Comments Add Comment

आजका पत्रपत्रिकाः २४ देशका ७७ नागरिक देशनिकाला

२२ पुस, काठमाडौं । प्रदेश सांसदका अनैतिक काम–कारबाहीदेखि मापदण्डविपरीतका औषधिको बढ्दो बिक्री–वितरणसम्मका विषयलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । त्यस्तै, वाइडबडी अनियमितता र आन्तरिक शान्तिसुरक्षा तथा सुव्यवस्था विधेयकको चर्चा पनि आजका पत्रिकाहरुले गरेका छन् ।

संघीय संसदका सांसदहरुले आफन्तलाई पिए राखेको समाचार केही दिनअघि सार्वजनिक गरेको नयाँ पत्रिकाले आज प्रदेश सांसद्बारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार, प्रदेशमा पनि अधिकांश सांसद्हरुले छोरा–छोरी र सालासालीलाई पिए बनाएका छन् । प्रदेश २ को दृश्य अझै फरक छ । नयाँ पत्रिकाका अनुसार, त्यहाँका सांसद्ले आफैंलाई पिए राखेका छन् । ७७ सांसद्ले पिए राख्दै नराखी आफैं तलब बुझेका छन् । पिए राखेका १५ मध्ये ७ ले भने आफन्त राखेको समाचारमा उल्लेख छ । यही समाचारमा कम्पाइल गरेर सुदूरपश्चिम संसदका सभापतिहरुले भाडाको गाडी चढ्ने गरेको खबर पनि नयाँ पत्रिकाले छापेको छ । समाचार अनुसार, यहाँको चारवटा संसदीय समितिका सभापतिले महँगो भाडामा गाडी चढ्दै आएका छन् ।

आठ महिनामा ७७ विदेशी देशनिकाला भएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । लागूऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिकलाई देशनिकाला गरिएको हो । नयाँ पत्रिकाका अनुसार, उनीहरुलाई कम्तीमा एकदेखि तीन र्वासम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको छ ।

यी समाचारहरुका अतिरिक्त शिक्षामा ५ अर्ब वैदेशिक अनुदान रोकिएको खबरलाई पनि नयाँ पत्रिकाले समेटेको छ । स्थानीय तहबाट कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको समाचारमा उल्लेख छ ।

रामबहादुर बम्जनको आश्रमको अनुसन्धानका लागि पुगेको प्रहरीको तस्वीर छापेको कान्तिपुरले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई जोगाउने खेल सुरु भएको लेखेको छ । निगम, कर्मचारी, सञ्चय कोष तथा अख्तियार स्रोतबाट प्राप्त कागजात अध्ययन गर्दा विमान खरिद प्रक्रियामा र्राइसमेत समेत संलग्न देखिए पनि जोगाउने खेल सुरु भएको उसको ठम्याइ छ ।

कान्तिपुर लेख्छ– संघीय संसदको सार्वजनिक लेखा समििितको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरुले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनबाट उनको नाम हटाउन सुझाव दिएका छन् । सांसदको विरोधपछि प्रतिवेदन संशोधन गरी राईको नाम हटाउने तयारी भएको छ ।

आन्तरिक शान्तिसुरक्षा र सुव्यवस्था विधेयकको चर्चा गर्दै सीडीओलाई झन् शक्तिशाली बनाउन खोजिएको विश्लेषण कान्तिपुरले गरेको छ ।

कक्षा ३ सम्म पनि नपढी बालबालिका विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले भत्ता दिन थालेको रोचक खबर पनि कान्तिपुरमा छ । कुश्मा नगरपालिका १ पाङको मालढुंगामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो । समाचार अनुसार, प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालेपछि विद्यार्थीको संख्या बढेको छ ।

नागरिकले विश्व स्वास्थ्य संगठनको जीएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेका औषधि धमाधम बजारमा बिक्रीवितरण भइरहेको बारे चासो राखेको छ । औषधि व्यवस्था विभागका अधिकारीको मिलेमतोमा जीएमपी मापदण्ड नपुगेका २० भन्दा बढी कम्पनी सञ्चालनमा रहेको नागरिकको दाबी छ ।

अन्नपूर्णले अलि फरक विषय तराईका जिल्लामा जाडो महिनामा हुने आगलागी घटनाबारे मुख्य समाचार लेखेको छ ।

राजधानीमा उपत्यकामा रगत अभाव भएकोदेखि सातै प्रदेशमा लोकसेवा कानून बन्न लागेकोलगायतका खबर छन् ।

गोरखापत्रले निवृत्तिभरण कोष विधेयक पारितलाई मुख्य समाचार बनाएको छ । त्यस्तै संविधान संशोधन गर्न फोरमले गरेको मागलाई पनि गोरखापत्रले स्पेस दिएको छ । ‘मानव बस्तीमा वन्यजन्तुको आतंक’ शीर्षक दिएर उसले चितवनको सौराहमा निस्किएको गैंडाबारे पनि समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment