Comments Add Comment

सुन्तलाले मधेस पलायन रोक्यो, विदेश पलायन रोक्दैछ

२२ पुस, धनकुटा । पहाडबाट बसाइँ सरेर तराई झर्ने वा सहरतिर पस्ने आम समस्या छ । भनिन्छ, पहाड रित्तिँदैछन् र उजाड बन्दैछन् । तर, धनकुटाको चौबीसे गाउँपालिकाअन्तरगत पर्ने मौनाबुधक र बोधे गाउँमा यो कुरा लागू हुँदैन ।

सुन्तला खेतीका लागि चर्चित यस ठाउँका बासिन्दाहरु तराई मधेसतिर बसाइँ झर्ने क्रम रोकिन थालेको छ । अब बैदेशिक रोजगारीमा जाने क्रम पनि विस्तारै घट्ने स्थानीयवासीको विश्वास छ ।

मौनाबुधुकबाट मानिसहरु बसाइँ हिँड्नुको साटो यस गाउँमा बसाइँ आउनेहरु क्रम बढ्न थालेको छ । पाँचथरसँग जोडिएको कुरुले तेनुपाका मानिसहरु यतातिर बसाइँ आउने क्रम बढेको छ । धरानबाट सुन्तलाको बोटमा सेल्फी खिच्न युवायुवतीहरु आउन थालेका छन् । सुन्तलाले आर्थिकसँगै पर्यटकीय सौन्दर्य बढाएको छ ।

मिहेनत गर्‍यो भने पहाडमा सुन फल्न सक्दोरहेछ भन्ने दृष्टान्त बन्न थालेको छ धनकुटाको चौबीसे गाउँ ।

यहाँ पुसको जाडो महिना बेलुकीपख लगभग जिरोदेखि ५ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ । चौबीसे गाउँपालिका वडा नम्बर ७, मौनाबुधुक र वडा नम्बर ५ स्थिति बोधे गाउँमा मङ्सिरदेखि माघसम्म लटरम्म सुन्तला झुलिरहेका भेटिन्छन् ।

हिउँदको समयमा कोही सुन्तला गाडीमा लोड गर्न तल्लीन भेटिन्छन् त कोही सुन्तला टिपेर गनिरहेका भेटिन्छन् ।

सेल्फी खिच्नेदेखि लाखौं कमाउनेसम्म

मौनाबुधुकका खड्गकुमार चेम्जोङ धरानबाट केटाकेटीहरु घुम्न आउने र सुन्तला बगैंचा पसेर फोटो खिचाउने गरेको सुनाउँछन् । उनी भन्छन्, शहर बजारमा बस्नेहरुलाई सुन्तला खानुभन्दा पनि सुन्तला बगैंचा घुम्नु रमाइलो लाग्दोरहेछ ।’

सुन्तला खेतीमा प्रारम्भदेखि नै लागेका नमूना कृषक सुरेन्द्र चेम्जोङ भन्छन्, सुन्तलाको फल र बिरुवा गरेर लगभग २० लाखसम्म बार्षिक आम्दानी गरिरहेको छु ।
सुरेन्द्रले मालबासे भन्ने ठाउँमा लगभग एक हजार बोट सुन्तला रोपेका छन् । सँगै रहेको कोइरालागाउँमा ४ सय बोट हुने धेरै किसानहरु छन् ।

मौनाबुधुकको गिद्धे, लोफादिन, कोइरालागाउँ, गैरीगाउँ, ठूलढुंगा, सिमडाडा, पाँचघरे, पोस्तके, माथिल्लो गाउँ र आरुबोटेमा सुन्तला खेती फस्टाएको छ ।
त्यसैगरी बोधे गाउँको होम्देन टोल, डाँडाटोल, तल्लोटोल, रनदलगाउँ र हमेलामा सुन्तला बगानहरु प्रशस्त भेटिन्छन् ।

अहिले सुन्तलाले मात्र लगभग एक लाखदेखि दुई-चार लाखसम्मको आम्दानी गर्ने घरहरु मौनाबुधुकमा धेरै नै भेटिन्छन् । गत साल १०० देखि १२० रुपैयाँ प्रतिकिलो धरान तथा इटहरी लगेर सुन्तला बेचेका किसानहरुले यसपल्ट त्यस्तो दाम नपाए पनि राम्रै आम्दानी भएको सुनाए ।

गतसाल सुन्तलाबाट मौनाबुधुकमा साढे दुई करोड तथा बोधेमा ५० लाख बराबरको आम्दानी भएको स्थानीय बताउँछन् । यो बर्ष पनि सोही बराबरको आम्दानी हुन सक्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ ।

गाउँमा सुन्तलाका नयाँ बोटहरु बढ्ने क्रममा रहेकाले अबको १० बर्षसम्म आम्दानी पनि सोही अनुसार निरन्तर बढ्ने सम्भावना छ । यसरी सुन्तला खेती राम्रो हुँदै जाने हो भने यहाँका किसानहरुले बैदेशिक नोकरीका लागि खाडी मुलुक गइरहनुपर्ने आवश्यकता कम हुँदै जाने देखिन्छ ।

चौबीसे गाउँपालिकाको वडा नम्बर ६ र ८ मा आलु, काउली, बन्दा, रायो र मुला लगायतका मौसमी र बेमौसमी तरकारी खेती हुँदै आएको छ । तर, अहिलेको सिजन यहाँको मुख्य गरी सुन्तलाको नै हो ।

सुन्तला बगैंचाको आधुनिकीकरण

यस गाउँमा परम्परागतरुपमा सुन्तलाका बोटहरु रोपिन्थे । यसैवीच सुन्तलाको बगैंचा व्यवस्थापनमा नयाँ प्रयोग थाले जेबी राईले । उनलाई प्राविधिक सहयोग गर्नका लागि तत्कालीन जिल्ला कृषि कार्यालयका प्राविधिक भगवान पोखरेल लागि परे । प्रतिफलस्वरूप यहाँका सुन्तला कृषकहरुले सुन्तला बगैंचा व्यवस्थापनसम्बन्धी ज्ञान पाए । यसबाट सुन्तला बगैंचा व्यवस्थित हुन शुरु भयो ।

तालिम सँगसँगै विभिन्न कृषि समूहहरु गठन भए । सोही कृषि समुहमा रहेर किसानहरुले सुन्तला खेतीका बारेमा ज्ञान लिन र सो ज्ञानको प्रयोग गर्न सक्ने भए । सुन्तला कृषिको प्रगतिका बारेमा बुधुक माविका पूर्वप्रधानाध्यापक एवं सुन्तला कृषक कृष्णगोविन्द चेम्जोङ भन्छन्, ‘त्यसैको प्रभावस्वरुप अहिले निकै राम्रा सुन्तला बगैंचाहरु देख्न सकिन्छ ।’

अर्कोतर्फ केही स-साना सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रमहरुको सहयोगले व्यवस्थित बजारीकरण गर्ने उपाय तथा औजार उपलब्ध हुँदा सुन्तलाका दाना ग्रेडिंग गरेर बजार पुर्‍याउने र सयकडाको हिसाबको साटो अब केजीको दामले खरिद बिक्री गर्ने काम शुरु भयो । त्यससँगै सुन्तला किसानहरु आफैं मिलेर स-साना पिकअपमा लोड गरेर आफैं धरान झार्न थालियो । यसो गर्दा कृषकहरुले बिचौलियालाई सस्तो मूल्यमा सुन्तला बेच्न आवश्यकतै परेन । आजभोलि विशेष गरेर मौनाबुधुक र बोधे गाउँमा सुन्तलाको बजार वृद्धिसँगै सुन्तला खेतीको दायरा पनि बढेको छ । प्रायः खोलाका फाँटहरु जनशक्तिको अभावमा धमाधम बाझिँदा सुन्तला बगानहरु बार्षिक रुपमा बढ्न थालेका छन् ।

यसैको फलस्वरूप हुन सक्छ, अहिले बोधे र बुधुकमा जग्गा किन्न पाइँदैन । यहाँ बसाइँ सराई पनि एकदम न्यून भएको छ । औसतमा हरेक घरजग्गामा प्रतिघर १०० वटा सुन्तलाका बोटहरु लटरम्म देखिन्छन् । केही पखेराबारीमा समेत सम्याएर सुन्तला खेती लगाइरहेको भेटिन्छ ।

सुन्तलाको साहित्यः ढाकरदेखि पीकअपसम्म !

गीतकार भुपाल राईले आफ्नो गीतमा वर्णन गरेजस्तो यहाँको सुन्तलाको भारी सुनकै भाउमा त गएन होला, तर बुटजुत्ता बेगरको नाङ्गो खुट्टाले धेरैपटक ढाकर र डोकोमा तोक्माको आडमा सुन्तला बोकेर धरान-धनकुटा गरेको चाहिँ पक्कै हो ।

लगभग ०४० सालतिरको सम्झना गर्दा सुन्तला टिपेर ढाकर वा डोकोमा स्याउला र बाँसको खवटा मिलाएर भारी लगाउथे अनि भालेको डाकमा धरानतिर हिँड्थे । मानिसहरु सुन्तलाको भारी बोकेर भेडेटारसम्म ५/६ घण्टासम्म पैदल यात्रा तय गर्थे सुन्तलाको भारी बोकेर मौनाबुधुक र बोधेबाट टुक्रे, ध्वजे हुँदै शिकरबासको बाटो भएर धरानको अमरहाटमा आएर बास बस्थे ।

अनि बिहानै धरानको पुरानो बजारमा सुन्तलाको भारी बेचेर नुन, चिनी, तेल, मट्टीतेल, चामल लगायतका आवश्यक सामानहरु किन्थे । र सोही बाटो उकालो फर्कन्थे । त्यतिखेर अमरहाटको एकराते बासमा नाचेको धाननाच र दोहोरीले धेरैको घरजम बसेको छ ।

बिस्तारै भेडेटारबाट कच्चीसडक सञ्जालले डाँडाबजार हुँदै राजारानी र मौनाबुधुक गाउँलाई छोयो । त्यसपछि गाडीसँगै बजारका क्रेताहरु सुन्तलाका बोटसम्म आइपुग्न थाले । बिचौलियाहरुले कृषिबजार सम्म बगान नै किनेर लैजान थाले । लगभग १५/२० वर्षसम्म सुन्तलाको बजार यसरी नै चल्यो ।

त्यसपछि बसको हुटमा टनाटन सुन्तला राखेर धरानको कृषिबजारसम्म ओसार्न थालियो । सुन्तलाको ढुवानीको निरन्तरता सँगसँगै केही वर्षअघि गाडीवालबीच विवाद भयो । ट्रक व्यवसायीहरुले बस व्यवसायीसँग सुन्तला ढुवानी गर्ने काम ट्रक, ट्रिपर र पिकअपहरुको मात्र हो भन्ने विवाद गरे ।

अन्ततः छलफलबाट ट्रक र पिकअपले मात्रै सुन्तला बोक्न पाउने सहमति भयो । बसले सुन्तला बोक्न नपाउने नियम लागू भयो । पिकअप व्यवसायीहरुले उत्साहित भई व्यवसाय शुरु गरे । सानो गाडी बारी छेऊसम्म पनि सहजै जाने भएकाले यो गाडी धरानसम्म सुन्तला ओसार्ने उपयुक्त विकल्प बन्यो ।

चौबीसे गाउँपालिका त्यही ठाउँ हो, जहाँ भेडेटार-रवि-राँके सडक कालोपत्रे हुँदैछ । यो सडक कालोपत्रे भएपछि मौनाबुधकको सुन्तलाको बजार थप सहज हुने निश्चित छ । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामबाट शुक्रबार मात्रै यस सडकको कालोपत्रे शिलान्यास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment