Comments Add Comment

कथाः निर्णय

‘के हो आज त एउटै मेसेज गर्ने पनि समय भएन ? श्रीमतीले के गर्दै छे ? के खाई अफिसमा भन्ने कहिल्यै मतलब भए हो ? दिनभरि आमाछोरा भएर मेरै कुरा काटेर त बसेका होलाऊ नि । अब अफिस छुट्टी हुने बेला भयो तर त्यो तिमीहरूको घरमा आउनु नै मन छैन । के गर्न आउनु त पर्‍यो नै ।’ मोबाइलमा मेसेज आउँछ ।

‘आमा म एकछिन बाहिर गएर आउँछु । बाबु कोठामा एक्लै छ । कुसुमले सोधी भने भर्खर भयो निक्लेको भनिदिनु ।’ भनेर निस्किदिन्छु ।

बाटाभरि कुलहरूको बास्ना नाकमा पस्छन् । राता, पहेँला र अरू धेरै रङका फूलहरू । एकक्षण रोकिन्छु र हेर्छु । भमराहरू एकएक गरेर छानीछानी फूलहरूबाट रस चुसिराखेका हुन्छन् । हावामा एउटा सुगन्ध व्याप्त छ तर त्यसले मलाई केही फरक पार्दैन । मन हो आखिर ऋतुले के गर्छ र नि ? होइन म त डिप्रेस भएछु क्या हो ? आफ्नो प्रश्न आफैँलाई अचम्म लाग्छ । अहिल्यै म डिप्रेसनमा गइहाल्नुपर्ने कारण नै छ के ? घर व्यवहारको, स्वास्नीको, बच्चाको पिरले लाछीलाई, नामर्दलाई लगार्छ । बाटोमा एउटी बौलाही भए जतिको गाली गर्दै नांगै दौडिराखेकी हुन्छे । यसलाई पनि विगत लामो समयदेखि यही टोलमा यसरी नै हिँडेको देख्छु ।

यतिखेरसम्ममा त घर आइपुगी होली कुुसुम । मलाई घरमा नदेख्दा आमासँग गएर किचकिच गर्दै होली । कस्तो वितृष्णाले भरिएको साँझ । एउटा अँध्यारो र नियास्रो साँझ, चोर र फटाहा अनुहार र हाडका आकृतिहरू, वर्तमानसँग सम्भोग गर्दै भविष्यको गर्भपात गर्न तम्तयार समय, शोषितहरू, भ्रष्टहरू, पुरुषार्थको नाउँमा क्याबिन रेस्टुरेन्टको केटीको छाती हेर्दै ट्वाइलेटमा गएर हस्तमैथुन गरेर वीर्य मिल्क्याउनेहरू र म जो स्वास्नीको हरेक गलत कदमलाई चूपचाप सहेर बसिरहने हामी समान रूपले अपराधी हौँ । मनको गति जोडसँग बज्छ मलाई यस गतिलाई पूर्णविराम लगाइदिन मन लाग्छ, आफ्नो आत्मबोधको गतिमा ।

थोरै नै किन नहोस् कमाएकै छु । पुरानो नै भए पनि एउटा सानो घर छ । कुसुमलाई सकेको जति सम्मान र माया दिएको छु । बाबु भएको नाताले आफूले बलबुताले भ्याएसम्म माया गरेको छु । मेरो श्रीमतीलाई पनि बराबरको हक छ भनेर हरेक उसको काममा सपोर्ट गर्छु र पनि उसलाई चित्त बुझ्दैन । मेरो स्टाटस र उसको दिदीबहिनीहरू र साथीभाइहरूको भन्दा तल्लो लेभलको भयो रे । उसका साथीका लोग्नेले जस्तो विदेशमा घुमाउन लान सक्ने औकात भएन रे मेरो । माइतीमा ज्वाइँ भनेर चिनाउन समेत लाज हुन थालिसक्यो रे । मेरो र उसको लेभल नै मिलेन रे । सोच्छु, म बाँधिएको छु यहाँ ठिक साङ्लाको एउटा कडी जस्तो । यस्तो लाग्न थालिसकेको छ एउटा व्यक्ति मरिसकेको छ मभित्र ।

बिस्तारै घरको ढोका उघारेर भित्र पस्छु । हलमा छोरो हजुरआमासँग टिभी हेर्दै हुन्छ । इसाराले कुसुम खोई त भनेर आमालाई सोध्छु । रुममा भएको संकेत गर्छिन् उनी । सुरुसुरु रुमतिर लाग्छु ।

‘आउनु त पर्ने रहेछ नि घर नै ! कस्तो अभागी रहेछु र मेरा आमाबाबुले तिमी जस्तो लम्कुलाई जिम्मा लगाइदिए । आजदेखि मसँग सुत्न आउनु पर्दैन । जानु नि आफ्नै आमासँग गएर सुत्नु । आज कम इन्सल्ट भयो मेरो अफिसमा । सबैले कस्तो नराम्रो र बुढो लोग्ने तपाईंको ? तपाईं अझै मोडेलभन्दा कम हुनुहुँदैन । तर तपाईंहरूको जोडा चाहिँ कहीँ कतैबाट मिल्दैन भनेर मेरो खिल्ली उडाए ।’ ऊ छोराको लागि बोतलमा दूध बनाउँदै भत्भताई राखी ।

‘अलिक बिस्तारै बोल । आमाले सुन्नुहुन्छ ।’ बिस्तारै भन्छु म ।

‘आमाले मात्र होइन अब समाजले सुने पनि भएको कुरा त हो नि । होइन के छ र तिमीहरूको छरछिमेकीले इज्जत गरुन् । तिनीहरू दुई आमाछोराको अनुहार देख्यो कि मुडअफ भएर आउँछ । यो छोरा र माइतीको इज्जतको डर नभएको भए तिमीजस्तो लोग्ने भनेर बस्नुभन्दा कुनै सम्पत्तीवालाको रखेल भएर बस्नु धेरै ठिक ।’ कुसुम अझै जङ्गिन्छन् ।

म बाहिर बरन्डामा निस्कन्छु । आमाको अनुहार आँखा अगाडि आउँछ । एउटा पशुजस्तो लोग्नेलाई सधैँ स्याहारेर त्यस लोग्नेको घृणा, तिरस्कार, रिस, गाली र चुटाई खाएर अनि राती ओछ्यानमा शारीरिक सुख दिएर पनि मलाई यत्रो बनाई । लोग्नेको मृत्युमा एक थोपा आँसु बगाइन् मेरी आमाले । एउटा पापदेखि मुक्त पाएजस्तै उनी स्वतन्त्र भइन् । मलाई माया पोख्नको निम्ति उसले कहिल्यै फुर्सदै पाइन । आमाको पनि धेरै चाहना थिए होलान् तर सब मेरो खुसीका लागि बलिदान गरिन् । जसोतसो म बढ्दै गएँ उनका सपनाहरू पनि मौलाउँदै गए । छोरो ठूलो हुन्छ । राम्रो नोकरी गर्छ । असल बुहारी घर भित्र्याउँछु । नातिनातिनाहरू हुन्छन् । अनेकौँ सपना बुँदै रहिन् तर पानी भनेर बालुवामा मुख डुबाएसरह भयो यिनका सब सपनाहरू ।

कुसुम भित्र बत्ती निभाएर सुतिसकेकी हुन्छे । म बिस्तारै आमाको कोठातिर लाग्छु । बत्ती काटेर बसिराखेकी, केही गलेकी, केही सोचिरहेकी, आँखा जुधाउन आँट आउँदैन । एउटी सोझी स्वास्नीमान्छे जसको जवानीमा नै लोग्ने मर्‍यो, माइती भन्नु मात्र नामका छन् । उससँग अब छन् त थोरै जाँग्र, जसको मूल्य ऊ कहिले पनि पाउँदिन । सुनसान मरुभूमि जस्तै बाँचेकी छे, एक्लै, विशाल हृदय भएकी, उसलाई यति मात्र थाहा छ कि उसको छोराबुहारी र नाति खुसी हुनु नै सबैथोक हो उसका लागि ।

लामो सुस्केरा फाल्दै सुन्नका लागि ओछ्यान मिलाउन थाल्छे । आफैँप्रति घृणा लागेर आउँछ मलाई । अनुहारभरि आत्मग्लानिको रङ पोतेर म खुरुखुरु र्फकन्छु । ढोका लक गरेर निदाइसकेकी छे कुसुम अघि नै । बैठकको सोफामा गएर पल्टिदिन्छु । कुन दिनमा मलाई जन्म दिइछन् मेरी आमाल । आज म कसैको पनि राम्रो हुन सकिनँ । स्वास्नीले आमालाई वचन लगाइरहँदा आमा मेरो आँखा हेरिरहन्छिन् । स्वास्नी मलाई एउटा पशुसरह व्यवहार गर्छे र पनि म चूपचाप सहिदिन्छु । ऊ हरेक कुरामा मलाई अरूसँग दाँजेर तुलना गर्छे । ओछ्यानदेखि हरेक कुरामा । म हरेक दिन आफूलाई तल झारेर पनि ऊ खुसी हुन्छे किन भनेर सधैँ एउटा पाल्तु कुकुरले मालिकको अगाडि पछाडि पुच्छर हल्लाएर हिँजेजस्तै हिँडिरहेँ तर हुँदाहुँदा उसलाई अब मेरो छायाँदेखि पनि घृणा लाग्न थालेको छ रे ।

गुनासाहरूले ज्ेलिएको मान्छे, दरिद्र मान्छे, नालायक छोरा, नालायक लम्कु लोग्ने र असक्षम बाबु बन्न पुगेको छु म । मेरी आमा मलाई के सोच्दी हुन् ? यही दिन देख्न र भोग्नलाई मेरी आमाले सबै सुखको त्याग गरेकी थिइन् । काम गर्ने मालिकको घरमा कसैले मिठो खाने कुरा खान दिँदा पछ्यौरीमा लुकाएर मेरो छोराले मिठो मान्छे भनेर लुकाएर ल्याएकी के आजैको दिन भोग्नलाई हो त ? अझै पनि छोराबुहारीको राम्रोको लागि सकिनसकी अखण्डको बत्ती काती भगवान्को व्रत बसी सधैँ दत्तचित्त भएर सकेको काम हामीहरूलाई नलगाई आफैँ गर्दैछिन् बिना गुनासा गरि ।

हे भगवान् के हुँदै गइराखेको छु म ? डाहा छटपट्टी हुन्छ । ढोका खोलेर बाहिर निस्किदिन्छु । यो रातमा यस अवस्थामा कसैले देख्यो भने के सोच्लान् मलाई । यो साला मान्छेहरू यहाँ सधैँ हीन कुरा मात्र सोच्छन् । यो समाज पार्टीहरूमा जम्मा भएको स्वास्नीमान्छेहरू जस्तो छ ।

सधैँ कराई हिँड्ने बौलाई आफ्नै तालमा यता आइरहेको छे । किन हो ऊ मलाई यिनै झैँ गरेर मतिरै हानिएर आउँछे । म अलिक सतर्क हुन्छु ।

‘यति राती तरुनी स्वास्नीलाई अँगालो मारेर रमाइलो गर्न झाडी के गुन्डा भएर हिँडेको ? समाल आफूलाई नत्र अर्कैसँग जाली नि । यही उमेर हो स्वास्नीमाथि रातभरिमा तीनचार पटक चढ्छे । यस्तो हट्टाखट्टा छौँ । थुपि्रएको विर्यलाई तह लगाऊ ।’ प्याच्च भनिदिन्छे ।

मलाई स्थितिदेखि वार्ता गर्न मन लाग्छ । घृणाले, अपमानले म अचल भइरहेको हुन्छु । ओहो ! यो बौलाहीले कसरी थाहा पाई कि घरमा तरुनी श्रीमती छे भन्ने ? होइन यसले हामीलाई कसरी चिन्नी ? के योभन्दा पनि बढी थाहा छ यसलाई ? म घोत्लिँदै घोप्टो मुन्टो लगाएर र्फकन्छु । फेरि त्यही सोफामा आएर पल्टिदिन्छु । मन रिक्त भइसकेको छ । भर्खर घटेको घटनाको हृयाङ ओभर अझै बाँकी नै छ । कसरी प्याच्च भनिदिई बौलाहीले । के सोचिराखेकी होली अहिले त्यो बौलाही मेरो बारेमा ?

यो घृणालाग्दो जीवनस्तरलाई मैले विगत पाँच वर्षदेखि छालाजस्तो ओढेर आएको छु । दुःखको सीमा म यसैले पार गरिरहेको छैन कि म फेरि दुःखमा नै पुगूँ । कसलाई रहर लाग्दैन र स्वास्नीसँग गालामा गाला जोडेर सुन्नलाई । तर त्यस बौलाहीलाई म कसरी भनूँ कि प्रत्येक पटक मेरी स्वास्नीबाट म मर्माहत भएको छु । अब हामी दुई जना नांगै एउटै ओछ्यानमा सुत्दा समेत मलाई केही गरुँ भन्ने चाहनै हुँदैन । बरु बाथरुममा गएर हस्तमैथुन गर्दा मलाई आनन्द लाग्ने गर्छ । म डराउन थालेको छु आफ्नै स्वास्नीसँग कि फेरि कुन र कतिखेर कटुवचनको प्रहार हुने हो भनेर तर त्यस बौलाहीले मेरा पिडा कहाँ देखेकी छे र । माया भनेको त आफ्नो मन परेकोसँग एकक्षण अलग बस्दा पनि छटपटी हुनु पर्‍यो । के हरेकको सम्बन्ध यसरी नै चिसिएको छ त वा म मात्र त्यस्तो अभागी पुरुष ठहरिएको छु ।

रात झन्झन् बाक्लिँदै गइरहेको छ । सोचाइको गतिशीलता सिंगो मस्तिष्कको भार बोकेर बिस्तार बिस्तार एउटा गहिरो खाडलतिर अग्रसर हुँदैछ । फोक्सोमा असजिलो भई राखेको र हातखुट्टामा कसैले डोरीले बाँधिदिएको जस्तो असजिलो हुन्छ । अदृश्य बन्धनभित्र बाँधिएको छु म । जुरुक्क उठ्छु । भित्तामा घडीको सुइको टिकटिक आवाजले हरर्र अन मुभीमा भुतको प्रवेश हुन लागेको संकेत गरेजस्तो भान हुन्छ । फ्रिजबाट निकालेर बोटलको पानी एकै घुट्कोमा पिइदिन्छु । मस्तिष्क खाली भएको पाउँछु । सधैँ यस्तो भइरहने छ त ? यतिका कचिंगलहरू कहाँ यति चाँडो हट्ने छन् र ?

कुसुमको घुरेको आवाज बाहिर बैठक कोठासम्म आइराखेको छ । कसरी निर्धक्कले सुत्न सकेकी होली मेरी स्वास्नी । ढोकामा लक गरेर सुन्दा लोग्नेकहाँ गएर कसरी सुत्ला भन्ने अलिकति पनि नलाग्नु कहाँसम्म कि भइछे त मेरी स्वास्नी त्यो पनि मेरै घरमा । बैठक कोठाको सोफामा छोरो सुतेको देखेर भोलि सासूले सोधिन् भने के उत्तर दिने भन्ने पनि डर नभएको भनेपछि कति निर्धक्क भइछ त मेरी स्वास्नी । के सबै यस्तै हुन्छन् लाज र डर नभएको स्वास्नी मानिस भन्नेहरू ?

धेरै महिला साथीहरू छन् मेरो, साथीभाइहरूका श्रीमतीहरू देख्छु, भेट्छु तर कहीँ कतै सामन्जस्यता भन्ने नै पाउँदिनँ कुसुर र अरू महिलाहरूबिच । कसैले कसैलाई यति विघ्न घृणा गर्न सक्छ र हामी मनुष्य भएर जो मेरी श्रीमती मलाई गर्छे । कसरी हुन्छ म उसको नजिक जान खोज्छु त्यति मलाई तिरस्कार गर्छे । मलाई थाहा छ कुसुमको यो संसारमा कुनै घृणाको पात्र छ त त्यो म मात्र छु तर पनि मलाई उसको अझै माया लाग्छ । मेरी कुसुम मेरी श्रीमती मेरी छोराकी आमा भनेर । मेरी आमा पछि मेरो कोही छ त मेरी स्वास्नी कुसुम अनि मात्र छोरा आउँछ । तर उसलाई मेरो हरेक कुरा नाटक लाग्छ । कस्तो कुरूप मनोवृत्ति छ उनमा ।

‘कति आनन्द छ तिमीलाई । मस्तले सोफामा पसारिएका छौ । ल छोरालाई हेर । मलाई अफिस जान लेट भइसक्यो । फेरि तिम्री आमा भुतभुताउने बेला भइसक्यो । त्यो सुन्नभन्दा पहिला तिमीहरूको घरबाट निस्कनुछ मलाई ।’ छोरालाई भुइँमै छोडेर फटाफट अफिस हिँडी ।

बिचरो यो छोरो अभागी रहेछ । बोकेर खेलाउन थाल्छु ।

‘बाबु आँखा राता छन् नि निद्रा राम्ररी परेन जस्तो छ नि ! सुतेको छैन जस्तो छ । जाऊ एकछिन गएर सुत । नातिलाई म खेलाउँछु एकछिन् ।’ भन्दै छोरालाई लिएर माथि लाग्छिन् ।

कति फरक छ आमा र स्वास्नीमा । तर मेरी आमा पनि मेरा पंगु बाबुकी स्वास्नी थिई । हरेक अत्याचार सहेर पनि हरदम लागि परिरहन्थिन् लोग्नेको सेवामा । मेरो बाबु नै अभागी परेर हो नत्र के मात्र गर्ने थिइनन् होली मेरी आमाले आफ्नो लोग्नेलाई । कुकुरलाई घिऊ नपचे जस्तो स्वास्नीको माया कहिल्यै पचेन बाबुलाई ।

‘आज अफिसको पार्टी छ । तिम्रो घर आउन मलाई समय लाग्छ । मेरो लागि खाना पकाउन पर्दैन । आमाछोरा यही मौका छोपेर मिठोमिठो खानू ।’ मेसेज आउँछ मोबाइलमा कुसुमको ।

कुसुमको मेसेज पढेर मैले उनलाई केही पनि रिप्लाई दिन सकिनँ जसरी जुनसुकै स्थिति केही नभएर बित्छ । उफ्, कति लामा छन् समय । म यो एकलासबाट छुटकारा पाउन चाहन्छु । मलाई र मेरो बाध्यताप्रति समवेदना दिने कोही छ त अहिले ? बौलाई ! म पनि तिमीजस्तै विस्थापित छु, यहाँ मेरा भएर पनि कोही छैनन् । अर्थहीन बिलौना गरेर यो लामो समयलाई छोट्याउन खोज्छु । यस अध्यायलाई समाप्ति दिन खोज्छु ।

‘अब अति भयो । अब मलाई एउटा निर्णय देऊ । कि आमा च्याप कि मलाई रोज । अब यो थोत्रो घरमा कि तिम्रो आमा कि म । अब म तिम्रो आमाको त्यो घोप्टे थोपडा हेरेर अरू बस्न सक्दिनँ । भोलिसम्ममा एउटा निर्णय देऊ ।’ कटनमा क्लिलिङ भिजाएर फेसको मेकअप पुछ्दै कराउँछे ।

छोरो ओछ्यानमा रोइराखेको छ । मेरो कमजोरी, म जीवनमा कहिल्यै अर्थहीन हुन सकिनँ । अब समयले मलाई म आफूलाई चिन्न बाध्य तुल्याएको छ । यही त हुनुपर्छ आत्मबोध ।

म उसलाई केही नभनी घरबाट निस्किदिन्छु । बौलाही एकान्त कुनाको एक छेउमा बसेर चुरोट तानिराखेकी छे ।

‘फेरि पनि रात न बेरात निक्ल्यौ घरबाट । कुन हुलियाले उडाइदिन्छ कल्कलाउँदी स्वास्नी अनि बल्ल थापा पाउँछौ ।’ भन्दै सकी नसकी खोक्न थाल्छे ।

बौलाही पनि संवेदनशील छे जीवनप्रति । रात अब असाध्य चकमन्न भइरहेको छ । रित्तो अँध्यारो छ । दिमागमा अघि कुसुमले भनेका कुराहरू दौडिरहेका छन् । सोच्दासोच्दै शरीर अचानक सिरिंग हुन्छ । घर … घर मलाई धेरै माइल टाढा भएजस्तो लाग्छ । एकफेर आमा, कुसुम र छोराको अनुहार आँखा वरिपरि घुम्न थाल्छन् ।

घर आउँछु र त्यही सोफामा पल्टिदिन्छु । एउटा कुकुर गुडुल्किएर सुतेजस्तै ।

०००

छोरालाई लुगा लगाइदिन्छु । छोरालाई बोकेर आमालाई बिस्तारै डोराउँदै घरबाहिर निस्कन्छु । खल्तिबाट सानो चिठी ढोकाको छेउमा राखेर एकपल्ट सकुन्जेल घरलाई हेर्छु ।

‘हामीकहाँ जान लागेको बाबु । बुहारी आउनी बेला हुन लाग्यो फेरि भोकाएर आउँछे । यसरी भन्दै नभनी जान हुँदैन नि बा ।’ आमा गुनगुन गर्दै गाडी चढ्छिन् ।
२०७०।०३।३०

तिमीलाई नसोधी निर्णय लिएकोमा मलाई माफ गर । मैरे धेरै सोचेपछि यो निर्णय लिएको छु । आजबाट तिमी यो घर, लोग्ने, बच्चाको बन्धनबाट मुक्त भयौ । सधैँ स्वतन्त्र भएर हिँड्ने चाहना आजबाट सुरु भएको छ तिम्रो । आजबाट कसैले तिमीलाई औँला ठड्याउने मौका पाउने छैनन् कि नराम्रो लोग्ने भनेर ।

जीवनभर मेरो सेवामा आफ्नो जीवन निस्वार गरेकी असी वर्षकी वृद्ध आमालाई कुनै वृद्धाश्रममा राखेर म आरामले घरमा सुत्न मेरो मनले मानेन । त्यसैले आमा र छोरालाई लिएर तिमीभन्दा टाढा जाँदैछु । तिमीले मजस्तो केटालाई लोग्ने भनेर बस्नु परेकोले त्यसको सट्टा यो घर तिमीलाई उपहार दिएको छु । एक्कासि हिँड्नुपर्‍यो त्यही पनि दराजमा केही पैसा र पुराना गहनाहरू छोडिदिएको छु । तिमीलाई काम लाग्न सक्छ । पि|mजमा तिमीलाई मनपर्ने तरकारी आमाले बनाएर राखिदिनुभएको छ । तिमी राति सुत्नु अगाडि चकलेट खाने बानी छ । त्यसैले तिम्रो दराजमा केही दिनलाई पुग्ने तिम्रो मनपर्ने चकलेट राखिदिएको छु ।

अन्तमा कुसुम म र मेरी आमाबाट केही गल्ती भएमा हामीलाई माफ गर । बच्चा पाएर सधैँ गल्ती गरेँ भनेर पछुतो गरेकोले छोरालाई पनि सँगै लिएर आएको छु । अब तिमी आफ्नो तरिकाले नयाँ जीवन सुरु गर्न सक्छौ ।

नयाँ जीवनको लागि हार्दिक बधाइ । सधैँ तिम्रो अनुहारमा खुसी रही रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment