Comments Add Comment

शिवानी उपन्यासः माओवादी पतनभित्रको कथा

उपन्यास साहित्यमा अचेल अधीक पढिने साहित्यिक विधा हो । म कस्तो उपन्यास पढ्न चाहन्छु ? उपन्यासमा म के खोजीबस्छु ? त्यो भन्न बजारले नपत्याएका एकजना लेखकको यसै वर्ष प्रकाशित उपन्यास ‘शिवानी’ लाई सन्दर्भ बनाउँदैछु ।

उनै लेखकका दुई पुस्तक ‘अग्नीपथ’ उपन्यास  र ‘भत्केको घर’ कथा संग्रह पछि शिवानी पढेर यो लेख्ने जमर्को गर्दैछु । शिवानी उपन्यासका लेखक विमल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश कमिटी सदस्य पनि हुन् ।

माओवादी आन्दोलनमा सहभागी एक लेखकले आफ्नो जीवनदर्शन मार्फत समकालीन नेपाली समाजको यथार्थ प्रस्तुत गरेको उपन्यास हो, शिवानी ।

हामीले मीठो या नमिठो जस्तै अनुभव राखे पनि माओवादी आन्दोलन नेपालको इतिहास हो । त्यो इतिहासले आफ्नो गर्भबाट जन्माएको वर्तमान हामी सामु छ, जसलाई शीवानी उपन्यासले समग्रमा देखाउने प्रयत्न गरेको छ ।

देशले शान्तिप्रक्रिया सम्पन्न गरिसकेको हुन्छ । पूर्वमाओवादी नेताहरु सरकारमा हुन्छन् । युद्धमा सहभागी एक माओवादी कार्यकर्ताको बिप्लव नाम गरेको छोरा उच्च शिक्षाको लागि नुवाकोटबाट काठमाडौं आउँछ । र आज देश जस्तो हालतमा छ, काठमाडौं जस्तो हालतमा छ, शिवानीले त्यसलाई चित्रण गरेको छ ।

राजु पुडासैनी

उपन्यासको पात्र जस्तरी बोल्छ, जसरी सोच्छ, जसरी व्यवहार गर्छ, जसरी जिउँछ- त्यसैमा हुन्छ लेखकले बोकेको जीवन दर्शन । पात्रहरुको आपसी सम्बन्ध र वार्तालापमार्फत लेखक आफ्नो  ‘पर्सेप्सन’ अभिव्यक्त गर्छ ।

शिवानी उपन्यासकी मूल पात्र शिवानी नै हुन् । अर्को मुलपात्र हो कथावाचक विप्लव । ऊ विप्लव आफ्नो बाल्यकालबाट कथा प्रारम्भ गर्छ । उसले आफ्नो बाबुसँग जोडिएर आएको माओवादी राजनीतिलाई बाल्यकालीन दृष्टिकोणबाट वर्णन गर्छ ।

विप्लवले कथा सुनाउँदै जाँदा आफ्नो धारणा पनि बताउन थालेको समय चाही ७० सालको चुनावताकाबाट हो । उसले माओवादी पार्टीमा आएको तीव्र वैचारिक स्खलनले आफ्ना बाबु र अन्य स्थानीय कार्यकर्तामा विकसित गरेको मनोदशालाई बताउँछ ।

उनका बाबु अरब गएका हुन्छन् । त्यहाँ कमाउँछन्, फर्कन्छन् र पशुपालनतिर लाग्छन् । विप्लव काठमाडौं पस्छ अध्ययनको लागि । उसको गाउँको साथी जो संसदको छोरो हो, उसको संगतमा उ यौनधन्दा हुने स्थानमा पुग्छ । ऊ त्यहाँ पस्दैन, तर साथी पस्छ । उसमा भने यौनकर्म गर्ने महिलाबारे जान्ने अजीवको इच्छा जागृत हुन्छ ।

ऊ पैसा बोकेर रत्नपार्क जान्छ र एउटी यौनकर्मीसंग कुरा गर्छ र विप्लवकै डेरामा रात बिताउने सहमति हुन्छ । दुवै डेरामा जान्छन्, खाना खान्छन् अनि विप्लव केटीलाई अलगै बेडमा सुत्न भन्छ । ऊ पैसा दिएर शिवानीलाई आफ्नो कथा भन्न लगाउँछ । पुरुषसँग कोठा शेयर गरेर जीवनमा पहिलो पटक सुबिस्ताले सुत्न पाएकि शिवानी बिप्लवसित प्रभावित हुन्छे अनि आफ्नो कहानी बताउँछे ।

उ निस्किन्छे- जनयुद्धमा ज्यान गुमाएका माओवादी सहिदकी छोरी । बाउ बितेपछि बिरामी आमाले पढाउन नसकेर औषधि किनी पठाउन छिमेकीको काठमाडौं बसेका छोरालाई जिम्मा दिएर छोडिएकी केटी हुन्छिन् शिवानी । गाउँले दाजुबाट बलात्कृत भएपछि उनी होटेलमा काम गर्छिन्, त्यहाँ पनि बलात्कृत हुन्छिन् । अनि त्यही होटेलमा ग्राहक लिएर आउने कल्पनासंग मिलेर छुट्टै डेरा लिन्छिन् अनि खोज्दै यौनधन्दा गर्छिन् । आमालाई पनि पैसा पठाउछिन् ।

कल्पना पनि शिविरसम्म पुगेर अयोग्य लडाकु भनिएर निकालिएकी हुन्छिन्  । माओवादीको गाउँस्तरीय जनअदालत प्रमुख र तामाङ्ग मोर्चाको जिल्ला कमिटी सदस्यकी छोरीसमेत रहेकी उनलाई आफ्नै कमान्डरले यौन शोषण गरेका हुन्छन् । उनको बाबुपछि पार्टीमा निष्कृय हुँदै काठमाडौंकै एउटा सुकुम्बासी टोलमा बसेका हुन्छन् । त्यो बस्तीमा पछि माओवादी सरकारले नै डोजर चलाइदिन्छ ।

शिवानीको सबै कुरा सुनेपछि विप्लवले उसलाई आफ्नै काकाको होस्टेलमा काममा लगाइदिन्छ । विप्लव क्याम्पसमा विद्रोही विद्यार्थी संगठनमा जोडिन्छ । ऊ वर्तमान राज्य व्यवस्था बिरुद्व विद्रोह आवश्यक छ भन्ने निष्कर्षमा पुगेको हुन्छ । यसरी राजनीति गर्दा सुरुमा आफ्नै पूर्व माओवादी बाबुले असन्तोष जनाउँछन् ।

केटीको शरीरलाई काँक्रोको चिरा जस्तो देख्ने मध्यमवर्गीय केटाले पैसा तिरेर कोठामा केटी ल्याउँछ र अलग्गै सुत्न दिन्छ । त्यतिन्जेल त्यो पात्र गतिलो गरी बैचारिक भैसकेको पनि हुन्न । त्यहाँ उसले यौन सम्पर्क नराखेको कुराबाटै उपन्यासको कथानक अगाडि बढेको छ

उता शिवानी र कल्पनाले चप्पल कारखानामा काम थालेका हुन्छन् । विद्रोही राजनीतिमा सकृय विप्लव त्यत्तिकैमा अवैध हतियार राखेको कसुरमा समातिन्छ, यातना भोग्छ र तीन वर्ष जेल पर्छ । त्यो बेलासम्म ऊ शिवानीलाई प्रेम गर्न थालेको हुन्छ । कथा सकिन्छ ।

यसरी समकालीन राजनीतिको प्रभावसहित माओवादी जनयुद्ध पश्चात् कार्यकर्ता र सहिद सन्ततीको हालतलाई चित्रण गरेको उपन्यास हो- शिवानी । यसले पात्रहरुलाई जसरी प्रस्तुत गरेको छ, त्यसमा प्रश्न उठाउन सकिन्छ ।

अयोग्य महिला लडाकुलाई यौनकर्मी बन्न बाध्य हुनुपर्ने स्थिति नै छ त ? शिवानी सहिदकी छोरी हुन् भने उनकी आमालाई सरकारबाट पैसा किन मिलेन ? उपन्यासमा यो खुल्दैन । छोराले राजनीति गरेको नरुचाउने बाबु र बिप्लववीचको द्वन्द्व चित्रण गर्न पनि उपन्यास चुकेको छ ।

बिमलले जसरी, जुन वर्गको मान्छेको कथामा उपन्यास लेख्ने प्रयास गरेका छन्, त्यो उल्लेख गर्नै पर्ने सत्कर्म हो । उनले आख्यानमा मूल पात्रमार्फत जुन राजनीतिक विचारको वकालत गर्न खोजेका छन्, त्यो पनि उल्लेख गर्नैपर्ने कुरा हो । लेखकले इच्छा गरेको पनि त्यही कोणको सन्देश जाओस् भन्ने होला ।

यो उपन्यास पठनीय अवश्यै छ । किनभने, वर्तमान व्यवस्थामाथि असन्तुष्टि सुनाएर नै नवीन बिचारधारामा श्वास भर्न सकिन्छ । पाठकले त्यही  स्वास-प्रस्वासमा प्रगतिशील अक्सिजनको अपेक्षा गरेर पढ्दा हुन्छ- शिवानी ।

उपन्यासको केही भागलाई अनावश्यक व्यहोरा-विवरणले पट्यारलाग्दो बनाएको छ । पात्रहरुको अति सामान्य क्रियाकलापको पनि वर्णन छ । एकठाउँमा त काउली र गोलेभेँडा किनेलगत्तै पात्रहरु मासु भात खान्छन् । उपन्यासमा काँटछाँटको ठाउँ मनग्गे छाडिएको छ ।

केटीको शरीरलाई काँक्रोको चिरा जस्तो देख्ने मध्यमवर्गीय केटाले पैसा तिरेर कोठामा केटी ल्याउँछ र अलग्गै सुत्न दिन्छ । त्यतिन्जेल त्यो पात्र गतिलो गरी बैचारिक भैसकेको पनि हुन्न । त्यहाँ उसले यौन सम्पर्क नराखेको कुराबाटै उपन्यासको कथानक अगाडि बढेको छ । सबै उत्पीडितको मुक्तिको सपना बनाउने गरी बिकसित गराउन खोजिएको पात्रलाई त्यसरी आदर्शको रुपमा चित्रण गर्नुलाई स्वाभाविक मान्न भने सकिन्छ । यसमा उपन्यासकार परम्परागत देखिएका छन् ।

उपन्यासका पात्र, तिनका वार्तालाप, घटनाक्रम र त्यसप्रति पात्रहरुको प्रतिक्रिया औसत नै लाग्छन् । मनोसंवाद पनि औसत छन् । तिनले सोच्ने शैली परम्परागत छन् ।

आज देश कम्युनिस्टहरुको हातमा छ । आज सत्तासीन पार्टीले हिँजो के-के भन्यो र आज के-के गर्‍यो, उपन्यासले देखाएको छ । आजको सरकारी दलको हिजोको बिचारमा आएको विचलन र त्यसैमाथि जन्मिँदै गरेको विरोधी चेतको तस्वीर पनि देखाएको छ, उपन्यासले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment