Comments Add Comment

कथाः अनुराग

बिहानको सात बज्नै लागेको छ । जाडोयाममा देखिनै कञ्जुस्याइँ गर्ने सूर्यदेव गर्मियाममा भने विहानै झुल्किसकेका छन् । कति हतार । सूर्यदेवभन्दा बढी हतारमा तातिएका छन् अभय र मेनका । स्थानीय हिमाली सामूदायिक एफएममा सँगै काम गर्ने उनीहरु विहानी समाचार प्रस्तुतीको चटारोमा छन् । सूर्योदयभन्दा पहिलेबाट सुरु हुने उनीहरुको व्यस्तता सूयास्तसँगै मुस्किलले सकिन्छ । अभय केही अव्वल छ मेनकाभन्दा समाचार कक्षमा तर सिकाईको तृष्णा भने मेनकामै बढि देखिन्छ । रेडियोको समाचारकक्षले नजिकिएका उनीहरुविचको दुरी साँघुरिन थालेको छ आजभोली । आकर्षण हो या प्रेम थाहा छैन तर त्यो निकटताले उनीहरुविच केहि नयाँ सम्बन्धको अंकुर पलाउन थालेको अनुमान गर्न भने जो कोहीले सक्थे ।

पूरानो घरभित्र चिटिक्क पारेर सजाइएको साँघुरो स्टूडियो, मर्मतको अभावमा हेरेर मात्र चित्त बुझाउनुपर्ने एसीको मुनितिर असिनपसिन हुँदै समाचार तयार पारिरहेका हुन्थे अभय र मेनका । भर्खरै किरोरावस्था पार गरेका उनीहरु आवाजलाई दुनियाँसामू पु¥याउन पाउँदा निकै सन्तुष्ट देखिन्थे यतिसम्म की तीनचार महिनासम्म सुको नपाउँदापनि मतलवै नुहुने । आत्मसन्तुष्टिलाई पैसाले सजिलै कहाँ किन्न सक्नु ।

अभावलाई सन्तुष्टिले जित्न बानी परिसकेका थिए अभय र मेनका । दिनहुँको भेटघाट र कुराकानीले यति व्यापकता पाउँदै गयो कि एकअर्काको अनुपस्थितीमा अफिस नै सुनसान लाग्थ्यो उनीहरुलाई । समसानजस्तो । अफिस आवतजावत गर्दा होस अथवा रिपोर्टिङ्गमा जाँदा जोडी कसेरै हिँड्थे उनीहरु ।

एकअर्काको मनमा हुर्किरहेको प्रेमको कोपिला अव भने फक्रिन थालिसकेको जस्तो देखिन्थ्यो । दिनभरको निकटताले राती अवेरसम्म पनि फोनको सहारामा निरन्तरता पाउन थालेका थियो । यथार्थमा त के गर्थी थाहा छैन तर गोह्रो बर्णकी हट्टाकट्टा मेनका लुरे अभयको कुइरा आँखाभित्र नाच्न थालिसकेकी थिई । भित्रभित्र फक्रिएको मेनकारुपी फूललाई आफ्नै नयनको गमलामा सजाउन चाहन्थ्यो अभय अनि उसको साँघुरो छातीभित्र टाँसिएर धड्कनमा विलिन हुन चाहन्थी मेनका ।

जसरी प्रेमको फूल फक्रिदैँ गइरहेको थियो त्यसरी नै एउटा त्रासले मेनका र अभयको मन भने खुम्चिँदै गएको थियो । मेनका ठकुरी, अभय ब्राम्हणपुत्र । दुवैको परिवार उत्तिकै कट्टर । यहि कट्टरताले प्रेमिल जोडिलाई खोलाको दुइ किनारा बनाउने पो हो की , तनाव थियो । यहि डरले अभयको सम्बन्ध अगाडी बढाउने पाइला डगमगाइरहेका थिए तर मेनकाको तड्पन उम्लँदो थियो ।

रातको १२ बज्यो । मेनका विस्तारामा यता र उता फर्किरहेकी छे । केहि पाएजस्तो अनि केहि गुमाएजस्तो अनुभूती भइरहेको छ उसलाई । वेप्रवाह अभयको घर गएर अहिलेनै उसको अङ्गालोमा लिप्त हुने इच्छा जागृत भइरहेको छ । फोन डायल गर्छे । एक घण्टिमै उठाउँछ अभय । सायद उ पनि यस्तै व्याकुल थियो । “अभय अव सक्दिन म मेरो उम्लिएको मुटुलाई रोक्न, कति सहनशिल यार तिमी ? मलाई तिम्रो सुकोमल निष्कपट प्रेमको गहिराईमा डुब्ने व्यग्र इच्छा भइरहेको छ, तिम्रो हातको सुहागले मेरो रित्तो सिउँदोलाई झकिझकाउ बनाउने एक मात्र चाहना छ मेरो, प्लिज अभय ।” मौन छ अभय । आफ्नै मनको भावना मनकी प्रेमिकाबाट प्रस्फुटित हुँदापनि खुलेर खुसी हुन सकेको छैन । कस्तो विडम्बना ।

प्रेम एउटा सुन्दर सिर्जना हो भगवानको । प्रेम विनाको यो दुनियाँको के कल्पना गर्न सकिएला र ? जति दिमाग लगाएपनि मान्छेले अन्तिममा सुन्ने त मनलाई नै हो । अखिर मेनकाको निष्पक्ष प्रेमको मधुरस पान गर्ने निर्णय ग¥यो अभयले । आफ्नो रोजाईको फूल आफ्नै फूलबारीमा सजायो ।

ठाकुरद्धारा नजिकै बर्दिया राष्ट्रिय निकुञ्जको पार्कमा सुस्ताइरहेका छन् अभय र मेनका । “ तिम्रो स्पर्शको आनन्दले मलाई दुनियाँ नै विर्साइदिन्छ अभय, नौलो दुनियाँमा प्रवेश गरेको अनुभुती गर्छु, लाग्छ हाम्रो मायाले सच्चा प्रेमको दुनियाँमा एउटा नयाँ कथा बुन्नेछ एकदिन ।” “तिम्रो काखको सिरानी हालेर सुत्दाजस्तो मिठो निन्द्रा अरुवेला किन आउँदैन मलाई ? मेनका, सँधैभरी यसरी नै तिम्रो काखमा निदाउन देउ है  अन्तिम साससम्म पनि ।” अभयको मुख हातका पञ्जाले बन्द गर्दिन्छे मेनका । जीवनको एकमात्र सत्य सुन्दापनि कति झस्किन्छ मान्छे । कति मिठो प्रेम बुनिरहेका जोडीपनि केहि समयपछि छुट्टिनु त पर्नेनै छ  । साँच्ची प्रेम मृत्युपर्यन्त होला कि नहोला ?

अभय निकै खुसी छ आजभोली । प्रेम गर्ने मान्छेलाई यति सजिलै प्राप्त गर्न सकेकोमा भगवान रामभन्दा पनि भाग्यमानी ठानेको छ आफूलाई कुनै युद्धविना मेनकालाई प्राप्त जो गरेको छ । प्रेम भरिएपछी कुरुप चिजहरु त सुन्दर लाग्छन भने अभय त मेनकाको प्रेमपाशमा परिसकेको थियो । त्यसैले त अस्ताउँदो सूर्यको  सन्याकालिन लालिमा सजिएको हिमालजस्तै मधुर देख्थ्यो आफ्नी मेनकालाई ।

ढक्….ढक्….ढक्…..। अभयको कोठाको ढोका कसैले ढक्ढकाउँछ । परिवारका अरु सदस्य गाउँतिर बस्ने भएकाले गुलरियाको घरमा एक्लै बस्थ्यो अभय । राती १० बजे को आयो ? ढोका खोल्छ । खुसी होकी तड्पन निकै आत्तिएको जस्तो हुन्छ । ‘अरे तिमी ? कसरी यति राती यहाँ ?’ ‘कति सँधै फोनबाट मात्र कुरा गर्नु ? आज सँगै बसेर गफ गर्ने ।’ ‘लौ ! ए पागल, तिम्रो घरका मान्छे अहिले यहिँ आइपुग्छन तिम्लाई खोज्दै ।’ ‘ह्या आउँदैनन् मैले रमिताकोमा हिसाव सिक्न जान्छु भनेर आएकी हुँ ।’ भोकले आत्तिएको सर्पले भ्यागुतोलाई समाएजस्तो च्याप्प समाएर मेनकालाई भित्र तान्छ अभयले । अंगालोमा बेरेर आफू तल मेनकालाई माथी राखेर एकटकले हेरिरहन्छ अनुहारमा । कति चम्किएकी आज पूर्णीमाकी जुनजस्ती अँझ विनादागकी । मेनकाको नयनमा अभयप्रतिको प्रेम उम्लिरहेको देखिन्थ्यो । हेर्दाहेर्दै अनायासै छचल्किएर बग्न थाल्यो । निधारमा तप्प चुहिएको प्रमाश्रुले झस्कियो अभय । यसरी निर्मल प्रेमसागरमा पौडिएर वित्यो प्रेमिल जोडीको सुन्दर रजनी ।

मेनका र अभय प्रेम सँगसँगै पत्रकारिताको नशामा समेत परिसकेको थिए  । एउटा कुशल पत्रकार बनेर कहलिने सुन्दर सपना बुनेको थियो अभयले जुन सपनाको सारथी थिई मेनका । सपनालाई बास्तविकतामा परिणत गर्नका लागि अभयले राजधानीको बाटो तय गर्छ मेनका बह लुकाउँदै आफ्नो प्रेमीको सुन्दर भविष्यको कामनाका साथ विदाईको हात हल्लाउँछे । फूलजस्तै रंगिन जीवन बनाउने अभिलाषाले एउटा प्रेमिल जोडिलाई भौतिक रुपमा भने टाढा बनाएको थियो ।

काठमाडौंस्थित एउटा सामूदायिक रेडियोको जागिरे भएको छ अभय । तर यहाँको सुन्दर स्टुडियो उसलाई हिमाली एफएमको भन्दा कुरुप लागिरहेको छ । एसीले चिस्याएको स्टुडियोभित्र उसको मन भने उम्लिरहेको छ । समाचारभन्दा फेसबुकै बढि ध्यान दिन थालेको छ आजभोली । मेनकाको फोटो निकालेर त्यसलाई मायाको फ्रेममा सजाएर आफ्नो कोठालाई रंगिन बनाउन मन लागिरहेको छ उसलाई । सपनाजस्तै ।

समयले कोल्टो फे¥यो । देशको सक्षम पत्रकार बन्ने सपनालाई यथार्थमा परिणत गर्ने लक्ष्य डगमगाउन थाल्यो । राजधानीको दिनप्रतिदिन बढ्दै जाने खर्च र यथास्थितीमै रमाउन खोज्ने पारिश्रमिकको विचमा युद्ध नै चल्यो । जीत त सत्यकै हुन्छ आखिर सुन्दर सपना त्याग्न बाध्य हुन्छ अभय । राजधानीले उसको बर्षौदेखिको सपनालाई सपनामै सिमित बनाइदिएको थियो । अभयले आफ्नो सपनामात्र तुहाएन मेनकालाई पनि सरकारी जागिर कै तयारीमा लगायो । बाध्यताले सपनालाई यति सजिलै तुहाउने क्षमता पो राख्दोरहेछ । मेनका पनि बर्दियामा बसेर सरकारी सेवामा प्रवेश गर्ने सपना सजाउन थाली । प्रेमका लागि आफ्नो एकमात्र सपनाको बलिदान दिई मेनकाले ।

अभय दिनरातको प्रवाह नगरी लोकसेवा तयारीमा लाग्यो । अभयको मेहेनत उसको बढ्दै गरेको नमिल्दो दारी, आँखा वरिपरिको कालो घेरा र कचौराजस्ता गालामार्फत प्रतिविम्बित भइरहेको थियो । यद्यपी दुईबर्षसम्मको मेहेनतले सार्थकता पाउन भने सकेको थिएन ।  छिटो नाम निकालेर आफ्नी मेनकालाई सँधैको लागि आफ्नो बनाउने हतारोले अभयलाई सताइरहेको थियो । हरेक प्रहरमा देख्ने सपनाहरुकी हकदार आफ्नी प्रेमिकासँग बाँधिएर हिँड्ने अन्तरमनको इच्छाले तड्पाइरहेको थियो उसलाई । हजारौँ माइल पर टल्किरहेको जुनलाई समाउन तिव्र गतिमा दौडिरहेको थियो अभय तर कहिले पुग्ने अनिश्चित थियो ।

यत्तिकैमा अभयका लागि आफ्नो सपना नै परिवर्तन गरेकी मेनकाले सफलताको उमगं ल्याउन सफल हुन्छे । पोखरा विश्वविद्यालयको खरिदार पदमा नाम निकाल्न सफल हुन्छे । प्रेमको लागि दिएको सपनाको बलिदानले आज मूर्त रुप पाएको थियो । निलो गगनमा सफलताको ताज पहिरेर उडिरहेकी थिइ मेनका, अभय तलबाट हेरिरहेको थियो आफ्नी प्रेमलाई । आफ्नो असफलताको दुखभन्दा मायालुको सफलताको सुख कैयौँ गुणा मजेदार हुँदोरहेछ ।

अव भने भौतिक दुरी नजिकिएको थियो अभय र मेनकाको । काठमाण्डौँ र पोखराको दुइसय किलोमिटरको दुरीमा साँघुरिएका थिए उनीहरु । तीनबर्षदेखि टाढीएको भौतिक दुरी केहि साँघुरिँदामात्र पनि छुट्टै आनन्द महसुस हुँदोरहेछ । समयसँगै मेनकाको व्यस्तता र अभयको व्याकुलता बढ्दै जान्छ । मेनका कार्यालयको काममा र अभय मेनकाको यादमा रमाउन थाल्छन् । व्यालेन्स सकिएको मोवाईलबाट थुप्रै मिसकल हान्थ्यो अभय तर जागिरे मेनका व्यस्त थिई मुस्किलले दिनमा दुई तीनपटक कलव्याक गर्थी ।

कितावै कितावले भरिएको साँघुरो कोठाबाट अनिश्चित गन्तव्यको गोरेटो कोरिरहेको थियो अभय उता मेनकाले भने विश्वविद्यालयको कार्यकक्षबाट पखेटा फिँजाउन थालेकी थिई । निकै टाढाको दुरी पार पर्ने सपना बुन्न थालेकी थिई । निष्कपट प्रेमले पनि बलेकै आगो ताप्दोरहेछ सायद । अुधरा सपनाहरुको खात भएर जलिरहेको अभयको मुटुको आगो देख्न सकिन मेनकाले । अभयकै प्रेमले हालेको पखेटा फैलाएर उडेर गई । टाढा । आफ्नै समकक्षीसँग लगनगाँठो कसी मेनकाले । प्रेमको गाँठो सजिलै फुकाइदिई । लत्याइदिई प्रेमलाई । क्षणिक सफलताको मात यतिसम्म चढ्यो की आफ्नो प्रेमलाई निसन्देह तिलाञ्जली दिई । अहमता र घमण्डको शुलीमा निस्वार्थ प्रेमलाई चढाइदिई ।

विछोडको पीडाभन्दा बढी आफ्नै मुटुले घात गरेको देखेर हताश भएको छ अभय । जताततै चकमन्न अँध्यारो, कुनै आशाको दियो पनि छैन बाटो पहिल्याउनको लागि । मेनकाले अन्दाज गर्नसक्ने भन्दा धेरै रुन थाले अभयका रातहरु । अभयको प्रेमको एकमात्र साक्षी त त्यहि सिरानीमात्र बन्न पुग्यो जुन पहिले मायाको डोरी कस्सिँदा दुवैजनाको पसिनाले भिजेको थियो अहिले फगत अभयको आँशुले ।

अभाव र अनिश्चित भविष्यसँग जुधिरहेको अभयलाई विछोडसँग जुध्न भने निकै मुस्किल भयो । तर विकल्प पनि त थिएन । मेनकासँग विताएका प्रत्यक पलको सहारामा अध्ययनलाई निरन्तरता दियो । धोकाको पीडा र इख मिसियो भने युद्ध त जितिन्छ भने अभय त एउटा सामान्य जागिरको तयारीमा थियो । जित्यो । सोचेभन्दा धेरै खुसी भयो । सरकारलाई त एउटा कर्मचारी प्राप्त भएको थियो तर अभयलाई अमुल्य सन्तुष्टि । एकाएक हृदयबाट सफलताका तरगंहरु उड्न थाले । क्षणभरमै खडा भयो प्रेमको गगनचुम्बी महल । आफ्नो सफलताको प्रेमरुपी महलमा मेनकालाई सजाउने सपना पूरा हुने दिन थियो आज तर मेनका प्रेमलाई कुच्चेर केवल महलमा सजिन गएकी थिई । जोसँग आफ्नो खुसी साट्न चाहन्थ्यो उ त भएको सानो खुसीलाई पनि खोसेर गएकी थिई । स्मुतीमा पनि नअटाउने भएकी थिई ।

खै किन काठमाण्डौँको आकाश आज धेरै दिनपछी खुलेको छ । झ्यालबाट सिंहदरबारस्थित कार्यकक्षमा पसेको चिसो बतासले अभयको टेवुलमा रहेका कागजपत्र एक एक गर्दै उडाइरहेको छ । अभय वेप्रवाह फेसवुकमा फोटोहरु नियालीरहेको छ , मेनकाको । अहो ! छोरोपनि पाईसकिछ, ठ्याक्कै आफूजस्तै मोटे–मोटे । मोवाईलको भाईब्रेसनले झस्किन्छ अभय । ‘हेलो !’   ‘के छ अभय ? के गर्दै छौ ?’ केटिमान्छेको आवाज थियो ।  ‘यत्तिकै अफिसमा बसिराको’ केहि सोचमा डुवेजस्तो भयो अभय । ‘चिनेनौ मलाई ?’ ‘चिनेँ ।’ चुपचाप भयो अभय । कसरी विर्सन सक्थ्यो पाँचबर्षसम्म लगातार सुनिरहेको त्यो प्रेमिल आवाजलाई । मेनका एक्कासी फोनमा रुन थाली । ‘के भयो ?’ पग्लिन थाल्यो अभय । ‘आई वान्ट टू म्यारी विथ यू अभय, प्लिज मलाई स्वीकार’ विलखबन्द भयो अभय । टेवुलमा रहेका कागजपत्र भुइँभरी छरप्रष्ट भइसकेका थिए, अभय एकटकले हेरिमात्र रहेको थियो ।

(सुवेदी प्रहरी निरीक्षक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment