Comments Add Comment

टोखामा जापानी ग्रिन हाउस, इजरायली टनेल

२२ पुस, काठमाडौं । जापानले नेपालीलाई अलि ठूलो आकारमा रोजगारीको अवसर दिने भनेपछि युवाहरु जापानी भाषा सिक्न तम्सिएका छन् । काठमाडौंको टोखामा भने तीन तन्नेरी जापानी प्रविधिमा व्यावसायिक कृषि कर्ममा कस्सिएका छन् ।

उनीहरुको कृषि फार्म टोखा नगरपालिका– १ झोरमा छ, जुन चक्रपथबाट करिब ४ किलोमिटर पश्चिममा पर्छ । उनीहरुले झोरको एउटा पाखोमा खनजोत गरेर आधुनिक कृषि फार्मको स्वरुप दिँदैछन् । शुक्रबार त्यहाँ पुग्दा संरचनाहरु बन्ने क्रममा थिए ।

ग्रीन वर्ल्ड एग्रो फार्म एण्ड रिसर्च सेन्टर प्रालि नाम दिइएको यो फार्म अत्याधुनिक त हुन्छ नै, उत्पादनमा विविधतासमेत हुनेछ । तीनमध्येका एक लगानीकर्ता अमित गुरुङका अनुसार, फार्ममा बेमौसमी तरकारी खेतीका साथै माछा पोखरी, भैंसी गोठ र कुखुरा फार्मसमेत रहने छन् । ईञ्जिनियर समेत रहेका उनले भने, ‘कृषिसम्बन्धी अनुसन्धान पनि मुख्य उद्देश्यभित्रै पर्नेछ ।’

नेपालका अधिकांश किसान परम्परागत खेती पद्वतीमा छन् । बेमौसमी तरकाली खेतीमा समेत आधुनिक प्रविधि भित्रिसकेको छैन भन्दा हुन्छ । यो समूहले भने कृषिमा पुरै आधुनिकता प्रविधि भित्र्याउँदै छ ।

११० रोपनीमा फैलिएको फार्मका अर्का लगानीकर्ता जगतगुरु उपाध्याय र भेषराज श्रेष्ठ हुन् । इञ्जिनियर अमित टोखाकै हुन् भने जगतगुरु तनहुँ र श्रेष्ठ नवलपुरका हुन् ।

उनीहरुका अनुसार, यो परियोजनामा कुल ४ करोड लगानी हुँदैछ– तीनै जनाको बराबरी । उनीहरुले अहिलेसम्म बैंक गुहारेका छैनन् । थप लगानी आवश्यक परेपछि बैंकबाट कृषि ऋण लिने योजना छ ।

टनेलमा तरकारी, आडैमा माछा पोखरी

नेपालमा कृषि उत्पादनले बजार नपाएर लगानी नै डुब्ने गरेको छ । प्रविधि अपनाएर चम्किएका किसान पनि यहीं छन् । धनकुटा, चितवन, बागलुङ, धादिङ, काभ्रेलगायतका जिल्लामा बेमौसमी तरकारी खेतीमा आधुनिक प्रविधि अपनाएर उक्सिएका किसान अनगिन्ती छन् ।

त्यसैले झोरमा कस्सिएका युवकहरुले जापान र इजरायलको कृषि प्रविधि अपनाउने निर्णय गरेका छन् ।

२० वर्षका लागि जग्गा भाडामा लिइएको यो फार्ममा इजरायली प्रविधिको १० वटा टनेल, पाँच पोखरी, १० हजार कुखुरा अट्ने खोर र ५० वटा भैंसी अट्ने गोठ बनाउन लागेको श्रेष्ठले बताए । त्यस्तै, जापानी प्रविधिका १० वटा ग्रिन हाउस रहने छन् ।

बेमौसमी तरकारी फलाउने टनेल र ग्रिन हाउसमा बोटबिरुवाको आवश्यकता अनुसार तापक्रम नियन्त्रण गरिन्छ । जापानबाटै ल्याउन लागेको ग्रिन हाउसमा परम्परागत भन्दा ५ गुणा बढी उत्पादन हुने श्रेष्ठले बताए । ग्रिन हाउस र टनेलको बेमौसमी तरकारीलाई बजारको समस्या नपर्ने लगानीकर्ताहरुको निर्क्योल छ ।

उनीहरु एक महिनाभित्र १० वटा टनेल तयार गरेर ग्रिन हाउस बनाउन थाल्ने गरी काममा जुटेका छन् । त्यसपछि कुखुराको खोर तयार पारेर फागुनभित्र चल्ला हाल्ने योजना छ । खोर, टनेल र ग्रिन हाउसहरुको आडैमा माछा पोखरीहरु रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment