Comments Add Comment

कित्ताकाट रोक्ने निर्णयविरुद्ध आन्दोलन गर्न मेयरको आग्रह

२२ पुस, बुटवल । तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा भ्रष्टाचार बढेको बताएका छन् । मालपोत र नापीमा हुने भ्रष्टाचारको रकम सामान्य कर्मचारीदेखि मन्त्रीसम्म पुग्ने गरेको मेयर घिमिरेको दाबी छ ।

रुपन्देही घर जग्गा व्यवसायी संघ रुपन्देहीको प्रथम साधारणसभामा मेयर घिमिरेले खेतीयोग्य जग्गाको जथाभावी प्लटिङ रोक्ने उद्देश्यले नभई झन् बढी भ्रष्टाचार गर्ने दुराशयले कित्ताकाट रोक्ने निर्णय भएको बताए ।

मालपोत र नापी कार्यालयमा चार गुणा भ्रष्टाचार बढेको भन्दै उनले भने, ‘कित्ताकाट रोक्ने निर्णय असल नियतले नभई भ्रष्टाचार र अनियमितता गर्ने दुराशयका साथ गरिएको रहेछ भन्ने घटनाक्रमले पुष्टि गरेका छन् ।’

मालपोत र नापीमा भ्रष्टाचार छ भन्ने सरकारका मन्त्रीलाई थाहा हुँदाहुँदै पनि नरोक्नुको कारण आर्थिक चलखेल नै रहेको उनले दाबी गरे । कित्ताकाट रोक्ने निर्णय संविधानले सुनिश्चित गरेको व्यक्तिको निजी सम्पत्तिमाथि स्वतन्त्रताको मौलिक हकको सिद्धान्त र कानुन विपरित भएको उनले बताए ।

कित्ताकाट रोक्ने निर्णयविरुद्ध देशभरबाट आन्दोलन उठाई सरकारलाई घुँडा टेकाउन सुझाव दिए । ‘सशक्त आन्दोलन नगरी सरकारले सुन्नेवाला छैन । त्यसैले देशभरिबाट आन्दोलनको ज्वारभाटा निकाल्नुपर्छ,’ मेयर घिमिरेले भने, ‘तपाईहरुको आन्दोलनलाई स्थानीय सरकारले साथ दिन्छ ।’

कार्यक्रममा रुपन्देही घर जग्गा व्यवसायी संघका अध्यक्ष दशरथ पौडेलले अव्यवहारिक ढंगले कित्ताकाट रोक्दा अर्बौं लगानी जोखिममा परेको गुनासो गरे । सरकारले स्पष्ट नीति ल्याएमा आफूहरु खेतीयोग्य जमिन प्लटिङ नगर्ने, व्यवस्थित शहर बसाउने गरी सरकारसंग सहकार्य गरेर काम तयार रहेको बताए । रुपन्देहीमा करिब पाँच सय घर जग्गा व्यवसायी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment