Comments Add Comment

एक किशोरीको डायरी

शनिबार, १५ जुलाई १९४४

प्यारी किट्टी !

पुस्तकालयबाट एउट किताब हामीकहाँ आइपुगेको छ । जसको शीर्षक चुनौतीपूर्ण छ- ‘आधुनिक युवतीबारे तपाईं के सोच्नुहुन्छ ?’ आज म यही विषयमा कुरा गर्न चाहन्छु ।

यसकी लेखक ‘आजका युवा’ को धूवाँदार आलोचना गर्छिन् । यद्यपि, सम्पूर्ण युवा कामै नलाग्ने छन् भनेर आरोपित चाहिँ गर्दिनन् । उनको विचारमा युवाले चाहने हो भने यो संसारलाई अझ विशाल, सुन्दर र असल बनाउन सक्छन् तर उनीहरू वास्तविक सुन्दरता भुलेर सतही कुराहरूमा व्यस्त छन् ।

कुनैकुनै पंक्ति त लेखकले सीधै मलाई नै भनेकी हुन् कि जस्तो पनि लाग्यो । त्यसैले म तिम्रो अगाडि सबै कुरा स्पष्ट राख्न र आफ्नो प्रतिरक्षा गर्न चाहन्छु ।

मेरो एउटा उत्कृष्ट चारित्रिक गुण छ । मलाई अलिकति बुझेको मान्छेले यो कुरा हेक्का राखेको हुनुपर्छ । त्यो गुण भनेको मेरो आत्मज्ञान हो । म आफू र आफ्नो कर्मलाई बाहिरीया मान्छेले झैं हेर्न सक्छु । दैनिक जीवनकी एनलाई म निष्पक्ष भएर मूल्यांकन गर्न सक्छु । उसका कुन कुरा राम्रा अनि कुन नराम्रा छन्, छुटयाउन सक्छु । यो ‘आत्म-चेतना’ ले मेरो पीछा गरिरहन्छ र प्रत्येक पटक मुख खोल्दा मैले बोलेको कुरा ‘यसलाई बेग्लै तरीकाले भन्नुपथ्र्यो’ वा ‘एकदम उपयुक्त तरीका यही हो’ भन्ने म थाहा पाइसक्छु । ममा त्यस्ता थुप्रै कुरा छन्, जसको म चर्काे निन्दा गर्छु । ती सबै कुरा भन्न सक्दिनँ । बुबा भन्ने गर्नुहुन्छ, ‘प्रत्येक बच्चा आफैंले आफूलाई हुर्काउनुपर्छ ।’ यो भनाइ कति साँचो हो भन्ने कुरा म दिनदिनै बुझदै छु । अभिभावकले राम्रो सल्लाह दिन वा बाटो देखाउन मात्रै सक्छन् । आफ्नो चरित्र निर्माण गर्ने काम अन्ततः व्यक्तिकै हातमा हुन्छ ।

म साहसले भरिपूर्ण छु । ठूलो बोझ उठाउन सक्छु भन्ने आत्मविश्वास छ । आफूलाई स्वतन्त्र र जवान ठान्छु । सजिलै हार मान्दिनँ ।

अब ‘आमाबुबा मलाई बुझनुहुन्न’ भन्ने विषयमा कुरा गर्न चाहन्छु । बुबा र आमाले सधैं पुलपुल्याएर मलाई बिगार्नुभयो । उहाँहरूले माया गर्नुभयो, मेरो रक्षा गर्नुभयो । आमाबाबुले गर्न सक्नेजति सबै गर्नुभयो । तैपनि लामो समयसम्म मैले आफूलाई नितान्त एक्लो पाएँ । आफूलाई उपेक्षित र गलत रूपमा बुझ्एिको पाएँ । मेरो विद्रोही भावनालाई रोक्न बुबाले के गर्नुभएन ? तर उहाँका कुनै तरीका काम लागनेन् । बरु, मैले आफ्नो उपचार आफैं गरें । मेरो व्यवहारमा के खराबी छ भनेर आफैंले खोजें र त्यसलाई सुधार्न ध्यान दिइरहें ।

यो संघर्षमा बुबा मेरा लागि किन सहयोगी बन्न सक्नुभएन ? उहाँ किन पूरै असफल हुनुभयो ? किनभने, बुबाले गलत विधि अपनाउनुभयो । उहाँले मसँग जहिले पनि अप्ठयारो चरणबाट गुज्रिरहेको बच्चासँग जसरी कुरा गर्नुभयो । यो कुरा नमज्जालाग्दो हुन सक्छ, किनभने बुबा मात्र त्यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले मलाई विश्वासमा लिनुभएको थियो । म समझ्दार व्यक्ति हुँ भन्ने छनक बुबा बाहेक कसैले पनि दिएनन् । उहाँले एउटा गल्ती गर्नुभयो । अप्ठयारोसँग जुधेर सफल हुनु मेरा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने उहाँले महसूस गर्नुभएन । म ‘यो उमेरमा यस्तै हुन्छ’ वा ‘अरू केटीहरू’ वा ‘समय आएपछि सबै ठीक हुन्छ’ जस्ता कुरा सुन्न चाहन्नथें । म चाहन्थें, मसँग ‘अरू केटीहरूसँग जस्तै’ व्यवहार नगरियोस् । बरु ‘एनका निजी गुण-दोषका आधारमा’ व्यवहार गरियोस् भन्ने चाहन्थें । बुबाले यो कुरा बुझ्नुभएन ।

यो विषयमा म कसैलाई पनि तबसम्म विश्वास गर्न सक्दिनँ, जबसम्म उसले मलाई आफ्नोबारे धेरै बताउँदैन । बुबाका बारे मलाई थोरै कुरा मात्र थाहा छ । त्यसैले उहाँसँग अन्तरंग कुराकानी गर्न सकिनँ । उहाँ जहिले पनि उही पुरानो, बूढो बाबुको रवैया अपनाउनुहुन्छ, आफूले पनि उमेरमा त्यस्तै क्षणिक प्रवृत्ति बेहोरेको कुरा सुनाउनुहुन्छ ।  उहाँले जति प्रयास गर्दा पनि मलाई एक मित्रका रूपमा लिन सक्नुभएन । यिनै कारणले गर्दा जीवनप्रतिको आफ्नो धारणा र जीवन जिउने आफ्नो सिद्धान्तलाई मैले डायरीमा लेख्नु बाहेक कसैलाई पनि सुनाउन सकिनँ ।

हामीले साथमा बिताएको समयबाट ऊ सन्तुष्टि प्राप्त गर्छ । अहिले ऊ मसँग टाँसिएको छ । उसलाई आफूबाट छुटाएर उसकै गोडामा उभ्याउने कुनै तरीका फेला पार्न सकिरहेकी छैन

कहिलेकाहीं केही कुरा दिदीलाई सुनाएँ । आफूलाई व्यग्र बनाउने सबै कुरा बुबाबाट लुकाएँ । आफ्ना आदर्शका बारेमा उहाँलाई कहिल्यै सुनाइनँ ।  उहाँलाई आफूबाट टाढा धकेलिरहेकी छु भन्ने तथ्यप्रति सचेत थिएँ ।

अर्को उपाय पनि थिएन । मैले सम्पूर्ण रूपमा आफ्नै भावनाअनुसार व्यवहार गरें । मनको शान्तिका लागि जे सबैभन्दा उत्तम थियो, त्यही गरें ।

म सोचिरहन्छु- बुबासँग मलाई किन रीस उठ्छ ? उहाँले मलाई केही सिकाउन खोज्दा रीस उठ्छ । उहाँको स्नेह पनि देखावटी लाग्छ ।

घोर निराशाका दिनमा उहाँलाई लेखेको त्यो डरलाग्दो पत्रका कारण अझ्ै पनि अपराधबोधले ग्रस्त छु । ओहो, हरेक दृष्टिले बलियो र दृढ बन्न कति कठिन छ !

फेरि पनि मेरो सबैभन्दा ठूलो निराशा यो होइन । म बुबाभन्दा धेरै पिटरबारे सोच्ने गर्छु । उसले मलाई होइन, मैले उसलाई जितेकी हुँ भन्ने मलाई राम्ररी थाहा छ । दिमागमा उसको एउटा छवि बनाएको छु । उसलाई शान्त, संवेदनशील र माया गर्न सकिने केटाको रूपमा चित्रित गरेको छु, जसलाई साँच्चै नै स्नेह र मित्रताको आवश्यकता छ । मनको बह पोख्न पनि मलाई एक जना जीवित व्यक्तिको आवश्यकता थियो । सही बाटो देखाउने एक जना साथी चाहन्थें । मैले चाहेको कुरा पाएरै छोडें । बिस्तारै मैले उसलाई आफूतिर तानें । हाम्रो मित्रता अन्तरंग सम्बन्धसम्म पुग्यो । अहिले आएर सोच्दा यो विषयलाई त्यहाँसम्म पुग्न दिनु हुँदैनथ्यो भन्ने मलाई लाग्छ ।

हामीले अत्यन्तै निजी चीजका बारेमा कुरा गर्‍यौं । तैपनि अहिलेसम्म मेरो हृदय र आत्मामा भरिएका कुरालाई त छोएकै छैनौं । अझै पनि पिटरबारे कस्तो धारणा बनाउने भन्ने अन्योलमा छु । वास्तविक मित्रता प्राप्त गर्ने चाहनामा मैले एउटा गल्ती गरें । प्रेमिल सम्बन्धका माध्यमबाट उसको निकट बन्ने प्रयास गरें । त्यसकारण मित्रताका अन्य स्वरूपको सम्भावना टुङ्गिन पुग्यो । अहिले ऊ मबाट प्रेम चाहन्छ । ऊ झनझन् मेरो प्रेममा पर्दै गएको देख्छु । हामीले साथमा बिताएको समयबाट ऊ सन्तुष्टि प्राप्त गर्छ । अहिले ऊ मसँग टाँसिएको छ । उसलाई आफूबाट छुटाएर उसकै गोडामा उभ्याउने कुनै तरीका फेला पार्न सकिरहेकी छैन । मेरो बुझाइ अनुसारको साथी ऊ बन्न सक्दैन भन्नेमा मलाई सन्देह छैन । कम्तीमा उसलाई साँघुरो मानसिकताबाट माथि उठाउन प्रयास गर्नुपर्छ ।

कुनै किताबमा पढेकी थिएँ- भित्री मनमा वृद्धभन्दा युवाहरू बढी एक्ला हुन्छन् । यो भनाइ सोह्रै आना साँचो भएको मैले पाएँ । वयस्कहरूले हरेक विषयमा आफ्नो धारणा बनाइसकेका हुन्छन् । त्यसैले काम गर्नुअघि उनीहरू द्विविधामा पर्दैनन् । हामी कलिलाका लागि सम्पूर्ण आदर्श नष्ट र छरपस्ट भइरहेको यो समयमा आफ्नो रायमा टिक्न र आफ्नो स्थानमा उभिइरहन दोब्बर गाह्रो छ । अझ् त्यति बेला, जति बेला मानिसहरूले आफ्नो खराब पाटो देखाइरहेका छन् अनि सत्य, न्याय र ईश्वरमाथि विश्वास गर्ने कि नगर्ने भन्ने पनि उनीहरूलाई थाहा छैन ।

यहाँ ‘गुप्त भवन’मा बूढाबूढीलाई बढी असहजता छ भनेर दाबी गर्नेले हामीलाई समस्याहरूले कसरी थिचेका छन् भन्ने बुझेका छैनन् । यिनको सामना गर्न हामी अझै कलिलै छौं । हामीमाथि एकपछि अर्को समस्या थपिँदै जान्छन् । बल्ल बल्ल अब त समाधान फेला पार्‍यौं भन्यो, त्यो बेकार साबित हुन पुग्छ । यो समयका समस्या यिनै हुन् । आदर्श, सपना र आफूभित्र जगाएर राखेका आशा सबै भयानक सत्यको सामना गर्न र चकनाचुर हुन अभिशप्त छन् ।

जेलका कैदी र अस्पतालका बिरामी त्यहाँबाट मुक्त भएर प्रकृतिको सुन्दरतामा रमाउने क्षणको प्रतीक्षामा हुन्छन् । केही मान्छे प्रकृतिको आनन्दबाट पनि वञ्चित हुन्छन्

मैले अहिलेसम्म आफ्ना आदर्शलाई छोडेकी छैन । यो साँच्चै आश्चर्यको कुरा हो । तिनलाई आफूसँग लिएर हिँड्न असम्भव र असंगत लाग्छ । तैपनि मैले तिनलाई अँगालेकी छु । अहिले संसारमा जे भइरहेको छ, जर्मनहरूले यहुदीमाथि जति अत्याचार गरिरहेका छन्, यी सबका बाबजुद मानिसहरू हृदयदेखि नै खराब हुँदैनन् भन्नेमा म अझ्ै विश्वास गर्छु । मलाई विश्वास छ- मानिसहरू आधारभूत रूपमा असल हुन्छन् ।

अस्तव्यस्तता, वेदना र मृत्युको जगमा म जीवनको महल ठडयाउन सक्दिनँ । यो संसार बिस्तारै जंगलमा परिणत हुँदै गएको देख्छु । निकट आइरहेको मेघगर्जन सुन्छु, जसले हामीलाई एक दिन नष्ट गर्नेछ । म करोडौंको कष्ट महसूस गर्न सक्छु । मलाई विश्वास छ, ईश्वरको कृपाले परिस्थिति फेरिनेछ । यो क्रुरताको अन्त्य हुनेछ । धर्तीमा पुनः शान्ति र अमनचैन कायम हुनेछन् । तत्कालका लागि भने मैले आफ्ना आदर्शलाई जसरी हुन्छ, जीवित राख्नैपर्छ । एक दिन म ती आदर्श हासिल गर्न सक्षम हुनेछु ।

तिम्रो

– एन

बिहीबार, १५ जुन १९४४

प्यारी किट्टी !

यत्तिका समय घरबाट बाहिर निस्किन नपाएकाले नै प्रकृतिका हरेक कुराप्रति म यति धेरै मोहित भएकी हुँ कि ? कुनै बेला गाढा नीलो आकाश, चराको चिरबिर, चन्द्रमाको उज्यालो र फूलहरूले मलाई यसरी मन्त्रमुग्ध पार्न सक्दैनथे । यहाँ आएपछि म असाध्यै प्रकृतिप्रेमी भएकी छु ।

पेन्तेकोस्तको बेला साह्रै गर्मी थियो । चन्द्रमा हेर्न भनेरै साढे एघार बजेसम्म जागै बसिरहें । अफसोस, त्यो रात व्यर्थ भयो, किनभने चन्द्रमा अत्यन्त चहकिलो थियो र त्यस्तो उज्यालोमा झयाल खोल्ने जोखिम मोल्न सकिँदैनथ्यो । अर्को पटक केही महीना अगाडि साँझ् झयाल खुलै रहेको बेला म माथ्लो तला पुगें र झयाल बन्द गर्नुपर्ने बेला नभइञ्जेलसम्म त्यहीं बसिरहें । अँध्यारो, झ्री परिरहेको रात, बतास, तीव्र गतिमा उडिरहेका बादल, सबै-सबैले मलाई मोहित तुल्याए । डेढ वर्षमा मैले पहिलो पटक रातलाई आफ्नै आँखा अगाडि देखेकी थिएँ । त्यो साँझ्पछि फेरि एक पटक रात हेर्ने इच्छा जागृत भयो । मेरो इच्छाले चोर, मुसा र घरमा छापा मारिने डरलाई समेत जित्यो । म एक्लै तल्लो तलामा गएँ र भान्छा अनि निजी अफिसको झयालबाट बाहिर हेरें । थुप्रै मानिस प्रकृतिप्रेमी हुन्छन् । कोही त बेलाबखत घर बाहिर नै सुत्ने पनि गर्छन् । जेलका कैदी र अस्पतालका बिरामी त्यहाँबाट मुक्त भएर प्रकृतिको सुन्दरतामा रमाउने क्षणको प्रतीक्षामा हुन्छन् । केही मान्छे प्रकृतिको आनन्दबाट पनि वञ्चित हुन्छन् । आकाशमा नियाल्दा बादल, चन्द्रमा र ताराहरूले मलाई शान्त र धैर्यशील बनाउँछन् । प्रकृति निद्रा लगाउने वा पानी सफा गर्ने औषधिभन्दा पनि प्रभावकारी हुन्छ । प्रकृतिले मलाई विनम्र बन्न सिकाउँछ र जस्तोसुकै कठिनाइको पनि डटेर सामना गर्ने साहस दिन्छ ।

दैवको खेला, म त प्रकृतिलाई पनि केही दुर्लभ अवसरमा बाहेक धूलो भरिएको झयालमा टाँगिएका मैलो पर्दा पछाडिबाट हेर्न बाध्य छु । यस्तो पर्दाबाट हेर्नुमा के मज्जा ? प्रकृति मात्र त्यस्तो शुद्ध कुरा हो, जसलाई अरू कुनै चीजसँग मिसाइनु हुँदैन ।

किन महिलालाई उहिलेदेखि अहिलेसम्म पुरुषको तुलनामा हीन ठानिन्छ ? मलाई सताइरहेका अनेकौं प्रश्नमध्ये एउटा प्रश्न यो पनि हो । यो अनुचित र अन्यायपूर्ण छ भन्नु सजिलो छ । मलाई यतिले मात्र पुग्दैन । यो भयानक अन्यायको कारण जान्न चाहन्छु ।

सम्भवतः आफ्नो शारीरिक शक्तिका भरमा पुरुषले शुरूदेखि नै महिलालाई कजायो । कमाउने, वीर्यदान गर्ने र मनलागी गर्ने पुरुष नै थियो । अहिलेसम्म महिलाहरूले यो अन्याय चुपचाप सहे । यो उनीहरूको मूर्खता थियो, किनभने यस्तो व्यवस्थालाई जति लामो समय रहन दियो, त्यसले त्यति नै गहिरो जरा गाड्छ । भाग्यवश, शिक्षा, काम र प्रगतिले महिलाहरूको आँखा खोलिदिएको छ । थुप्रै देशमा उनीहरूलाई बराबर अधिकार दिइएको छ । धेरै मानिसले (पुरुषहरूले पनि) अहिले आएर यो विभेदलाई यतिञ्जेल सहेर बस्नु कति गलत रहेछ भन्ने महसूस गरेका छन् । आधुनिक महिला पूर्ण स्वतन्त्रताको अधिकार चाहन्छन् ।

तर, कुरा यति मात्र होइन । महिलालाई सम्मान पनि गरिनुपर्छ । संसारका सबै भागमा पुरुषहरूले भव्य आदर पाएका छन् । त्यसो भए महिलाले आफ्नो हिस्साको आदर किन नपाउने ? सैनिक र युद्ध नायकलाई सम्मान गरिन्छ, अन्वेषकलाई अमर प्रसिद्धि प्रदान गरिन्छ, शहीदहरूलाई श्रद्धा गरिन्छ, तर महिलाहरूलाई सैनिकका रूपमा हेर्ने र सम्मान गर्ने मान्छे कति होलान् ?

डच मूलका अमेरिकी लेखक पउल दे क्रुफको किताब ‘मेन अगेन्स्ट डेथ’ मा उल्लेख भएको एउटा तथ्यले मलाई चकित तुल्यायो । एक जना महिलाले प्रसवका बेला कुनै युद्ध नायकले युद्धमा बेहोर्नेभन्दा बढी पीडा, बिमारी र कष्ट भोग्नुपर्छ । यो सब पीडा खप्नुको फाइदा उनलाई के हुन्छ त ? बच्चाको जन्मपछि शरीर विकृत भएकी उनलाई एकातिर धकेलिन्छ, चाँडै उनलाई आफ्नै सन्तानले पनि छोड्छन् । उनको सुन्दरता सकिन्छ । ठूलठूला कुरा गर्ने स्वतन्त्रता सेनानी सबैलाई एकै ठाउँमा राख्दा पनि मानवजातिको निरन्तरतालाई सुनिश्चित तुल्याउन प्रसव वेदना सहने महिलाहरू बढी साहसी ठहरिन्छन् ।

महिलाले बच्चा जन्माउन छोड्नुपर्छ भन्ने मेरो तर्क होइन । प्रकृतिले यसका लागि रोजेको हुनाले उनीहरूले यो कामलाई निरन्तरता दिनुपर्छ, तर म हाम्रा मूल्य-मान्यताको निन्दा गर्छु । यो संसारमा रहेका महिलाहरूको महान्, कठिन र सुन्दर हिस्सेदारीलाई नस्वीकार्ने पुरुषहरूको निन्दा गर्छु ।

म लेखक क्रुफसँग सहमत छु । उनी भन्छन्, “संसारको सभ्य भनिएका स्थानमा जन्म अवश्यंभावी र अपरिहार्य रहेन भन्ने तथ्यलाई पुरुषहरूले सिक्नैपर्छ ।” पुरुषका लागि बोल्न सजिलो छ । तिनले कहिल्यै महिलाको जस्तो कष्ट बेहोर्नुपर्दैन ।

मलाई विश्वास छ, आगामी शताब्दीमा बच्चा जन्माउनु महिलाको कर्तव्य हो भन्ने अवधारणा फेरिनेछ । बिना कुनै गुनासो र आडम्बर यो बोझ उठाउने सम्पूर्ण महिलाले सम्मान र प्रशंसा पाउनेछन् ।

तिम्रो

– एन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment