँ र मैले सोधें मेरो दायाँ आँखाको दृष्टी गुमाएको छु के म अस्ट्रेलियामा सवारी चालकको अनुमति लिन सक्छु ? त्यतिबेला सबैले मेरो प्रश्न गम्भीरतापूर्वक लिएनन् किनकि म अझै सन्चो भै सकेको थिएनँ । म शारीरिक रुपमा कमजोर थिएँ तर मानसिक रुपमा बलियो । मैले त्यसलाई सकारात्मक रुपमा लिएँ र हेर्नुहोस् अहिले म अहिले गाडी चलाइरहेको छु । कहिले पनि आफ्नोबारेमा अरुको धारणाप्रति ध्यान नदेऊ, जहिले तिमी कमजोर छौ सधैं विश्वास गर कि राम्रो कुरा आउन अझै बाँकी छ ।’

उनको यो भनाइलाई त्यतिबेला नै अस्ट्रेलियाका स्थापित नेपाली नर्स तथा सामाजिक कार्यकर्ता धर्मराज अधिकारीले लेखेका छन्, ‘मनिष तिमी धेरैका उत्प्रेरणा हौ ।’

उनले  बनाएको फेसबुक पेजमा २०१६ फेब्रुअरी ७ मा उनले क्यान्सर लागेपछिको अवस्थामा हुने ट्रमा र तनावबारे लेखेका छन्- क्यान्सरसँग लड्नु एक जना सिपाही युद्ध क्षेत्रमा जानुभन्दा फरक होइन, जहाँ ऊ सबैभन्दा ठूलो ‘अनिश्चितता’ नामक दुश्मनसँग लडिरहेको हुन्छ । तपाईलाई थाहा हुँदैन कि युद्ध कतिबेला सकिन्छ, १ वर्ष, ५ वर्ष वा आफ्नै जीवन गुम्न पनि सक्छ । कहिलेकाहीँ तपाईंले एक्लै लड्नु पर्छ, कहिलेकाहीँ तपाईंले परिवारबाट साथ पाउनु हुन्छ । यदि भाग्यमानी हुनुहुन्छ भने असल साथीहरुबाट सहयोग पाउनु हुन्छ । शारीरिक र मानसिक हैरानीबाट बाहिर निस्कन कठिन हुन्छ, त्यहाँ सधैं फेरि बल्झिन्छ कि भन्ने डर सधैं दिमागमा हुन्छ ।

उनले अगाडि भनेका छन्- त्यसैले म तपाईंलाई भन्न चाहन्छु कि यसबारे खुल्ला हुनुहोस् र सबैसँग भन्नुहोस्, यो बिरामी, कुरुवाहरु, परिवारका सदस्यहरु सबैका लागि खुला र उपयुक्त माध्यम हो ।

उनले क्यान्सर सम्बन्धी चेतना कम भएको र डलर मात्रै कमाउन व्यस्त नेपाली समाजलाई क्यान्सरबारे खुला बहस गर्न प्रेरित पनि गरेका छन् । उनले क्यान्सरसँग लडिरहेकी नेपाली चेली मनिषा श्यान्बोको सहयोगका लागि भएको सांगीतिक कार्यक्रममा सक्रिय सहयोग गरे । ‘अरुले सहयोग गर्दा हामी उठेका हौं, च्यारिटी घरबाटै सुरु हुन्छ,’ भन्दै उनले आफू क्यान्सर संक्रमित भएको पत्ता लागेको पहिलो दिनबाट खुत्रुकेमा रकम जम्मा गर्न थालेको उल्लेख गरेका छन् । ‘त्यो कति होला मलाई मतलब थिएन तर मेरो उद्देश्य एक दिन नेपालका क्यान्सर पीडितलाई सहयोग गर्न केही गृहकार्य गर्नु थियो ।’

उनले खुत्रुके ढाल्दै अगाडि लेखेका छन्, ‘जम्मा रकम २१ हजार नेपाली बराबर भएछ । जुन धेरै त होइन, तर जब म नेपाल गएँ र त्यहि रकमबाट चाडबाडका बेला अस्पतालका बिरामीको अनुहारमा खुशी ल्याउन सकें उनीहरुको मुस्कान रकमभन्दा निकै मूल्यवान थियो ।

उनी २०१६ को अक्टोबर १४ मा नेपालको सिभिल हस्पिटल गएर त्यहाँका डाक्टर तथा नर्सहरुसँग नेपाल र अस्ट्रेलियाका समकक्षीहरुबीच सहकार्य र विचार आदान प्रदानबारे छलफल गरेका थिए ।

उनले अस्ट्रेलियामा क्यान्सर काउन्सिल लगाएत क्यान्सर पीडितलाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरुसँग आफ्नो कथा सुनाएको र सहयोगका लागि आफू सहकार्य गर्न इच्छुक भएको प्रस्ताव राखेका थिए । धेरै ठाउँबाट सकारात्मक जवाफ पाएको कुरा सप्रमाण उनले आफ्नो फेसबुक पेजमा राखेका छन् ।

उनी नेपालको सदाचार आन्दोलनका अभियन्ता डा. गोविन्द केसीको अनसनस्थलमा गएर ऐक्यवद्धता जनाएर अस्ट्रेलिया फर्केका थिए ।

उनले मधुमेहका बिरामीलाई पनि आशाको सञ्चार गरेका थिए । आफ्नो तौल ९० किलोग्राम र दैनिक तीन पटक इन्सुलिन दिनुपर्ने अवस्थाबाट नियमित ब्यायाम र आहार बिहारमा ध्यान दिँदै ७३ किलोग्राममा झारेको सप्रमाण पोस्ट गरेका थिए ।

नेपालको काठमाडौं जिल्लाको चाबहिल निबासी उनी २००८ मा विद्यार्थीका रुपमा अस्ट्रेलिया आएका थिए । सुरुमा डार्विनमा झरेका उनको  स्वाथ्यमा  समस्या देखियो । उनको बीमाले नभ्याउने भएपछि सिड्नी पठाइएको थियो । पहिले वेस्ट मिड अस्पताल र पछि रोएल नर्थ शोर अस्पतालमा उनको उपचार भयो । जहाँ उनले प्रयाप्त सामाजिक सहयोग पाए र क्यान्सरलाई केही वर्षसम्म पराजित पनि गरे ।

उनले आफ्नो ६ वर्ष पुरानो नरर्सिङ्ग पढ्ने सपना पनि परिवार, साथीभाइ र श्रीमतीको सहयोगमा पूरा हुन लागेको पोस्ट २०१७ मार्च ९ मा अस्ट्रेलियाको बहुचर्चित विश्वविद्यालय युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी अगाडि उभिएको फोटो राख्दै लेखेका छन् । आफू बिरामीको रुपमा वेस्टमिड अस्पतालमा भर्ना हुँदाको अवस्था सम्झिँदै पहिले अस्पतालको शय्यामा बिरामीको रुपमा र अहिले आफू प्रयोगात्मक विद्यार्थीका रुपमा सोहि अस्पतालको मुख्य प्रवेशद्वार तर्फ जाँदै गरेको फोटो नै उनको पेजमा अन्तिम पोस्टका रुपमा जसमा उनले म अस्विकार गरिएको थिइनँ तर पुनर्निर्देषित गरिएको थिएँ, भन्दै लेखेका छन्- आज बिरामीको रुपमा होइन, नर्सिङ्ग विद्यार्थीका रुपमा यहाँ पुग्दा धेरै स्मृतिहरु ताजा भए ।

उनले झन्डै चार हजार किलोमिटर टाढाबाट बिरामीका रुपमा त्यहाँ आउनु परेको अस्पतालमा बिताएका कहाली लाग्दा क्षण सम्झदै अहिले विद्यार्थीका रुपमा तिनै करिडोरहरुमा हिँड्दा उनलाई लाग्यो- पीडा, दुःख, अनिश्चितता, चिन्ता जस्ता कुराहरु कुनै पनि स्थायी थिएनन् बरु अहिले म जहाँ छु त्यो बनाउनका लागि संघर्ष थियो । दुई महिनाअघि नियमित आँखा जाँचका लागि अस्पताल गएका उनलाई चिकित्सकहरुले रक्त परीक्षण पश्चात आवश्यक उपचारका लागि अस्पतालमै रहन सुझाव दिएको रजनी अर्यालले जानकारी दिइन् । उनले शुक्रबार बिहान ६ः३० बजे आफ्नो क्रियाशील जीवनको अन्तिम सास फेरे । अस्ट्रेलियाको नेपाली समाजले नयाँ वर्ष २०१९ को सुरुमै एक सामाजिक उत्प्रेरक गुमायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment